रामविन्दु श्रेष्ठद्वारा लिखित ‘हजारौँ विजय’ कृति सार्वजनिक


पुष ६, २०८२, आइतबार | विहान ११:०२ बजे | 160


रामविन्दु श्रेष्ठद्वारा लिखित ‘हजारौँ विजय’ कृति सार्वजनिक

ई. रामविन्दु श्रेष्ठद्वारा लिखित ‘हजारौँ विजय’ कृति सार्वजनिक भएको छ । नेपाल रुस साहित्य समाज र रुसी सदन काठमाण्डौबाट आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री, पूर्वराजदूत नीलाम्बर आचार्य, पूर्वराजदूत, साहित्यकार प्रा. डा. जंगब चौहान, पूर्वराजदूत मिलन राज तुलाधर, नेपाल भाषा एकेडेमीका चान्सलर कृष्ण मल्ल के सुन्दर , रुसी सदनकी निर्देशक अनास्तासिया भ्यालेन्टिनोभ्ना खोख्लोभा, नेपालस्थित रुसी महासंघको दूतावास सहचारी निकिता भादिमोविच मन्सुरोभ, प्रा. डा. खेम कोराइला बन्धु र लेखक रामविन्दु श्रेष्ठले पुस्तकको संयुक्त रूपमा विमोचन गरेका थिए ।
दोस्रो विश्व युद्धमा सोभियत संघ र युरोपको मुक्तिको लागि दुई करोड सत्तरी लाख सोभियत वीरहरुले गरेको बलिदान र तिनले  रचेका अभूतपूर्व  देशभक्तिको कथा; त्यसले विश्व भूराजनीति र नक्सामा ल्याएको परिवर्तन; एशिया,अफ्रिका र ल्याटिन अमेरिकी मुलुकहरुमा ल्याएको उपनिवेश विरोधी स्वतन्त्रताको लहर पुस्तकमा सुक्ष्म ढंगले लेखिएको छ । समग्रमा यसलाई महान देशभक्तिपूर्ण युद्धमा फासिवाद माथि विजयको ८० औं वार्षिकोत्सव र विजयको लागि ज्यानको आहूती दिने वीरहरुप्रति प्रति समर्पित गरिएको छ । 
अहिलेको विश्वमा फैलिएको नव नाजीवादी अभ्यासहरु तथा दोस्रो विश्वयुद्धमा फासिवादमाथि सोभियत संघको विजयको निर्णायक भूमिकालाई न्यूनिकरण गर्ने पश्चिमाहरुको हर्कटलाई लेखकले विभिन्न पुष्ट्रयाइकासाथ वर्णन गरेका छन् । साथमा ऐतिहासिक तथ्यहरुलाई तोडमरोड र इतिहासलाई पुनर्लेखन गर्ने  नवनाजीवादी रवैयालाई लेखकले आफ्नो पुस्तकको केन्द्रविन्दु बनाएका छन् ।
कार्यक्रममा बोल्दै काठमाडौँस्थित रसियन हाउसकी निर्देशक अनास्तासिया खोखलोभाले लेखक र पाहुनाहरू विशेषगरी सोभियत र रुसी विश्वविद्यालयका स्नातकहरूलाई रुस र नेपालबीचको मित्रता प्रबर्धन गर्न योगदान पुर्याएकोमा कृतज्ञता व्यक्त गरिन् । उनले नाजीवाद, नवनाजीवाद र सबै प्रकारका जातीय भेदभावको महिमा विरुद्ध लड्ने संयुक्त राष्ट्र संघको प्रस्तावलाई समर्थन गर्ने नेपालको योगदानलाई विशेष धन्यवाद दिइन् । जब मानवताले इतिहासका पाठहरू बिर्सन्छ, युद्ध र त्रासदीहरू दोहोरिन सक्छन्ः त्यसैले विजय र शान्तिको लागि चुकाउनु परेको मूल्यको बारेमा बोल्न र यो सम्झना युवा पुस्ताहरूलाई हस्तान्तरण गर्नु आवश्यक छ , खोखलोभाले जोड दिदैं भनिन् ।
पुस्तकमाथि टिप्पणी गर्दै प्रमुख अतिथि नीलाम्बर आचार्यले भन्नुभयोः 
“...आज केही क्षेत्रबाट इतिहासलाई भत्काउने प्रयास भइराखेको छ, तर इतिहासलाइ हामीले संझनु पर्छ ,इतिहास भत्काउन दिनुहुँदैन , किनभने इतिहासलाइ भत्कन दियौं भने हाम्रो स्वतन्त्रता अपहरित हुन्छ , हाम्रो विवेक मारिन्छ । इतिहासले हामीलाई झकझकाउँछ, बाटो देखाउँछ । यो दोस्रो विश्वयुद्ध र संसारको सन्दर्भमा पनि लागुहुन्छ ।
 रामविन्दुजीको यो पुस्तकले फासिवाद विरोधियुद्धमा सोभियत र रुसी जनताको सर्वाधिक योगदान रहेको , सर्वाधिक ठूलो बलिदान रहेको भन्ने मात्र देखाएको छैन , बरु रुसको र रुसी जनताको महत्व के थियो र अझै के छ  भन्ने कुरापनि दर्शाएको छ । आज किन रुसमाथि भयंकर, आक्रमण, विरोध, निन्दाका अभियानहरु चलिराखेको छ ? उसलाई अझै पनि खुम्चाउने प्रयास किन भइरहेछ ? आदि बुझ्नलाई पनि यो किताबले मद्दत गर्नेछ । इतिहास भत्कन दिनुहुँदैन, वीरहरुका शालिकहरु भत्कन दिनुहुँदैन । किन? यसले बताउँछ । यौटा एघार वर्षे बच्चीको बलिदानको उदाहरण समेत छ यसमा ।
