प्रजापति मेयरसापले ध्यान दिने कि ?
पुष २१, २०८२, सोमबार | विहान ०८:२० बजे | 1335
अनन्त बज्राचार्य
भक्तपुर दरवार क्षेत्रको मन लोभ्याउने कलात्मक सम्पदा त्यसै विश्व सम्पदा सूचीमा सुचिकृत भएको होइन । त्यस क्षेत्रलाई त्यहाँको महिमा अनुसार भक्तपुर नगरपालिकाले पनि उति नै महत्व दिएर स्याहारसुसार गरिरहेको प्रमाण त्यहाँको सफासुग्घर वातावरण हो । तर त्यही क्षेत्रमा आउने आन्तरिक तथा वाह्य पर्यटकहरुका लागि सार्वजनिक शौचालयको पर्याप्त ब्यवस्था नभएकोले भने त्यहाँको ब्यवस्थापनलाई गिज्याइरहेको जस्तो लाग्यो ।
हामी भक्तपुर घुम्न आउँंदा सपरिवार भक्तपुर दरवार क्षेत्र भ्रमणको क्रममा सार्वजनिक शौचालय खोज्दै जाँदा न्यात पौ मन्दिर नजिकै शौचालयको बोर्ड पछ्याउँदै गयौं । अलि पर टुरष्टि ट्वाइलेट (फ्रि) टाँसिएको शौचालय भवन देख्यौं । खुल्ला थियो । मेरो छोरी र श्रीमतीले प्रयोग गरे । नगरी सुख थिएन । (नजिकै सार्वजनिक शौचालय पनि रहेको सुरुमा थाहा भएन । नौलो ठाउँ याद पनि गरिएन) । त्यही शौचालय भवनको पुरुष शौचालय बन्द थियो । मैले त्यहीं सडकमा पसल गरेर बसेकी महिलालाई बन्द हुनुको कारण सोधें । उनले नजिकै सार्वजनिक शौचालय रहेको बताइन् । म त्यतै गएं र लेखिए जति रु. १०÷– शुल्क तिरेर प्रयोग गरें । शौचालय दुर्घन्दित थियो तर आफूलाई हतार भएपछि प्रयोग नगरी भएन ।
अर्कोतिर जब मेरी छोरी र श्रीमती शौचालयबाट निस्के सुरुमा नदेखिएका पछि फुत्त आइपुगेका लक्ष्मी नाम गरेकी महिलाले उक्त शौचालय प्रयोग गरेकोमा आपत्ती जनाउँदै दुई जनाको रु.४०÷– शुल्क लाग्ने बताइन् ।
चालीस रुपैंया किन बहिनी ? मैले सोधें
यहाँ जानै मिल्दैन, यो पर्यटकको लागि मात्र हो, उनले भनिन्
अघि थाहा भएन । हामी पनि काठमाडौंबाट भक्तपुर घुम्न आएको । आन्तरिक पर्यटक नै हो नि । मैले भने ।
हैन मिल्दैन, पैसा दिनुस् । उनले च्याठिएर भनिन् ।
निःशुल्क शौचालयमा चालीस किन दिने? मैले आपत्ती जनाएं ।
पछि तपाईको मेयरसंग म कुरा गर्छु भनेपछि ती ठेकेदार महिलाले दुईजनाको रु. २०÷– शुल्क मात्र मागिन् । हामीले निःशुल्क शौचालय प्रयोग गरे बापत शुल्क तिर्यौं र व्यवहार ननिको मान्दै फर्कियौं ।
भक्तपुर नगरपालिकासंग ठेक्का लिएर शौचालय ब्यवस्थापन गरिरहेका ती ठेकेदारको व्यवहार देखेर मलाई अचम्म लाग्यो । त्यो भन्दा पनि पर्यटकको लागि भनेर ब्यवस्था गरिएको शौचालय निकै फोहोर र दुर्घन्दित रहेको कुरा सुन्दा झन अचम्म लाग्यो । त्यहाँ आउने वाह्य पर्यटकहरुले कसरी प्रयोग गरिरहेका होलान् !
अर्को अचम्म लाग्दो कुरा त –सबै मानिस नै हुन् । आन्तरिक पर्यटकलाई अलग्ग र वाह्य पर्यटकलाई अलग्गै शौचालयको ब्यवस्था चाहिँ किन गरेका होलान् । फेरि दुबै उस्तै दुर्घन्दित !
प्रजापती मेयर साबलाई मेरो बिनम्र अनुरोध – ठेक्कामा दिएपछि कमसेकम अनुगमन गर्नुहोला । शौचालय बिदेशी वा स्वदेशी जो सुकैले प्रयोग गरून् सफा हुनु आवश्यक छ । यस्तो अलग–अलग शौचालयको ब्यवस्था गरेर यस्तो विभेद नगरिदिए हुने हो ।
नगरपालिकाको यो कस्तो नीति ? शौचालय सफा राखेपछि विभेद देखिने गरि यसरी अलग ब्यवस्था गरिराख्नुपर्ने थिएन कि ! शुल्क कै कुरा हो भने पनि स्वदेशी पर्यटकलाई यति पैसा र बिदेशीलाई यति भनेर सफा शौचालयको ब्यवस्था गर्न सकिन्थ्यो होला कि !
फाेटाेमा हेर्नुहाेस्...
