नवपुस्ताउन्मुख अर्गानिक खेतीः यसरी गरौँ विषादीबिना बोेटबिरुवाको संरक्षण र खेतीपाती


कार्तिक २८, २०८२, शुक्रबार | राति ०७:२५ बजे | 835


नवपुस्ताउन्मुख अर्गानिक खेतीः यसरी गरौँ विषादीबिना बोेटबिरुवाको संरक्षण र खेतीपाती

राम गुप्त, कृषिविद्
हिजोआज खेतीपातीमा रोगकीराको समस्या बढ्दै गएको छ । नेपालका दूरदराजका किसानसामु मात्र नयाँ कृषि ज्ञान र प्रविधि पुग्न नसकेको होइन, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेजस्ता राजधानी एवम् राजधानीनजिक रहेका ठाउँमा पनि अधिकांश कृषकमा प्राविधिक ज्ञानको कमी छ । आफैँ खेती गर्दै अनुभव गर्दै जानेका कुरा धेरै भए पनि पछिल्लो समयमा देखा परेका अनेक चुनौतीहरूसँग जुध्न अब नयाँ प्रविधि र तौरतरिका जान्नु अति आवश्यक छ । 
हिजोआज करेसाबारी, आँगन, कौसी वा बरण्डा, छत तथा अन्य खाली रहेका ठाउँमा तरकारी, फलफूल तथा अन्य श्रृंगारिक बोटबिरुवाहरू रोप्ने चलन बढ्दै गएकोले शहरमा बस्ने सामान्य गृहिणीले समेत यस्ता प्राविधिक र व्यावहारिक कुरा सिक्नु जरुरी छ । कौसी, बरण्डा, छत, आँगन तथा करेसाबारीको तरकारी तथा फूलका बिरुवाको हेरचाहमा बढी मात्रामा महिला दिदीबहिनीहरू नै संलग्न हुने गरेको पाइएको छ । तसर्थ सबैका लागि उपयोगी हुने गरी मैले यो आलेखमा सरल भाषामा केही व्यावहारिक सल्लाह पस्केको छु । आफू कृषि (वागवानी) क्षेत्रमा करिब पैँतालिस–पचास वर्षदेखि संलग्न रहँदै आएको नाताले मैले यहाँ प्रस्तुत गरेका कुराहरू सैद्धान्तिक र किताबका कुराभन्दा पनि आफ्नो अनुभवका आधारमा लेख्ने प्रयास गरेको हुँ । यहाँहरूले पढेपछि आफ्ना मनका कुरा र अनुभव पनि भन्नुहोला ।
मूल समस्या
हामीले लगाएका बोटबिरुवाहरूमा कहिलेकाहीँ लाही, झुसिलकीरा, पात खाने कीरा आदिका साथै सेतो ढुसी, जरा कुहिने र पात डढ्नेजस्ता विभिन्न खालका रोगकीराहरू देखा पर्छन् । रहरले लगाएका यस्ता बोटबिरुवा नफस्टाउँदा मन दुख्ने गर्छ, तर रोगकीराको नियन्त्रण गर्न सहज र सजिलो उपाय नभेटिने अवस्था आउँछ । तसर्थ, यो सानो टिपोटमा सजिला र विषादी प्रयोगबिना केही रोग र कीराहरूको रोकथाम कसरी गर्ने भन्ने एक दर्जन व्यावहारिक काइदा र उपायहरू उल्लेख गर्न चाहन्छु ।
१२ व्यावहारिक उपायहरू
१. फूल, फलफूल वा तरकारीका बीउ वा विरुवाहरू लगाउनुभन्दा पहिले ती लगाउने ठाउँमा पहिले लगाइएका बोट, झारपात र अन्य रहलपहल केही भए तिनलाई सफा गर्नुपर्छ । माटो तयार गर्न कोकोपिट, कम्पोस्ट÷गड्यौला–मल र पिनाको धुलो प्रयोग गर्नुपर्छ । साथै लगाउने बीउ तथा विरुवा स्वस्थ हुनुपर्छ । सेपिलो ठाउँमा धेरै बाक्लो वा छिप्पिएको बिरुवा लगाउँदा बोट राम्ररी सप्रिँदैन । फूल, तरकारी वा लगाउने अन्य बोटविरुवा छनोट गर्दा ठाउँ र मौसम (सिजन) सुहाउँदो हुनुपर्छ । 
२. बोटबिरुवामा लाग्ने कतिपय कीराहरूलाई (जस्तै पात खाने कीरा) र रोग लागेका पात तथा फलहरूलाई हातले नै टिपेर हटाउन सकिन्छ । बालीलाई नोक्सान पु¥याउने त्यस्ता कीराको संख्या वा रोग लागेको पात वा बोटको संख्या कम भएमा मात्र यो विधि व्यावहारिक हुनसक्छ । हातले टिपेका कीरालाई साबुन–पानी वा मट्टितेलमा राखी मार्नुपर्दछ । त्यस्तै, रोग लागेका पात, हाँगा वा पूरै बोटलाई राम्रोसँग नष्ट गर्नुपर्दछ । 
३. रोग तथा कीरा लाग्नबाट बचाउनका लागि लगाइएका बोटबिरुवाहरूको नियमित निरीक्षण र हेरचाह गर्नुपर्छ । माटोमा चिस्यानको कमी, अनावश्यक झारपात वा रोगकीराको समस्या देखापरेमा पानी लगाउने, झारपात गोड्ने र रोगकीराको समयमै रोकथाम गर्नुपर्छ । यसैगरी आवश्यकताअनुसार मलखाद दिने, टेको लगाउने, काँटछाँट गर्ने, टिप्न तयार भएका फलफूल, साग, तरकारी आदि टिप्नुपर्छ । नियमित हेरचाहले बोटबिरुवालाई ठीक अवस्थामा राखिरहन्छ ।
