कैलाश कोरा'को गृह परिचर्चा
पुष १३, २०८२, आइतबार | दिउँसो १२:५६ बजे | 50
जयराम बिडारी
राजेन्द्रमान डङ्गोलकृत बहुचर्चित नियात्रासङ्ग्रह 'कैलाश कोरा'को उनकै जन्मभूमि नुवाकोट दरबार क्षेत्र निकट रहेको र उनले स्कुले जीवन बिताएको भैरवी माध्यमिक विद्यालयमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा लब्ध-प्रतिष्ठित व्यक्तित्व तथा नेपाल सरकारका पूर्व सचिव एवं पूर्व गभर्नर दीपेन्द्र पुरुष ढकालले यात्राले आँखालाई पुस्तक र कानलाई इतिहास बनाउँछ रे भन्ने जस्ता अत्यन्त आकर्षक एवं मर्मस्पर्शी वाक्यहरू छन् भन्दै डोल्मा लाबाट झर्दै गर्दा आफैँलाई थकाइ लागेको महसुस भएको बताए । जुन देशको बारेमा लेखेको भए पनि नेपाली पर्यटन व्यवसायीलाई पनि यसबाट लाभ हुने तर्क गर्दै ढकालले आफूले अब फेरि कैलाश परिक्रमा गर्नु नपर्ने भएको ठट्टा गरे । अग्रज पर्यटन व्यवसायी रामप्रसाद सापकोटाले आफूले पुस्तक आद्योपान्त अध्ययन नगरेको भए पनि डङ्गोलको लेखकीय तौरतरिकासँग निकटता रहेकाले यसको उत्कृष्टतामा आफू ढुक्क रहेको अनुभव सुनाए । कृतिकार राजेन्द्रमान डङ्गोलले भावुक रूपमा यसै पुस्तकमा पनि कमी र कमजोरी भेटेको भन्दै यसमा सराहना मात्र आएको भन्दै आफूले यसका सीमा पनि औँल्याइदिन आग्रह गरे। आफू पढेको भैरवी मा आख्यानकार उमा सुवेदीले आख्यानमा पात्र र परिवेश छनोट गरेझैँ उहाँले जुन जुन पात्रसँग संवाद गर्नुभएको छ त्यो अत्यन्त जीवन्त लाग्छ भन्दै कैलाश कोरा नियात्रासङ्ग्रह अध्ययन गरेपछि आख्यानसँग अत्यन्त नजिक रहेको निर्क्यौल गर्न सकिने बताइन् । लोमश वाङ्मय प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे 'अटल'ले कैलाश कोराको चर्चा गर्दा कक्षा-९ मा अध्ययन-अध्यापन गराइने 'कञ्चनजङ्घालाई नियाल्दा'बारे चर्चा गर्नै पर्ने बताउँदै उनको यहाँसम्मको नियात्रा लेखनले सफलताको चुली चुम्न कुनै शक्तिले अवरोध गर्न नसक्ने अभिमत राखे । सञ्चारकर्मी तथा समालोचक राजकुमार बानियाँले राजेन्द्रमान डङ्गोलको यात्रा लेखन शैली नितान्त नौलो र परिष्कृत भएको टिप्पणी गर्दै उहाँ अब वस्तुको व्याख्यानबाट माथि उठेर आत्मिक साधनातिर काव्यिक ढङ्गले रूपान्तरित हुनुभएको अर्थ्याए । नेपाल पर्वतारोहण सङ्घका उपाध्यक्ष बोधराज भण्डारीले पढेको कैलाश कोरा र भोगेको कैलाश कोरामा कहीँकतै भिन्न नभएको दाबी गरे । आफूमा अनुभूत गरेको कुरालाई अभिव्यक्त गर्न सामर्थ्य नभएको तर त्यही कुरा डङ्गोलले सान्दर्भिक र सानदार ढङ्गले प्रस्तुत गर्न सफल भएकोमा डङ्गोलको मुक्तकण्ठले सराहना गरे । टानका पूर्व अध्यक्ष दीपक महतले राजेन्द्रमान डङ्गोलले आफ्नो प्रतिभा र क्षमता यथासमयमै चिनेर निकै अनुकरणीय काम गरेको बताए । साहित्यको लेन्सबाट हेर्दा उनलाई सिद्धहस्त भन्न मिल्छ/मिल्दैन आफू जानकार नभएको भन्दै आफूलाई भने उनी निकै सिद्धहस्त भएको लाग्ने गरेको राय राखे । अग्रज बालसाहित्यकार प्रमोद प्रधानले आफ्ना परिवारलाई भेटेका व्याख्यान र तिनका दैनिकीलाई समेटेका कुरालाई आफूले नियात्रा भन्न नसक्ने भन्दै गुगल राइटिङ किमार्थ नियात्रा नहुने जिकिर गरे । तर जहाँसम्म राजेन्द्रमानको कुरा छ, यसमा यथार्थ र अनुभूतिको सम्मिलन छ । 'कैलाश कोरा'मा राजेन्द्रमानको संवाद भने कम छ किनकि सम्भवतः एक पक्षीय संवाद सम्भव थिएन भन्दै प्रधानले कैलाश कोरामा प्राकृतिक विषयवस्तुभन्दा बेसी आत्मिक अनुभूति छन् भन्ने अभिमत राखे । अग्रज पर्यटन व्यवसायी तथा राजनीतिकर्मी सुमन पाण्डेले कैलाश जाँदा जीवनको एउटा दिग्दर्शन प्राप्त हुने बताए । कैलाश मानसरोवरबारे आफ्नो अनुभूति सुनाउँदै जीवनको एउटा मोडमा आफूलाई पनि पुस्तक लेख्ने हुटहुटी जागेको खुलासा गरे । बहुआयामिक साहित्यकार डा. गीता त्रिपाठीले राजेन्द्रमान नियात्रामा पग्लिन सक्ने एउटा अद्भुत समकालीन नियात्राकार भएको टिप्पणी गरिन् । 'कैलाश कोरा'मा तथ्यपरक सामग्री त यसै पनि छँदै छन् त्यसको काव्यिक प्रस्तुतीकरण झन् बेजोड छ । यसलाई अद्वितीय कृति भन्दा पनि अत्युक्ति हुँदैन भन्दै यो कृति अनमोल ज्ञान भण्डार पनि हो भन्ने त्रिपाठीको स्पष्टोक्ति थियो । अर्का अग्रज पर्यटन व्यवसायी तथा टानका पूर्व अध्यक्ष ज्योति अधिकारीले पृथक् कोणबाट कैलाश कोराको विश्लेषण गर्दै सङ्ग्रह निकै वस्तुपरक रहेको जिकिर गरे । यसर्थ पनि कैलाश कोरा कालजयी कृति भएको उनको तर्क थियो । तिब्बत के हो भन्नेबारे लामो मन्तव्य राखेका उनले लेखनलाई उत्पादनसँग जोड्न आग्रह गर्दै सही लेखनले हामीले अपेक्षा गरेको विकास सम्भव हुने राय व्यक्त गरे । रामहरि आचार्यले स्वागत मन्तव्य प्रकट गरेको उक्त कार्यक्रमको सहजीकरण चर्चित युवा कवि लक्ष्मी रूम्बाले गरेकी थिइन् भने उक्त विद्यालयका शिक्षक एवं कक्षा-९ मा अध्ययनरत छात्र-छात्राहरूको पनि सक्रिय सहभागिता रहेको थियो ।
