‘गगनमण्डलका ताराहरू’ नियाल्न खोज्दा
मंसिर ९, २०८२, मङ्गलबार | विहान ११:३० बजे | 125
प्रकाशप्रसाद उपाध्याय
१. पृष्ठभूमि
साहित्य जगतका जाज्वल्यमान नक्षत्रहरूमध्येका एक वरिष्ठ साहित्यकार डा. इन्दुल के.सी बाट उनको हालसालै प्रकाशित कृति ‘गगनमण्डलका ताराहरू’ उपहारस्वरूप प्राप्त गर्दा मेरो पहिलो दृष्टि उक्त कृतिको आवरण पृष्ठमा प¥यो । पुस्तकको शिर्षक हेर्ने क्रममा लेखकको नजर आवरणपृष्टलाई आफ्नो टहकबाट टहकाइरहेका अनेक ताराहरूमध्ये दुईवटा बढी टहकिरहेका ताराहरूमा केन्द्रित भइरहको तस्बिर माथि पनि प¥यो जुन स्वाभाविक थियो ।
बहुआयामिक प्रतिभाका धनी डा. इन्दुल के. सी. का कलमबाट रचिएको र प्रकाशमा आएको यो पाँचौं मूल कृति हो भने उनको कलमबाट सम्पादन भएका दस अन्य कृतिहरूलाई समावेश गर्दा यस कृतिको संख्या १५ पुग्दछ । २०६५ सालमा कविता सङ्ग्रह ‘भुइँचालो’ प्रकाशित गरेदेखि उनले साहित्य जगतमा बेला–बेलामा ३–४ रेक्टरको भूकम्पन्न नै उत्पन्न गर्ने गरेका छन् ।
मार्ग २७, १९९८ सालमा माता कान्छीमाया झा के. सी. एवम् पं. केदारनाथ झाका छोराका रूपमा जन्मेका इन्दलु हुने बिरुवाको चिल्लो पातसरह हुर्कँदै र आफ्नो प्रतिभाको प्रदर्शन गर्दै परिवारमा हर्ष र खुसीको सञ्चार गर्दै बसे । तत्कालिन श्री ५को सरकारको निजामति सेवामा ३० वर्षसम्म सेवा प्रदान गर्दै निर्देशक÷उपसचिवका रूपमा अवकाश पाएका डा. इन्दुल के. सी ले प्रारम्भिक पेशागत जीवन विद्यालय एवम् कलेजहरूमा अध्यापन गर्दै सुरु गरे । तर त्रिभुवन विश्वविद्यालय किर्तीपुर, काठमाडौबाट स्नातकोत्तरको डिग्री प्राप्त गरेका प्रतिभावान् एवम् केही अरु गर्ने महत्वाकांक्षा राखेका इन्दुलको चित्त यतिले पनि बुझेन र विद्याधनम् सर्वधनम् प्रधानम् भन्ने उक्तिलाई चरितार्थ गर्दै विद्यावारिधिको डिग्री प्राप्त गर्नमा सफलता पाए । तर डा. इन्दुलको ज्ञानक्षुधा यसपछि पनि मेटिन सकेन । अनि उनीभित्र पिएचडी गर्ने भोक जागेर आयो । त्यो पनि सकेपछि कानुनको शिक्षा ग्रहण गर्ने र कानुन शास्त्रको अध्यायनगरी अधिवक्ताको रूपमा आफ्नो नाम अधिवक्ताको सदस्यता हासिल गर्नमा पनि सफल भए । यसको अतिरिक्त उनी योग तथा प्राकृतिक चिकित्सक र रेकी मास्टरको क्षेत्रमा पनि खुट्टा टेक्न र ख्याति अर्जन गर्नमा सफल भए । उनको यस बहुआयामिक व्यक्तित्व र प्रतिभाको विकासको पछाडि उनकी स्वर्गीय धर्मपत्नी सावित्री के. सी. राणाको अवश्य पनि अमूल्य योगदान रहेको हुनु पर्दछ भनेमा अतिशयोक्ति नहोला ।
२.अब कृतिको सम्बन्धमा
