श्यामलाल चित्रकारद्वारा लिखित ‘गुरु महिमा´ विमोचन
पुष १, २०८२, मङ्गलबार | राति १०:०० बजे | 285
जयराम बिडारी
मंसिर, काठमाण्डौ
समाजसेवी तथा बौद्ध धर्म उपासक श्यामलाल चित्रकारद्वारा आफ्नी धर्मपत्नी सावित्री चित्रकारको ७८ औं जन्मोत्सवको अवसर पारेर बौद्ध लेखहरुको सङ्गालो `गुरु महिमा´ नामक पुस्तक विमोचन गरिएको छ । मानव समाजलाई धर्म शान्ति र भक्तिभावको मार्गमा अघि बढ्न मद्दत मिलोस् भन्ने उद्धेश्यले लेखिएको सो पुस्तक धर्मकीर्ति विहारका प्रमुख श्रद्धेय डा.धम्मवती गुरुमांबाट विहारको धम्महलमा आयोजित एक कार्यक्रमका बीच विमोचन गरिएको थियो । कार्यक्रममा अभ्यागतहरुलाई स्वागत मन्तव्य राख्दै कृतिकार शामलाल चित्रकारद्वारा बुद्धको पञ्चशिलको सिद्धान्त पालन गरी वहाँको उपदेशलाई अनुसरण गर्नका लागि सदैव प्रयत्नशील रहन श्रद्धेय धम्मवती गुरुमां को आशिर्वाद प्राप्त भइरहोस् भन्ने कामना गरे । उनले आफ्नो ५५ वर्षे सहजीवनका क्रममा धर्मपत्नी सावित्री चित्रकारको ७८ औं जन्मदिनको उपलक्ष्यमा गुरुमां को समीपमा आफ्नो कृति विमोचन गर्न पाउँदा खुशी व्यक्त गर्दै अभ्यागतहरुलाई स्वागत गरेका थिए । कृतिमाथि परिचर्चा उपप्राध्यापक डा. त्रिरत्न मानन्धरले गरे । उनले उनले उक्त कृति बुद्ध बाणीलाई पछ्याएर लेखिएको बताए । मानन्धरले जीवन,जगत र समाज उपयोगी कृतिले मान्छेको जीवनमा सकारात्मक प्रभाव पार्ने कुरामा जोड दिंदै उनले भने- ‘ज्ञान,विज्ञान र चेतना समेटिएर कृति आएको छ । जीवन र दर्शनलाई जोडेर लेखिएको कृति गुरु महिमाले अशान्त मनमा शान्तिको सञ्चार गर्न सघाउ पुर्याउने भन्दै श्यामलाल चित्रकारला अझै धेरै मानव उपयोगी कृतिहरु लेखिरहन सुझाए । उक्त अवसरमा धर्मकीर्ती विहार प्रमुख अग्गमहागन्धवाचक पण्डित साशनधज धम्माचरिय श्रद्धेय धम्मवती गुरुमांद्वारा पञ्चशील प्रदान गरिएको थियो । सो समारोहमा बौद्ध विदुषी एवं प्राज्ञ डा. रिना तुलाधर तथा सहप्राध्यापक डा. मदनरत्न मानन्धरले शुभकामना व्यक्त गरेका थिए भने श्यामलाल पत्नी सावित्री चित्रकारको ७८ वर्ष पुरा गरी ७९ वर्ष प्रवेशको उपलक्ष्यमा श्रद्धेय गुरुमां बाट परित्राण पाठ सहित आशिर्वचन प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि धम्मवती गुरुमां र लेखक श्यामलाल चित्रकारद्वारा उपप्राध्यापक डा. त्रिरत्न मानन्धर ,सहप्राध्यापक डा.मदनरत्न मानन्धर र सम्यक सन्देशका अध्यक्ष दीपक भेटुवाल ‘दीपसागर’ लाई सम्मान उपहार प्रदान गरिएको थियो । उक्त कार्यक्रममा पत्रकार कुमार रञ्जित, प्रफुल्ल कमल तुलाधर ,माइण्ड प्लसका प्रवन्ध निर्देशक नवीन पल्लव ,डा. लक्ष्मण शाक्य, शिक्षासेवी केदारनाथ श्रेष्ठ लगायत चार दर्जन बौद्ध अनुयायीहरुको उपस्थिति रहेको थियो । लोचनतारा तुलाधरद्वारा सहजीकरण गरिएको सो समारोहमा श्यामलाल चित्रकार पुत्र सनम चित्रकारले धन्यवाद ज्ञापन गरेका थिए ।
फाेटाेमा हेर्नुहाेस्...
