भक्तपुरका ‘कोरोना हिरो’ लाई सम्मान गर्ने


पुष ९, २०८२, बुधबार | साँझ ०६:४४ बजे | 830


भक्तपुरका ‘कोरोना हिरो’ लाई सम्मान गर्ने

भक्तपुर । जेस संस्कृति सम्पदा सिरपाबाट भक्तपुर भक्तपुर नगरपालिका वडा नं २ का राजेश गाइजूलाई सम्मान गर्ने भएको छ । संस्कृति सम्पदाको क्षेत्रमा गरेको योगदानको कदर गरी उनीलाई यो सम्मान प्रदान गर्ने लागेको हो । सम्मानित हुन लागेका व्यक्ति कोरोना हिरो हुन् अर्थात् उनी कोरोनाबाट मृत्यु भएका पहिलो व्यक्तिको लाश छोएर जलाउने व्यक्ति हुन् । स्काउटका लिडर उनी कोरोनाको बेला चार जना साथीको समूहमा आवद्ध भई कोरोनाकालमा रेश्क्युमा लागेका व्यक्ति हुन् । त्यही कारण उनलाई तत्कालिन सरकारले राष्टिय सम्मान गरेको थियो । सम्पदा संस्कृतिमा पनि योगदान दिएका उनलाई यही योगदानको कदर गर्दै पुरस्कार दिन लागिएको हो । 
जेन्युइन स्कुल देकोचा भक्तपुरले बुधबार पत्रकार सम्मेलन गरी स्कुलको ३० औं बार्षिकोत्सव समापन समारोहमा शुक्रबार उक्त सम्मान प्रदान गरिने जनाएको छ । सम्मान नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंको हातबाट प्रदान गरिने पत्रकार सम्मेलनमा जनाइयो । स्कुलले पहिलो पटक यो वर्षदेखि यो पुरस्कारको स्थापना गरी सम्मानित गर्न लागेको पनि जनाएको छ ।
पत्रकार सम्मेलनमा जानकारी दिइए अनुसार उपाधिका लागि योगदानकर्ताहरुको आह्वान गरेको थियो । यस अनुसार चारजनाको निवेदन परेको थियो । त्यसमध्ये मूल्यांकन समितिले गाइजूलाई छनौट गरेको बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । 
स्कुल व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष योगेन्द्रमान विजुक्छेंको संयोजकत्वमा पाँंच सदस्यीय पुरस्कार छनौट समिति गठन गरिएको थियो । समितिमा भक्तपुर नगरपालिकाका उपप्रमुख आर्किटेक्ट इन्जिनियर रजनी जोशी, त्रिभुबन विश्वविद्यालय इतिहास, संस्कृति तथा पुरातत्व विभागका निवर्तमान विभागीय प्रमुख प्राडा सोमप्रसाद खतिवडा, प्राडा पुरुषोतमलोचन श्रेष्ठ र स्कुलका अन्य दुई जना गरी पाँंच जनाको पुरस्कार छनौट समिति गठन गरेको थियो । त्यही समितिको पटकपटकको छलफलपछि गाइजू छनौट भएको पत्रकार सम्मेलनमा जनाइयो । उपाधिका लागि भक्तपुरकै मुक्तिसुन्दर जधारी, सृजना प्रजापति र र्सगीता पञ्च गरी चार जनाको निवदेन परेको थियो । 
पत्रकार सम्मेलनमा स्कुल व्यवस्थापन समितिका अध्यक्ष एवं वडा अध्यक्ष विजुक्छेंले समाजमा योगदान गर्ने व्यक्तिहरुलाई सरकार (स्थानीय)ले मात्रै कदर नगरी समाजको एउटा अंगको रुपमा रहेको स्कुलको पनि जिम्मेबारी हो भन्न सन्देशका साथ यो पुरस्कारको स्थापना गरेको जानकारी गराए । यो पुरस्कारलाई अव हरेक वर्ष निरन्तरता दिई पुरस्कृत गर्ने जानकारी पनि उनले गराए । पुरस्कारमा नगद राशीसहित सम्मानपत्र रहने जनाइयो । सम्मानका लागि भक्तपुर नगरबासी हुनुपनुका साथै स्नातकोतर उतीर्ण गरी संस्कृति क्षेत्रमा योगदान दिएको हुनुपर्ने जनाइयो ।
पत्रकार सम्मेलनमा स्कुल बाहिरबाट मूल्यांकन समितिमा सदस्यका रुपमा रहेका त्रिभुबन विश्वविद्यालय इतिहास, संस्कृति तथा पुरातत्व विभागका निवर्तमान विभागीय प्रमुख प्राडा सोमप्रसाद खतिवडा, प्राडा पुरुषोतमलोचन श्रेष्ठ दुवैले स्कुलले बनाएको क्याइटेरिया अनुसार निष्पक्ष रुपमा छनौट गरेको दावी गरे ।  
वार्षिकोत्सवको अवसरमा पुस्तक र स्मारिका पनि विमोचन हुने जनाइयो । साथै काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा विभिन्न सयममा भइरहने विभिन्न जात्रापात्राहरुमा पानी बोकेर पानी खुवाउने पानी बा भनेर चिनिने समाजसेवामा लामो समयदेखि लागिरहेका भक्तपुरकै रत्नभक्त प्रजापतिलाई पनि सम्मान गर्ने जनाइयो । साथसाथै ३० औं वार्षिकोत्सवको अवसरमा स्कुलले आयोजना गरेका विभिन्न प्रतियोगितामा विजयीहरुलाई पनि पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।  वार्षिकोत्सवको अवसरमा स्कुलले साउन १७ गतेदेखि मंगलबारसम्म विभिन्न १८ वटा कार्यक्रमहरु गरेको थियो । 
 

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुरका ‘कोरोना हिरो’ लाई सम्मान गर्ने

Comments