गाउँंगाउँंबाट उठ.. गीतका रचयिता भक्तपुरमा
पुष १७, २०८२, बिहीबार | साँझ ०६:४४ बजे | 325
भक्तपुर । गाउँंगाउँंबाट उठ, वस्तीवस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ.. बोलको कालजयी गीतका रचयिता बरिष्ठ गीतकार श्याम तमोट बिहीबार भक्तपुर आएका छन् । एभरेस्ट स्कुल मिवाछें व्यासी भक्तपुरको वार्षिक सांस्कृतिक कार्यक्रममा प्रमुख अतिथि भई उनी भक्तपुर आएका हुन् ।
कार्यक्रममा उनले ससाना नानीबाबुहरुलाई माया प्रेमका गीतमा भन्दा देशभक्तिपूर्ण गीत गाउन लगाउने तथा यस्तै गीतमा मात्रै नाच्न लगाउनुपर्नेमा विशेष ध्यानाकर्षण गराए । साथै उनले विद्यार्थीलाई कितावमा मात्रै सिमित गर्नु कुनै हालतमा पनि बुद्धिमानी नहुने पनि बताए । उनले विद्यार्थीको मूल्यांकन उसको समग्र विषयमा भएको प्रगति जस्तै गीत गायन, नृत्य, विभिन्न खेलकुदहरुमा पाएको पदक आदिइत्यादिको आधारमा हुनुपर्नेमा जोड दिए ।
कार्यक्रमममा स्वागत गर्दै विद्यालयका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले आफनो स्कुलमा ससाना नानीबाबुहरुलाई मायाप्रेमका गीतमा नृत्य गर्न नलगाइएको प्रष्ट पारे । साथै उनले यही कारण स्कुलले विद्यार्थीको जिपिएका साथै सर्वागिन विकासमा ध्यान दिने गरेको बताए । यही कारण विद्यार्थीहरुको मूल्यांकन अभिभावक नम्वर पनि राखेर गरिने उनले जनाए ।
प्रत्येक अभिभावकका विद्यार्थीलाई आआफना नानीबाबुहरुको घरमा गर्ने क्रियाकलपाको मूल्यांकन गराई उनीहरुबाटै पाएको नम्वरसमेत समेटेर विद्यार्थीको मूल्यांकन गर्ने उनले सुनाए । विद्यार्थीले घरमा राम्ररी हात धोएर मात्रै खानेनखाने, अभिभावकहरुलाई सघाउनेनसघाउने, आफूलाई चाहिने सामानहरु मिलाउनेनमिलाउने यी र यस्ता विविध व्यवहारका आधारमा अभिभावकबाट लिएर त्यसको आधारमा अभिभावकहरुलाई नम्वर दिन लगाउने उनले सुनाए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्यले विद्यार्थीको जिपिएलाई मात्रै लिएर मूल्यांकन गर्ने परिपाटी गलत भएको बताए । जिपिएसँगै विद्यार्थीको सर्वांगिन विकासमा विद्यालयहरुले विशेष ध्यान दिनुपर्ने उनले बताए । गाउँंगाउँंबाट उठ गीतकार तमोटकोबारेमा चर्चा गर्दै उनले अव गाउँंगाउँंबाट होइन, विदेशविदेशबाट उठ भनेर गीतलाई रिमिक्स गर्नु आवश्यक भएको बताए ।
कार्यक्रम दुई चरणमा भएको थियो । पहिलो चरणमा मेडल वितरण भएको थियो । दोश्रो चरणमा वार्षिक साँस्कृतिक प्रदर्शनी भएको थियो । पहिलो चरणमा विजेता विद्यार्थीहरुलाई प्रिन्सिपल कमलादेवी राजभण्डारी अमात्यले मेडल तथा प्रमाणपत्र वितरण गरेकी थिइन् ।
दोश्रो चरणको कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँंस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए । उनीहरुले गीत, नृत्य, धिमे, उसु, योगा, जिम्याष्टिकलगायतका देखाएका थिए । विद्यार्थीले चर्या नृत्य पनि देखाएका थिए । कार्यक्रम राष्टिय गानबाट सुरु भएको थियो । त्यसपछि संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले स्वागत मन्तव्य राखेका थिए । ससानादेखि १० कक्षासम्मका विद्यार्थीले हिजो राति.., दपर्ण छायाँं.., हामी हौं शान्ति.., शिरीशिरी..लगायतका बोलहरुमा नृत्य प्रस्तुत गरेका थिए । साथै महिषासुर भगवतीको आकर्षक नृत्य पनि देखाएका थिए । आआफना नानीबाबुहरुको यस्तो प्रतिभा देखेर कार्यक्रममा सहभागी अभिभावक दंग परेका थिए ।
फाेटाेमा हेर्नुहाेस्...