४. लुगा धुने साबुनको पानीमा पातलो घोल बनाएर हप्तामा २(३ पटक बोटबिरुवामा छर्दा लाही कीरा नियन्त्रण हुन्छ । यसले अरु कीराको पनि रोकथाम गर्न मद्दत गर्छ । 
५. एक लिटर पानीमा ४(५ चिया चम्चा मट्टितेल मिसाएर बोटबिरुवामा छर्दा लाही, झुसिलकिरा तथा पात खाने अन्य कीराहरू नियन्त्रण गर्न सकिन्छ । एक–दुई दिनको फरकमा कीराको अवस्था हेरी २(४ पटकसम्म छर्न सकिन्छ । मट्टितेलमा सुतीकपडा भिजाएर हाँगा वा पातमा टाँंसिएका कीरामाथि हल्का पुछ्दा कीरा छिट्टै मर्छन् । तर ख्याल गर्नुपर्ने कुरा के भने, कलिला हाँगा र फूलमा यसको प्रयोग गर्नु हँुदैन । फलफूल, रुखको हाँगा वा मूलमा कीराले प्वाल पारेर बसेको छ भने पनि नियन्त्रणको लागि मट्टितेलको प्रयोग गर्न सकिन्छ । सिरिन्ज वा अन्य साधनले प्वालमा मट्टितेल राख्दा भित्र भएको कीरा मर्छ । साना र कलिला बोटमा कीराले प्वाल पारेको ठाउँमा मट्टितेलको मात्रा धेरै भयो भने नकारात्मक असर पर्न सक्छ । यस्तोमा कमभन्दा कम प्रयोग गर्नुपर्छ । बोटबिरुवामा मट्टितेल छर्कनका लागि बजार (एग्रोभेट तथा नर्सरी पसल) मा सानो स्प्रेयर किन्न पाइन्छ ।
६. पहेँलो स्टिकर टाँसेर पनि केही कीरा नियन्त्रण गर्न सकिन्छ । यो कीरा टाँसिन सक्ने लेप लगाएको प्लास्टिकको टुक्रा हो । यसलाई बोटबिरुवा लगाएको क्षेत्रमा प्रष्ट देखिने उज्यालो ठाउँमा टाँस्नुपर्छ । उड्ने कीराहरू स्टिकरलाई पहेँलो फूल ठानेर आकर्षित हुन्छन् र छोएपछि स्टिकरमा नै टासिन्छन् । यसले गर्दा हानिकारक कीराहरुको संख्या घट्छ र बोटबिरुवा सुरक्षित हुन्छन् । पहेँलो स्टिकर विभिन्न साइजमा एग्रोभेट र नर्सरी पसलहरूमा किन्न पाइन्छ ।
७. ढुसी वा सो सरहका रोगहरूको रोकथामको लागि सल्फर (गन्धक) धुलो पनि प्रयोग गर्न सकिन्छ । 
८. निमको तेल, निमजन्य अन्य सामग्रीहरू पनि बालीबिरुवा संरक्षणको लागि प्रयोग गर्न सकिन्छ ।
९. साबुन–पानी, मट्टितेल घोल आदि छर्ने (स्प्रे गर्ने) । यसका लागि २(३ लिटरको भाँडो एग्रोभेट वा नर्सरी पसलमा किन्न पाइन्छ ।
१०. फेरोमोन ट्र्याप वा ल्युर ट्र्याप पनि कीरा नियन्त्रणको लागि (बोटबिरुवा अनुसारको) प्रयोग गर्न सकिन्छ ।
११. सौर्य–उपचार (सोलाराइजेसन) विधिबाट पनि रोगकीरा तथा विषाणुहरूको समस्या केही हदसम्म नियन्त्रण गर्न सकिन्छ । यसका लागि गमला वा बोटबिरुवा लगाउने ठाउँलाई प्लास्टिकले छोपेर घाम अर्थात् ‘सौर्य उपचार’मा एक हप्ताजति राखे माटोमा भएका हानिकारक विषाणुहरू नष्ट हुन्छन् ।
१२. अहिले हामी बस्ने काठमाडौंको ग्रिनहिल सिटी समाज (जसले ‘ग्रिनहिल सौगात’ पनि प्रकाशन गर्दछ) को अनुभव अनुसार कुनै व्यक्ति वा नर्सरीसँग नियमित सम्पर्क गरी बोटबिरुवालाई हानि पु¥याउने रोग–कीराको नियन्त्रण गर्ने भरपर्दो स्थायी सेवा लिनु राम्रो हुन्छ । आफैँ विचार गर्नुस् त तपाईंले अहिलेसम्म त्यस्तो प्राविधिक व्यक्ति वा संस्था कसलाई सम्पर्क गर्ने गर्नुहुन्छ ? अबदेखि त्यस्तो व्यक्ति वा संस्थाको सम्पकमा आऊँ । साथै, लामो समय खेती गरिरहेका दाजुभाइ तथा दिदीबहिनीहरूसँग पनि आपसी अनुभव बाँडौं, काम लाग्छ । काम गर्दै सिक्दै गर्दा नै व्यावहारिक अनुभव बढ्दै जाने हो । तर यस्तो अनुभव बाँड्न सबैजना तयार भने हुनुपर्छ । यस्तो अनुभवले सबैलाई लाभ पु¥याउँछ । ’ज्ञान जति बाँड्यो उति बढ्दै जान्छ‘ भन्ने हाम्रा बाबुबाजेले भन्ने गरेको कुरा एकदम ठीक हो । धन्यवाद । 
बीरगञ्ज, पर्सा, हालः ग्रिनहिल सिटी आवास, मूलपानी, काठमाडौँ
 

Comments