गगनमण्डका ताराहरू – शब्दयात्रा प्रकाशन, अक्षरधाम, बनेपा–६ द्वारा प्रकाशित यो कृति, लेखककै शब्दमा एउटा समीक्षा सङ्ग्रह हो, जसमा विभिन्न शिर्षकअन्तर्गत उनका १८ वटा लेखहरू समाविष्ट छन् । प्रारम्भमा लेखकीय र प्रकाशकीय स्तम्भ भेटिन्छन् तर गगनमण्डलको पहिलो ताराको रूपमा देखा पर्दछ –‘रास भजन एक परिचर्चा’ । पुस्तकमा समविष्ट अन्य ७ वटा लेखहरू पनि यसै खालका भजनमाला र भक्मिालाजस्ता धार्मिक पुस्तकहरूको समीक्षासित सम्बन्धित छन् । गगनमण्डलका ताराहरू नियाल्दै जाने क्रममा यस पाठकको नजर संस्कृत भाषाका विद्वान जयदेव एवम् उनीद्वारा संस्कृत भाषामा रचिएको महत्वपूर्ण कृति गीत गोविन्द भन्ने गीति काव्यको समीक्षामाथि एक छिनको लागि ठक्क अड्यो । किनभने यस गीति काव्यलाई संस्कृत साहित्यमा उच्चतम स्थान प्राप्त छ । लेखकले गीत गोविन्दको विशेषताको वर्णन गर्दै लेखेका पनि छन् – ‘जीवनमा शृङ्गार रसको पान गर्ने नैसर्गिक अधिकारलाई ईश्वरीय तत्वसित जोडेर लेख्ने हजारौं वर्ष अघिका कवि जयदेव हुन् । सम्भोग र विप्रलम्भ शृङ्गारको यो भजन अत्यन्त मनमोहक शब्द सजावटले भरिएको एउटा अतुलनीय कृति मानिन्छ । कसैले ईश्वरीय भावनामा तन्मयता जगाउने शक्ति यस कृतिमा छ भन्दछन् । कसैले प्रकृति र पुरुषको सम्बन्धलाई नारी र पुरुषको तादात्मयता भएको मान्दछन । कसैले भावनाको लीला वैचित्रयको रसमय आस्वासदन दिलाउने भन्दछन् ।’ यस्तो महत्वपूर्ण कृतिको समीक्षाको पाठ गरेपछि नजर अर्को तारातिर पर्न थाल्यो । यस क्रममा नजर विश्का प्रथम सफल सगरमाथा आरोही एडमण्ड हिलारीसित लेखकको भेट र अङ्कमालको वृत्तान्त माथि प¥यो । दुवैजनाका यस भेटको चर्चा लेखकले जति चाखलाग्दो तरिकाबाट गरे अङकमाल पनि त्यति नै न्यानो किसिमले भएको अनुभव पाठकवर्गलाई गराउन सफल भएका छन् ।
गगनमण्डलका यी १७ ताराहरूमध्ये कुनै अत्यन्त टहकिला र आकर्षक खालका छन् त कुनैले गगनमण्डललाई आफ्नोे आभाद्वारा सुशोभित गरेका भेटिन्छन् । संक्षेपमा भन्नु पर्दा ८९ पानाको यो पुस्तक पठनीय छ, किनभने यसका ताराहरूबाट अनेक किसिमका आभा प्रकट भइरहेका छन् । यसको अतिरिक्त पुस्तकमा समाविष्ट परिवारको तस्बिर, वंशावलीको बेहोरा र लेखक स्वयम्को जीवनी विवरणले एकातिर लेखकको पूर्ण परिचय तथा उपलब्धिको बेहोरा प्रस्तुत गर्दछ भने अर्कोतिर उनको बहुआयामिक व्यक्तित्वको झलक पनि प्रदान गर्दछ । ८४ वर्षको उमेरमा पनि युुवासरह सक्रिय र समाज सेवा एवम् साहित्य साधनामा लीन रहँदै जीवन बिताइरहेका डा. इन्दुल के. सी. पाठकवर्गलाई आफ्नो लेखनीबाट कहिले शब्दसागरको मोतीबाट अवगत गराउन अग्रसर हुन्छन् त कहिले गगनमण्डलका ताराहरू देखाउन अघाडि सर्दछन् । यो लेख्दै गर्दा अब बुढेसालका यी युवा लेखक इन्दुल के. सी. को अर्को कृतिको शिर्षक र सामग्री पो कस्तो हुने हो भन्ने जिज्ञासा उत्पन्न हुन थालेको छ ।
३. मेरो शुभेच्छा
उनको यो लेखनयात्रा निष्कण्टक रहोस् र २०८२ साल आश्विन ११ गते प्रकाशित भएको यस कृतिलाई पछि पार्दै २०८३ सालमा पनि उनको कलमबाट निस्केको अर्को कृति पाठक वर्गले हेर्न पाउन् भन्ने मंगलकामनाका साथ आफ्ना शब्दहरूलाई यहीँ बिट मार्दछु ।
बालुवाटार, काठमाडौं ।
०००
