पश्चिमी वायुको बहाव
पुष १८, २०८२, शुक्रबार | विहान ०८:१६ बजे | 105
पश्चिमी वायुको बहाव आज तेज छ,
आकाशमै होइन—
हाम्रो सोच, हाम्रो राजनीति, हाम्रो भविष्यमा पनि।१।
बुद्ध जन्मिएको शान्तिको देशमा
नेपाली–नेपालीबीच
नयाँ र पुरानो शक्तिको नाममा
अझै युद्धको भाषा बोलिन्छ।
शान्ति यहाँ जन्मियो,
तर असहिष्णुता अझै बाँचिरहेछ।२।
हिजो दक्षिणी वायुको प्रभाव बलियो थियो,
आज पश्चिमी वायुले आँधीको रूप लिएको छ।
दिशा फेरिए, तर आश्रित मन फेरिएनन्—
केवल झण्डा फेरियो,
आदेश उही रह्यो।३।
पश्चिमी वायुलाई उत्तरी वायुको डर छ,
किनकि उत्तरी वायु आत्मसम्मान बोकेर आउँछ,
स्वाधीनताको सास लिएर आउँछ।४।
त्यसैले पश्चिमी वायु
नेपालमै बस्न चाहन्छ,
यहाँका आकाश ढाक्न चाहन्छ,
र उत्तरी वायुलाई
बिस्तारै निष्तेज बनाउन चाहन्छ।५।
तर यो भूमि
कुनै एक दिशाको होइन,
यो भूमि बुद्धको सन्देशको हो—
जहाँ वायुहरू टकराउँदैनन्,
सन्तुलनमा बग्छन्।६।
यदि हामी अझै पनि
अरूको वायुमा बाँचिरह्यौँ भने,
शान्तिको देशमा
आँधी मात्र बाँकी रहनेछ।७।
अब नेपालीले
आफ्नै वायु सिर्जना गर्नुपर्छ—
स्वतन्त्र, सन्तुलित र शान्त।८।
–नन्दलाल खरेल
इमाडोल ,ललितपुर
