नारायण ज्ञवालीको "गथासो" कविता–सङ्ग्रहको कृति–समीक्षा


पुष १९, २०८२, शनिबार | विहान ०८:११ बजे | 775


नारायण ज्ञवालीको "गथासो" कविता–सङ्ग्रहको कृति–समीक्षा

विमल ज्ञवाली

सामान्यतया विवाह आदि भोज/पार्टीहरूमा शुरुमा सुप, स्न्याक्स या केही अमिलो पिरो खालको हलुका खानाहरू एपिटाइजरको रूपमा खाने प्रचलन छ। किनभन्दा यसले भोक र रुची जगाउँछ। त्यस्तै यस पुस्तकमा लेखकलेशुरुमै पाठकलाई भोक जगाउने चतुर्याइँ गरेको देखिन्छ। "गथासो" चलनतल्तीको शब्द नभएको कारण सुन्ने/देख्ने वित्तिकै "यो के होला?" भन्ने जिज्ञासा उत्पन्न गराई पढ्न र खोज्न उत्सुकता जगाइदिनु भएकोछ।

2079-11-28-01 Narayan Gyawali book cover Gathaso.jpg

'गथासो' शब्दलाई नेपाली बृहद् शब्दकोशले "धेरै कालदेखि मनमा गाडिएर बसेको पीडाको गन्थन, दु:, पुकारा, दुखेसो" भनेर अर्थ्याएको छ। तसर्थ, यसभित्रका सामग्रीले समाजमा दैनिक जीवन निर्वाह गर्ने क्रममा अनुभव गरिने या भोगिने सुखदु:खका यथार्थ कहानीलाई समेटिएको होला भनेर सहजै अनुमान गर्न सकिन्छ।

जम्माजम्मी ७८ पृष्ठको ७३ वटा कविता सङ्ग्रहित प्रस्तुत पुस्तकमा कवि नारायण ज्ञवालीले आफ्नै जन्मगाउँ गुल्मी, रुरुक्षेत्र स्थित त्वाँगाको महिमागानबाट उठान गर्नुभई 'आमा' शिर्षकको कविताबाट बिट मार्नुभएको छ। लेखकको मनोभाव जन्मभूमि र मातृप्रेमप्रतिको अगाध भक्ति र भावनाले ओतप्रोत रहेछ भन्न सकिन्छ। प्रस्तुत पुस्तक तयार पार्न साथसहयोग गर्ने आफ्ना परिवार सदस्यका अलावा भाषागत शुद्धाशुद्धि लगायत सम्पादन कार्यमा आड-आधार दिने डा.चेतनाथ कँडेल (हरित) र विमल घिमिरेले लगाउनु भएको गुनलाई आभार सहित सम्झनुभएको छ।

आवरण पृष्ठमै 'कविता सङ्ग्रह'उल्लेख गरिएको छ। तर, लेखकले आफ्नै भूमिका 'मेरो भन्नु' खण्डमै यसभित्रका सामग्री कविता होइनन् भनेर आफ्नै शब्द-शब्दबिच झगडा पार्न खोज्नुभएको हो या लेखनमा केही त्रुटी देखिएमा पाठकको आलोचनाबाट बच्ने जुक्ति निकाल्नुभएको हो, यसको समाधान वहाँसँगै होला।

यस संग्रहमा प्रस्तुत कविताहरूमा कुनै छन्द विशेष (जस्तैः अनुष्टुप, शार्दुल विक्रिडित, शिखरिणी, पञ्चचामर... आदि) छुट्याउन सकिने अवस्था छैन।यी कवितालाई छन्द (पद्य) कविता भनौं भने अक्षरसंख्या, लघु, गुरु आदि पुगेको देखिँदैन। हरेक कविताका अनुच्छेदहरू चार पंक्तिका, हरेक पंक्तिमा १३ देखि १९ सम्म अक्षर कायम गरिएको र अन्त्यानुप्रास चाहिँ हरेक पंक्तिमा मिलाएको हुँदा विल्कुल गद्य कविता हुन् भन्न पनि सकिँदैन। तसर्थ सवाई छन्दसँग धेरै कुरा मिल्ने हुँदा सवाई छन्दका कविता भन्दा सान्दर्भिक देखिन्छ। सामान्यतया सवाई छन्दमा चार पंक्ति हुनुपर्ने, प्रत्येक पंक्तिमा २८ मात्रा अथवा १४ अक्षर हुनुपर्ने (-२ अक्षर या मात्रा तलमाथि हुनसक्ने) र अन्त्यानुप्रास (राइम्स) भने मिलाएको हुनुपर्ने नियम छ। केही भने गीति कविता भेट्न सकिन्छ। लेखकको कलमले छन्दकविता लेख्ने प्रयास गरेको छ। अधिकांश कविता गद्य र पद्यका बिच मध्य मार्ग रोजेर लेखिएको हुँदा चितवनका रामकष्ण ढकाललाई सोध्ने हो भने उनले यी कवितालाई मद्य कविता र कविलाई मद्यानन्द भन्छन्।

Narayan Gyawali Photo 01.jpg

कवि नारायण ज्ञवाली

 

तर, कविको तुरुन्तातुरुन्तै शब्दखोज, चयन र मिलान क्षमता भने बेजोड देखिन्छ। उदाहरणका लागि "गुल्मी परिचय" कविताका छ वटा अनुच्छेद पढ्दा नै समग्र गुल्मीको परिचय प्रष्ट भएजस्तो लाग्छ। गुल्मी जिल्लाको प्रशासनिक विभाजन, सबै पालिकाका नामहरू, प्रसिद्ध तीर्थस्थलहरू, पर्यटकीय क्षेत्रहरू, उद्यमशीलता र रोजगारीका सम्भावना आदि सबैथोक यति सानो कवितामा अटाउन सक्ने गराउनु कवित्व शक्तिविना सम्भव हुँदैन। उक्त कविताको प्रतिनिधि अंश उद्धृत गर्न चाहें:

... ...