विश्व इतिहासमा, विश्व विकासमा रुसको महत्व थियो, भूमिका थियो र देन थियो । र त्यो महत्व अझै छ, यदि हामीले विश्वलाई, विश्व सम्बन्धलाई साच्चीकै लोकतान्त्रिक ढंगले अगाडी बढाउने हो भने, यदि कसैको एकछत्र आधिपत्य हुनुहुदैन भन्ने विश्वास राख्छौं भने । तसर्थ रुसको बहुध्रुवीय महत्वलाई यो किताबले दर्शाउँछ ।
आज हामी विजयको ८०औं वर्ष मनाउदैछौं, जबकि पहिलो विश्वयुद्धको २१ वर्षपछि दोस्रो भएको थियो  । यो अस्सीवर्षसम्म विश्वलाई महायुद्धबाट किन बचाउन सकियो त ? किनभने सोभियतसंघले अमेरिकाको तक्करमा बराबरी सामरिक शक्ति हासिल गरेको थियो । त्यसैले यो लामो समयसम्म युद्ध तर्यो । र यतिका वर्ष हामी शान्तिपूर्वक बाँच्न पाउनुको अर्थमा रुसको महत्व छ, अझै पनि छ । यदि संसारलाई बहुपक्षियको भन्ने हो र बनाउने हो भने त्यो आवश्यक रहेको छ । 
यो किताबले नेपाली जनताको सोभियत जनताप्रति, रुसी जनताप्रति भावनाको प्रतिनिधित्व गरेको छ । उहाँको कृतिको दुरगामी महत्व रहेको छ । किताबमा ससाना टुक्राटाक्रीहरुको संकलन छ । तर सबै मिलाएर हेर्दा यो बहुपक्षीय छ । वाक्य संरचनाहरु सरल छन् , भाषा स्पष्ट छ, किताब पठनिय छ र यो पुस्तक यसरी लोकको निम्ति अर्पण गर्नुभएकोमा पुनः बधाइ र धन्यवाद ।....”
मल्ल के सुन्दरले २२ जुन १९४१ मा जर्मनले आक्रमण गरेपछि २३ जुन मा प्राभ्दा राष्ट्रिय दैनिकमा पार्टी प्रचार विभाग प्रमुख मारोस्लाभाकी यौटा लेख आएको , त्यसमा “मर्न नडराउनु, हार शत्रुको हुन्छ, जीत हाम्रो अवश्याम्भवी छ ।” भन्ने लेखिएको वर्णन गर्नुभयो । यो कोटेशन सहित प्रत्येक सोभियत नागरिकलाई “यो हामी सबैको युद्ध हो, यो देशभक्तिपूर्ण युद्ध हो” भनेर सम्पादकियमा आएपछि रुसमा दोस्रो विश्वयुद्ध  महान देशभक्तिपूर्ण युद्ध कहलिएको हो वहाँले भन्नु भयो । पुस्तकमा अनेकन् वीर र वीरताका गाथाहरु, स्मारकहरुको विवरण, मस्को, स्टालिनग्राड आदि ठूला युद्धको वर्णन छ । यो युद्धमा संसारलाइ उपनिवेश बनाउने हिटलरको दुस्वप्न परास्त गर्दै सोभियतहरुले पूर्वी युरोपका देशहरुको संघर्षलाई राष्ट्रिय मुक्तिको युद्धमा  परिणत गरेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै पूर्वराजदूत मिलन राज तुलाधरले आफू रुस छँदा साइबेरिया देखि क्यास्पियन सागर सम्म युद्धमा ज्यान गुमाउने सोभियत वीरहरुको संझनामा  स्मारकहरुमा “ केही पनि बिर्सिनेछैनौ, कसैलाई बिर्सिने छैनौ” कोरिएको पाएको सस्मरण गर्नु भयो ।
पूर्वराजदूत जंगब चौहानले रुस युद्ध र नाकावन्दीको द्वन्दमा जकडिएको बखत आफूले लोक कुटनीतिको कामहरु, साहित्यिक घनिष्ठताहरु बढाएर रुसी हृदयलाई छुने प्रयास गरेको उल्लेख गर्नुभयो ।
समीक्षाको क्रममा प्रा. खेम कोइरालाले पुस्तकमा मृत्युलाई गौरवको विषयको रुपमा उत्थान गरिएको छ  – मानवजातीको उत्थान र स्वतन्त्रता लागि भन्ने चर्चा गर्नु भयो ।
कार्यक्रम राष्ट्रिय भूकम्प प्रविधि समाजका अध्यक्ष अमोद मणि दीक्षितको अध्यक्षता, नेपाल रुस साहित्य समाज काठमाडौंका सदस्य शकुन्तला जोशीको स्वागत भाषण र रुसी सांस्कृतिक केन्द्र पुस्तकालयकी प्रमुख भावना न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।  

Comments