‘अपूर्वा’ परिचर्चा सहित लोमश वाङ्मयको नियमित कार्यक्रम सम्पन्न
मंसिर २८, २०८२, आइतबार | राति ०८:४४ बजे | 210
जयराम बिडारी
मंसिर २७, काठमाण्डौ
लोमश वाङ्मय प्रतिष्ठानको मासिक नियमित कार्यक्रममा कवि तथा उपन्यासकार रुबि सत्यालद्वारा हालसालै प्रकाशित उपन्यास ‘अपूर्वा’ को परिचर्चा सहित सम्पन्न गरिएको छ । प्रतिष्ठानले हरेक महिनाको चौंथो शनिवार नियमित रचना वाचन ,कृति विमोचन,परिचर्चा एवं विधा विशेषमा रचना वाचनका कार्य गर्दै आइरहेको छ । कार्यक्रममा प्रमुख अतिथिको भूमिकामा रहेका श्रीओम श्रेष्ठ ‘रोदन’ले नवोदित लेखक साहित्यकारका रुपमा सामान्य जानेको रुबि सत्याललाई उनका लेखन क्षमता नजानिंदो रुपमा मझिएको अनि परिपक्व रुपमा सलल बगेको रुपमा पाएको बताए । रूबि सत्यालकृत उपन्यास ‘अपूर्वा’को बारेमा आफ्ना धारणा प्रस्तुत गर्दै एउटा फरक स्वादमा ‘अपूर्वा’ बजारमा आएको बताए । कतिपय उपन्यासहरु सुरुमा केही पन्नाहरु पढिसकेपछी लगभग त्यसको भाव र आसय बुझिने र त्यसपछि दुई,चार हरफहरु पढ्दै जाँदा बिषयवस्तुलाई पर्गेल्न सकिने भन्दै अपूर्वा उपन्यासलाई बुझ्न त्यसरी सम्भव नभएको र हेर्दा सामान्य लाग्ने वाक्य गठन तर गहन र महत्वपूर्ण शब्द संरचनाका कारण पनि उनलाई परिपक्व साहित्यकारका रुपमा उभ्याएको बताए । उक्त अवसरमा ‘नेपाली उपन्यासमा लोक विश्वास ‘विषयमा विद्यावारिधि गर्दै गरेका विशिष्ट अतिथिका भूमिकामा रहेका स्रष्टा पदयात्रा नेपालका महासचिव गङ्गाप्रसाद भेटवालले नेपाली उपन्यासका इतिहासदेखि वर्तमान सम्मको फेहरिस्त प्रकाश पार्दै रुबि सत्यालकृत उपन्यास अपूर्वा फरक धारमा लेखिएको नवीनतम कृति रहेको बताए । जापान जान चाहने हरुका लागि गाइड बुकको रुपमा रहेको उपन्यासले नेपालीले जापानमा भोगेका भोगाइलाई लिपिबद्ध गरेर पठनीय बनाइएको ‘अपूर्वा’ले बौद्ध दर्शनबारे पनि बोलेको भेटवालले बताए । कार्यक्रममा उपन्यासकार रूबि सत्यालले काव्यिक श्लोकबाट मन्तव्य र रचना-गर्भको उठान गर्दै कृतिलाई यो अवस्थासम्म ल्याउन सघाउने सबैलाई आभार व्यक्त गरिन् । आफूले जापान बसाइँका क्रममा भोगेका विषयलाई उपन्यासको माध्यमबाट जनसमक्ष प्रस्तुत गरिएको बताइन् । उनले पाठकबाट प्राप्त हुने यथोचित प्रतिक्रियाले आगामी दिनका सिर्जनशील कर्ममा सहयोग हुने बताउँदै समीक्षक समालोचकहरुको समुचित सुझावलाई समेट्ने बाचा समेत गरिन् । यसैगरी कार्यक्रममा भुँडीपुराण प्रकाशनका प्रवन्ध निर्देशक केशव पराजुलीले प्रकाशन धर्मका कारण आफूकहाँ आउने सवै खालका सामग्री भन्दा पनि अपूर्वा उपन्यासको नवीन विषयवस्तु नेपाली र जापानीको सांस्कृतिक विविधता मानवीयता बुद्ध र सगरमाथा र फूजीसान बीचको मिश्रणलाई कलात्मक रुपमा बुनिएको कथाले प्रभावित पारेको बताए । त्यसैगरी कार्यक्रम सञ्चालनका निम्ति हल उपलब्ध गराउने ग्वङ्गबूँस्थित महर्षि क्याम्पसका प्रमुख रमेशचन्द्र अधिकारीले आफू साहित्यको विद्यार्थी नभए पनि साहित्यिक गतिविधिहरू सञ्चालन भए मात्र नेपाली मौलिकता संरक्षण गर्न सकिने स्पष्ट पार्दै आगामी दिनमा कलेजले यस्ता कार्यक्रम सञ्चालन गर्न आवश्यक अन्य सहयोग गर्न पनि तत्पर रहेको बताए । मुक्तक विशेष उक्त कार्यक्रममा राजबाबु श्रेष्ठ ‘सागर’, मीना चौलागाईं, प्रकाश बस्नेत ‘गफाडी’, र एन्जल निलुलाई विशेष मुक्तककारका रूपमा निम्त्याएको थियो भने उपस्थित सबैजसो सर्जकले आफ्ना सिर्जनासँगै जयराम बिडारीकृत हालै लोकार्पित मुक्तकसङ्ग्रह ‘जीवन्त विम्ब’बाट मुक्तक वाचन गरेका थिए । प्रतिष्ठानका सचिव नवीन पल्लवले सहजीकरण गरेको सो कार्यक्रमको अध्यक्षता प्रतिष्ठानकै अध्यक्ष माधव घिमिरे ‘अटल’ले गरेका थिए ।
फाेटाेमा हेर्नुहाेस्...