दशवटा गाउँपालिका दुई नगर हाम्रा

गुल्मी जिल्ला चिनाउने सम्पदा छन् हाम्रा।

 

मदाने र मालिका छन् इस्मा धुरकोट

रुरुक्षेत्र दरबार अनि छ है छत्रकोट।

कालीगण्डकी सत्यवती अनि चन्द्रकोट

नगर हाम्रा रेसुङ्गा र अर्को मुसिकोट।

 

उद्यमशील रोजगारी यहाँ बढाउनु छ

वैदेशिक रोजगारी अब घटाउनु छ।

कृषि हाम्रो मुख्य पेसा आत्मनिर्भर बनौं

समृद्धि र प्रगतिको जग आफैं खनौं

 

यस्ता कविता सानासाना बच्चालाई गीति लयमा कण्ठ गराउँदा पनि धेरैजसो सामान्य ज्ञान प्राप्त हुन्छ भने हरेक कवितामा आत्मनिर्भर बन्ने उत्प्रेरणा पाइन्छ।

 

भित्री आवरण पृष्ठमा उल्लेख भए अनुसार लेखक सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ, नेपालको अध्यक्ष हुनुहुँदो रहेछ। त्यसैले होला गाउँगाउँमा उर्जा पहुँच अभियान, विद्युतीय चुलोको प्रबर्द्धन, इन्धनको किफायत, सफा चुलो अभियानसँग सम्बन्धित अधिकांश कविता लेख्नुभएको छ। नेपालमा सामुदायिक विद्युतको अवधारणा, यसको शुरुवात र गाउँगाउँमा विद्युत पहुँचमा सामुदायिक विद्युतको भूमिका प्रष्ट्याउनुभएको छ।  सामुदायिक वनको संरक्षण र विकास गरी जैविक विविधताभित्रको स्वच्छ पर्यावरणीय जीवन जिउँन अभिप्रेरित गर्नुभएको छ। वहाँका कवितामा हरेक काम सरकारले गरिदेओस् भन्ने मानसिकता त्यागी समुदाय विकासमा आफ्नो पनि भूमिका निर्वाह गरौं, स्व-अनुशासन पालना गरौं, समूहमा काम गरौं भन्ने सन्देश पाइन्छ।

कूल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी योगदान दिएको मानिने कृषि क्षेत्र र कृषिप्रधान भनेर मानिने देशकै पहिचान कृषि उत्पादनमा घट्दो उत्पादन, अन्नबालीको आयात, स्वदेशी उत्पादनले बजार नपाउनु, कृषक हतोत्साहित हुनु, समयमा मल उपलब्ध नहुनु, बलिष्ठ जनशक्ति दिनहुँ विदेशिनु, खेतियोग्य जमिन बाँझिदै जानु जस्ता विषयमा चिन्ता र चासो व्यक्त गर्नुभएको छ।

बडादशैं, ल्होसार, क्रिसमस, बुबा-आमाको मुख हेर्ने दिन, गुरुपूर्णिमा, नयाँ वर्ष, तीजपर्व जस्ता समावेशी र धार्मिक विविधता, ज्येष्ठ अभिभावक प्रतिको सम्मान झल्किने प्रतिनिधीमूलक कविता र गीतमार्फत हामी नेपाली विभिन्न धर्म, संस्कृति र परम्परा मान्ने भए तापनि एकआपसमा सहिष्णुतापूर्वक मिलेर, एकले अर्काको चालचलनलाई सम्मान गरेर बसेका छौं र बस्नुपर्छ भन्ने विहङ्गम विचार व्यक्त गर्नुभएको छ।

श्रीमती, छोरा, छोरी, बुहारी लगायतका स्व-परिवार सदस्यलाई जन्मदिनको शुभकामना, अध्ययन, उद्यम एवम् जागीरमा सफलता प्राप्त गर्दाका बखत समेत कवितामार्फत परिवारको अभिभावकको हैसियतले प्रशंसा गर्दै उनीहरूमा थप प्रेरणा र उर्जा भरिदिने कर्तव्य र जिम्मेवारी निर्वाह गर्नुभएको छ।

नेपालको राजनीति, राजनेताहरूको बोली र कामबिचको तादात्म्यहीनता, सानालाई ऐन ठूलालाई चैन, न्यायालयले दिने विरोधाभासयुक्त न्याय, जनताको असन्तुष्टि, नैराश्यता जस्ता विषयहरू समेत समेटेर कविता र गीतमार्फत सचेत गराउँदै असल राज्य निर्माण र राष्ट्रियताको भावना जागृत गर्ने गराउने प्रयास गर्नुभएको छ। l

गुल्मी, हालः इमाडोल, ललितपुर

फाेटाेमा हेर्नुहाेस्...

नारायण ज्ञवालीको "गथासो" कविता–सङ्ग्रहको कृति–समीक्षा

Comments