ट्रक व्यवसायी संघ भक्तपुरको साधारणसभाः पुराना गाडी मर्मतभन्दा नयाँ पाटपूर्जा आयात आवश्यक
मंसिर ५, २०८२, शुक्रबार | साँझ ०६:०० बजे | 175
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले देशमा विद्यमान परिवहन प्रणालीलाई दिगो र प्रभावकारी बनाउन पुराना सवारी साधनको मर्मतमा मात्र निर्भर नहुन सुझाव दिएनुभएको छ । ट्रक व्यवसायीसंघ भक्तपुरको २६औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उहाँले आधुनिक प्रविधिसँग मेल खाने, सुरक्षित र वातावरणमैत्री यातायातका लागि आवश्यक पाटपूर्जा तथा प्रविधि विदेशबाट आयात गर्नुपर्नेमा जोड दिनुभयो ।
सचिव सुवालले विद्युतीय सवारी साधन तथा विद्युतीय ऊर्जामा आधारित यातायात प्रणालीतर्फ सरकार र निजी क्षेत्र दुवैले ध्यान दिनुपर्ने उल्लेख गर्दै यस्तो परिवर्तनले इन्धन खर्च घटाउने, प्रदूषण कम गर्ने र दीर्घकालीन रुपमा देशलाई आर्थिक रूपमा फाइदाजनक हुने जिकिर गर्नुभयो ।
कार्यक्रममा बोल्दै उहाँले सत्ता सञ्चालनमा सहभागी दलका सांसद तथा मन्त्रीहरूको अव्यवस्थित गतिविधिका कारण काठमाडौं उपत्यकामा यातायात चाप दिनानुदिन बढ्दै गएको दाबी गर्नुभयो । जनताको सहज यातायात व्यवस्थापन र सेवाको गुणस्तर वृद्धि गर्न नीतिगत सुधार अनिवार्य भएको उहाँको भनाइ थियो । उहाँका अनुसार नीतिगत समन्वयको कमी तथा व्यवस्थापनमा देखिएको कमजोरीले यातायात समस्या झनै गम्भीर बन्दै गएको छ।
ट्रक व्यवसायीसंघ भक्तपुरद्वारा आयोजित साधारणसभामा ढुवानी व्यवसायसँग सम्बन्धित चुनौती, विद्यमान संरचना, आगामी नीतिगत आवश्यकताहरू र व्यवसायीहरूको समस्या समाधानका विषयमा व्यापक छलफल गरिएको थियो । कार्यक्रमले स्थानीय ढुवानी क्षेत्रको सुधार तथा आधुनिकीकरणका लागि आवश्यक दिशानिर्देश तय गर्ने अपेक्षा गरिएको छ ।
कार्यक्रम संघका अध्यक्ष लक्ष्मीप्रसाद गोराको सभापतित्वमा भएको थियो । कार्यक्रममा भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशी, नेपाल इटा उद्योग महासंघका केन्द्रिय अध्यक्ष केपी अवाललगायतले बोल्नुभएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...
