नेपाल स्रष्टा समाजद्वारा दुई कृति लोकार्पित


मंसिर १४, २०८२, आइतबार | दिउँसो ०१:१६ बजे | 345


नेपाल स्रष्टा समाजद्वारा दुई कृति लोकार्पित

जयराम बिडारी

मंसिर,काठमाण्डौ

दार्चुला बृहत् साहित्य महोत्सव २०७९ को अवसरमा ख्यातिप्राप्त साहित्यकारहरुद्रारा लेखिएको ‘ दार्चुला कला- साहित्य तथा सो कार्यक्रमका मुख्य अभियन्ताका रुपमा रहेका किशनसिंह धामीका विषयमा नेत्रप्रसाद फुयलद्वारा लिखित ‘किशनसिंह धामी व्यक्ति र कृतिको’ एक भव्य कार्यक्रमका बीच लोकार्पण गरिएको छ । नेपाल स्रष्टा समाजको आयोजनामा कुपुण्डोल ब्याङ्क्वेटमा शनिवार भव्य कार्यक्रम गरी लोकार्पण गरिएको थियो । वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माको प्रमुख आतिथ्यमा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को सभापतित्वमा सम्पन्न गरिएको कार्यक्रममा साहित्यकार प्रमोद प्रधान, प्रा.डा.लक्ष्मणप्रसाद गौतम प्रा.डा.भरतकुमार भट्टराई, प्रा.डा खगेन्द्र लुइँटेल, पवन आलोक, ज्ञानु अधिकारी किसनसिंह धामी, कृतिकार नेत्रप्रसाद फुयल, लगायतले एकसाथ उक्त कृति लोकार्पित गरे। कार्यक्रममा प्रमोद प्रधानद्वारा दार्चुला कला-साहित्यका बारेमा समीक्षा गर्दै सुदुरपश्चिमलाई साहित्यिक गन्तव्य र चर्चाको प्रमुख केन्द्रको रुपमा विकस गर्न राष्ट्रियस्तरका लेखक,पत्रकार,साहित्यकारहरुको टोलीको २०७९ मा दार्चुलामा आयोजना गरिएको संकृतिक महोत्सव हो भन्दै सोही कार्यक्रमको दस्ताबेजीकरण र उपलब्धिका रुपमा रहेको बताए । दार्चुला कला-साहित्यका मुख्य अभियन्ताका रुपमा किशनसिंह धामी रहेको स्मरण गर्दै हाम्रा लोकसंस्कृति भूगोल, सिमाना, दार्चुलाका आवाज र भावनालाई काठमाण्डौले बुझ्न र आवश्यक कार्यदिशा निर्माणमा पहल गर्न यथेष्ट सघाउ पुग्ने विचार व्यक्त गरे । यसैगरी अर्का समीक्षक प्रा. डा. भरत कुमार भट्टराईले सशक्त कवि,निबन्धकार र सम्पादकको रुपमा समेत परिचित किशनसिंह धामीका बारेमा आफ्ना विद्यार्थी नेत्रप्रसाद फुयलद्वारा लेखिएको ‘किशनसिंह धामी व्यक्ति र कृति’ भाषा कला साहित्य र समाजका बारेमा उत्खनन गरी लेखिएको भन्दै जीवन र तरंगले भरएका लेखन भन्दा पृथक र गहनताका साथ लेखेकामा बधाई र सुभकामना दिए । उनले आफ्ना चेलालाई अझै धेरै लेखेर नेपाली साहित्य भण्डारलाई समृद्ध बनाउन प्रोत्साहित गर्दै किशनसिंह धामीलाई समेत बधाई तथा शुभकामना व्यक्त गरे । सो कार्यक्रममा ज्ञानु अधिकारीले दार्चुलामा ५ वर्ष अघि गरिएको अनुष्ठानले आजका दिनमा सार्थकता पाएको सुखद दिनको रुपमा चित्रित गर्दै दार्चुलाको माटो भूगोल कला साहित्यलाई नजिकबाट छाम्न पाएको दिनको स्मरण गरिरहेको अनुभूति भएको बताउँदै काठमाण्डौले बुझेको दार्चुला र दार्चुलाले बुझेका काठमाण्डौ बीचमा फरक रुपमा रहेको बताइन् । शुभकामना मन्तव्यका क्रममा प्रा.डा.तारा निरौला आफै चिनिन नचाहने तर धेरैले चिनेका व्यक्ति हुन् दार्चुलामा जन्मिएर काठमाण्डौलाई कर्मथलो बनाई हाल अमेरिकामा बसोबास गरिरहेका किशनसिंह धामी । अमेरिकामा समेत कला साहित्यको प्रतिबिम्बित गराउन अनुभवले निखारिएका लेखकका रुपमा समेत परिचित व्यक्तित्व विनम्र सरल व्यक्तित्वका रुपमा परिचित धामीलाई शुभकामना व्यक्त गरे । कार्यक्रममा प्रा.डा. लक्ष्मणप्रसाद गौतमले लेखक साहित्यकारहरुलाई काठमाण्डौबाट दार्चुलासम्म पुर्याएर त्यहाँको जनजीवनलाई नजिकबाट नियाल्न र यथार्थ बुझाउनका लागि गरिएको सत्प्रयासका लागि ताराकिशन फाउण्डेशनप्रति हार्दिक आभार व्यक्त गरे । स्रष्टा समाजका संरक्षक पवन आलोकद्वारा शुभकामना र समाजका महासचिव प्रकाश घायलले स्वागत मन्तव्य व्यक्त गरिएको उक्त कार्यक्रमका प्रमुख अतिथी वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले दार्चुला भ्रमणमा सहभागिता जनाएका स्रष्टाहरुले त्यहाँको माटोको सुगन्धलाई नजिकबाट महसुस गरी गहन कोशेली नेपाली साहित्य भण्डारलाई समर्पण गरेकामा सन्तोष व्यक्त गर्दै यस्ता रचनात्मक कर्म निरन्तर गरिरहनु पर्ने बताए । सो अवसरमा प्रा.डा. खगेन्द्रप्रसाद लुईंटेलले कार्यक्रमका लागि स्थानीय निकाय र संघ संस्थाले आवश्यक सहयोग नगरेका अवस्थामा ताराकिशन दम्पत्तिले व्यक्तिगत रुपमा कार्यक्रम सफल बनाएको प्रसंगको स्मरण गरे । सांस्कृतिक झाँकी सहित सुरु गरिएको कार्यक्रमको सहजीकरण साहित्यकार तथा पत्रकार प्रदीप सापकोटाले गरेका थिए भने सभापति श्रीओम श्रेष्ठ ‘रोदन’ द्वारा कार्यक्रम सफल तुल्याउन उपस्थित भएका सम्पूर्ण महानुभावलाई धन्यवाद सहित सभा विसर्जन गरिएको थियो ।

Comments