के भन्नुहुन्छ तपाईहरु यसलाई ?


मंसिर १७, २०८२, बुधबार | राति ०८:३७ बजे | 125


के भन्नुहुन्छ तपाईहरु यसलाई ?

भक्तपुर । नेपालीमा एउटा उखान छ, नेवार मर्छ भोजले, पर्वते मर्छ मोजले । नेवार समुदायमा जन्म, ब्रतबन्ध, विवाहमा मात्रै होइन, जीवनका अनेक आरोहअवरोहमा पनि भोज खुवाउने चलन छ । तीमध्ये परिवारजनको मृत्युको दुःखद् शोकमा पनि भोज खुवाउने चलन छ । 
मृत्यु भएको डेढ महिना, ६ महिना, एक वर्षमा नातागोता, आफन्त, छरछिमेकहरु सवैलाई निमन्त्रणा गरी भोज खुवाउनु पर्छ । साथै मृतकको नाममा एकवर्षपछि पनि दोश्रो वर्ष, तेश्रो, चौथौं, पाँंचौ गरी एवं तरिकाले वर्षैपिच्छे निरन्तर भोज खुवाउनुपर्ने चलन छ । 
यही चलन कुसंस्कार भएको भन्दै भक्तपुरको एउटा सामाजिक संस्थाले यस्तो भोज नगर्न र नगराउन सवैसँंग अनुरोध गरेको छ । उसले सार्वजनिक अपिल नै सार्वजनिक गरी संस्कारको नाममा कुसंस्कारलाई पनि मान्यता दिन छोड्नुपर्ने तर्क राखेको छ । भक्तपुर नगरपालिका वडा नं ६ चोछें भक्तपुरले यस्तो अपिल गरेको हो । विशेष जानकारी सम्बन्धमा भन्ने शीर्षकमा सार्वजनिक अपिलमा भनिएको छ, यस समितिको पदाधिकारीहरूको अनौपचारिक आकस्मिक बैठक सम्पन्न बैठकमा शोकाकुल विशेष परिस्थितिमा मृतकको पुण्य तिथिको बेला भोज खुवाउने परम्पराका विषयमा विशेष छलफल भयो । 
अपिलमा थप भनिएको छ, यस समितिको स्थापना पूर्व नै मिति २०६० असार २१ गते सम्पन्न टोलवासीहरूको भेलाको सहमति अनुसार सामाजिक परम्परा अनुसार चलाउँंदै आएको मानिस स्वर्गारोहण भइसकेपछि मृतकको पुन्यतिथिमा आफनो आफन्तजन तथा टोलबासीहरुलाई भोज खुवाउने प्रचलनलाई हटाउँंदै आगामी दिनहरुमा त्यस्ता भोजहरुमा नजाने तथा नबोलाउने निर्णयलाई आत्मसात गरेको छ । अपिलमा थपिएकोव छ, अतः सो निर्णय बमोजिम कसैले भोज नबोलाउन र भोजमा नजानु हुन यस समितिका सम्पूर्ण सदस्यहरुलाई अपिल गर्ने निर्णय भएको विशेष जानकारी गराउन चाहन्छौं । 
समितिका सचिव सुरेशन धुसूले सामाजिक कुसंस्कारको रुपमा भएको यस्ता चलनलाई हटाउनुपर्ने भएकाले यस्तो पाइला चालेको बताए । उनले एकातिर दुःख पर्ने र अर्काेतिर थप आर्थिक भार पर्ने भएकाले यस्ता कुसंस्कारलाई हटाउनुपर्ने आफूहरुको भनाई रहेको बताए । 
आदर्श आजाद कलेज भेलुखेल भक्तपुरमा संस्कृति विषयका अध्यापक राजेश गाइजू अहिलेको यस्तो चलन निरुत्साहित गर्नुपर्ने पक्कै हो भन्छन् । समय कालखण्डसँगै यस प्रचलनमा पनि आवश्यक अनावश्यक धेरै परिवर्तनहरू आएको छ, उनले भने, आज यो भोजजस्तै प्रचलन भएको छ, यसकाविरुद्ध यस्तो निर्णय एकदम नै स्वागतयोग्य छ ।
तर समाजले यसलाई बुझ्नुपर्ने यो प्रचलन भोज भनेर बोलाएको नभई मृतकको नाममा गरिएको श्राद्धको प्रसाद ग्रहणमा सामेल हुन वा मृतक भएको परिवारको दुःखमा समाहित भई मनको सान्त्वना दिन आफन्त र छिमेकीहरू बोलाउने भएको उनी भन्छन् । तर आजभोलि तडकभडक बढी देखिएर यो भोजमा परिणत भएको उनको भनाई छ । यसकारण यस्तो भोजको अन्त गर्नु आवश्यक भएको उनको तर्क छ । 
 

Comments