भक्तपुरमा नापतौल डोर कार्यक्रम सुरु 


कार्तिक २७, २०८२, बिहीबार | साँझ ०५:०२ बजे | 90


भक्तपुरमा नापतौल डोर कार्यक्रम सुरु 

भक्तपुर । भक्तपुर जिल्लाका उद्योगी, व्यवसायी तथा व्यापारीहरुले प्रयोग गर्दै आएको नापतौलका सामग्रीहरुको नयाँ दर्ता तथा नवीकरणका लागि जिल्लामा बिहीबारदेखि नापतौल डोर कार्यक्रम सुरु भएको छ । 
भक्तपुर उद्योग वाणिज्य संघको पहल एवं गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरको सहयोग तथा जिल्लास्थित नगरपालिका कार्यालयहरुसँगको सहकार्यमा नापतौल डोर कार्यक्रम सुरु भएको हो । जिल्लाका ६ स्थानमा नापतौल डोर कार्यालय राखेर गुणस्तर तथा नापतौल कार्यालय त्रिपुरेश्वरबाट खटिएको कर्मचारीहरुको टोलीले सेवा दिने संघले जनाएको छ । 
मध्यपुर थिमी नगरपालिकाको सहकार्यमा पहिलो दिन २७ गते बिहीबार मध्यपुर थिमी नगरपालिकाको कौशलटारस्थित ३ नं. वडा कार्यालय परिसरमा डोर कार्यालय राखेर सञ्चालन गरिएको डोर कार्यक्रममा स्थानीय व्यवसायी, व्यापारीहरुले उत्साहपूर्वक आआफ्ना नापतौलका सामग्रीहरु दर्ता तथा नवीकरण गराएको संघका महासचिव नविन प्रजापतिले जानकारी दिए । 
संघका कोषाध्यक्ष एवं बजार अनुगमन उपसमितिका संयोजक विश्वराम दुवालका अनुसार २८ गते शुक्रबार नयाँठिमीस्थित यचु पार्टी प्यालेसमा र ३० गते आइतबार मिलरोडस्थित ग्ल्याडस्टोन एकेडेमी परिसरमा डोर कार्यालय रहने छ । यसैगरी, सूर्यविनायक नगरपालिकासँग सहकार्य गरी मंसिर १ गते सोमबार र भक्तपुर नगरपालिकासँग सहकार्य गरी मंसिर २ गते मंगलबार र ३ गते बुधबार नापतौलका सामग्रीहरुको नयाँ दर्ता तथा नवीकरण सेवा प्रदान गरिने छ । 
जिल्लाका उद्योगी, व्यवसायी तथा व्यापारीहरुलाई आफूहरुले प्रयोग गर्दै आएका नापतौलका सामग्रीहरु नवीकरण तथा नयाँ दर्ताका लागि काठमाडौं पुग्नुपर्ने भएकाले उनीहरुकै अनुरोधमा जिल्लामै उक्त सुविधा उपलब्ध गराउन भक्तपुर उद्योग वाणिज्य संघले पहल गरेको संघकी अध्यक्ष रोशनीमैयाँ धौबन्जाले बताइन् । विगतका वर्षहरुमा पनि संघको अनुरोधमा गुणस्तर तथा नापतौल कार्यालय त्रिपुरेश्वरबाट जिल्लामा डोर टोली खटाएको र आगामी वर्षहरुमा पनि जिल्लाका विभिन्न स्थानमा डोर कार्यक्रम सञ्चालनलाई निरन्तरता दिन पहल गर्ने उनले जानकारी दिइन् । 
भक्तपुर जिल्लाका व्यवसायी, व्यापारीहरुले प्रयोग गरेका नापतौलका सामग्रीहरुको नियमानुसार जाँच गरी नयाँ दर्ता तथा नवीकरण गरिदिएको गुणस्तर तथा नापतौल कार्यालय, त्रिपुरेश्वरंबाट खटिएको टोली प्रमुख पवन चन्दले बताए । 
 

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुरमा नापतौल डोर कार्यक्रम सुरु 

Comments