फोहोरबाट निर्मित हस्तकलाको एकदिने मेला सम्पन्न


पुष १०, २०८२, बिहीबार | राति ०८:०७ बजे | 460


फोहोरबाट निर्मित हस्तकलाको एकदिने मेला सम्पन्न

जयराम बिडारी

इन्टरनेशनल स्कुल,धुम्वाराहीमा फोहोरलाई हस्तकलाका सामग्री बनाएर प्रदर्शन गर्ने एकदिने मेला सुसम्पन्न भएको छ । विद्यार्थीलाई कोरा किताबी ज्ञानबाट अलिक पर्तिर लगी व्यावहारिक र व्यावसायिक तालिम दिने हेतुले यस्तो कार्यक्रम आयोजना गरेको बताउनुहुन्छ- प्राचार्य अनिरुद्र अर्याल । घोकन्ते विद्याभन्दा प्रयोगात्मक सिकाइ निकै माथि र महत्त्वपूर्ण हुने राय छ, आम अभिभावकको पनि । झन्डै एक दर्जन स्टलमा फोहोरबाट तयार गरेका वस्तुहरू आकर्षक ढङ्गबाट सजाइएका मात्र छैनन्,उत्साहप्रद बिक्री पनि छ । हस्तनिर्मित सामान बेच्न केही रमाइला खेल खेलाएर अभिभावकलाई आकर्षित त गरिएकै छ, अझ तयारी सामान खरिद गर्न थप हौसला पनि प्रदान गरिएको छ । खाजाका रूपमा विद्यार्थी र शिक्षकले तयार गरेका सेल र तरकारी हेर्दा तिहारको झझल्को मिल्छ । कक्षागत स्टलमा पृथक् सामान छन् । तीन घण्टासम्म सञ्चालित उक्त मेलामा सबै सामान खरिद गरिएको थियो भने विद्यार्थीले भोलिका दिनमा व्यवसाय कसरी प्रवर्धन गर्ने भन्ने व्यावसायिक सीप विकास गरेको पाइयो । प्राचार्य अर्याल यतिमा मात्र सीमित हुनुहुन्न, बरू हरेकजसो विद्यार्थीलाई लेखन विधामा कलम चलाउन प्रोत्साहन गर्नुहुन्छ जसको दृष्टान्त हो सोही विद्यालयमा अध्ययनरत छात्र छात्राको डेढ दर्जन बेसी पुस्तक प्रकाशन । अत्यन्त अनुकरणीय उक्त खालका सिर्जनात्मक कार्यक्रम अन्य विद्यालयलाई पनि पाठ हुने राय प्रकट गर्नुहुन्छ बालसाहित्यकार तथा शिक्षक केशरी अम्गाई । फरक तथा रचनात्मक काम गर्न उत्प्रेरित गर्ने इन्टरनेशनल स्कुलको ब्रान्ड बनेको स्थानीयवासीहरूको भनाइ छ ।

Comments