हाकिम होस् त यस्तो होस्
कार्तिक २६, २०८२, बुधबार | साँझ ०४:४९ बजे | 450
भोजराज रेग्मी
मेरो जागिरे जीवनको सम्बन्धमा
इन्दुल के.सी. भन्ने बित्तिकै झण्डै चालीस÷बयालीस वर्ष अगाडिको पूर्वस्मृतिमा म डुबुल्की लगाउन पुग्छु । उच्च शिक्षा अध्ययन र राम्रो अवसर तथा रोजगारीको खोजीका लागि काठमाडौ खाल्डोमा छिरेको पनि केही महिना भैसकेको हुन्छ । म अरुको साहरा खोज्दै काठमाडौ आएको हुन्छु भने मेरो साहारा खोज्दै अरु पनि यहाँ आइरहनु भएको थियो । यही क्रममा मेरा एकजना भाइ नगेन्द्रराज रेग्मीको डेरामा मिसिनका लागि खोटाङदेखि म पनि काठमाडौ आइपुगेको थिएँ ।
समयक्रममा आदरणीय परशु प्रधानज्यूको सिफारिसमा उहाँकै अनन्य मित्र इन्दुल के.सीज्यूलाई भनेर मलाई घरेलु तथा ग्रामीण उद्योग विभाग त्रिपुरेश्वरमा अस्थायी खरिदारको पदमा नियुक्त लिन सफल भएँ । यसरी अस्थायी नै भए पनि एकाएक मिलेको जागीरले मलाई निकै खुसी दिलायो । यसले गर्दा मलाई अध्ययनको भरिलो आधार फेला परेको महसुस हुन्छ । काठमाडौको नयाँ परिवेशसंग त्यो मेरो प्रथम साक्षात्कार थियो । नयाँ जागीरमा घुलमिल हुँदै कार्यालयको काम कसरी गर्ने होला ? कस्ता हाकिम पर्ने होला भनेजस्तो मेरो मनमा अनेकौं जिज्ञासाहरू पलाउँदै थिए । अन्ततः मेरो हाकिम पनि इन्दुल के.सी. नै पर्नु भयो ।
उहाँले मलाई आफ्नै पि.ए बनाएर राख्नु भयो । सायद परशु प्रधानको मानिस भएको नाताले मन पराउनु भएको थियो कि ? त्यो कुरा मैले अहिलेसम्म पनि बुझ्न सकेको छैन । त्यतिखेरको मेरो काम भनेको हाकिमलाई भेट्न आउने मानिसलाई भित्र पठाइदिनु, फोन रिसिभ गरेर हाकिमलाई दिनु नै थियो । दुई चार दिनमै म आफ्नो काममा अभ्यस्त भएँ । सँधैभरी अफिसमा काम नपर्ने भएकाले वरपर अथवा कहिले गाउँघरतिरबाट आएका मानिसहरूलाई पशुपतिनाथ, गुहेश्वरी, बालाजु अथवा बाहिरफेरो घुम्न र घुमाउन थालेँ । कार्यालयमा बस्दा काम नभएको समयमा चुप लागेर बस्ने मेरो स्वभाव नभएको हुँदा कहिले वल्लो कोठा कहिले पल्लो कोठामा गएर साथीभाइहरूसँग गफ गरिन्थ्यो । त्यही समयमा फोनको घन्टी बजिरहने गर्न थालेछ । बाहिर आफ्नो पिएले फोन नउठाएपछि हाकिम आफैले फोन उठाउन थाल्नु भएछ । जुन फोन आउँदा पनि ‘त्यहाँ भोजराजजीलाई पाउन भन्दा रहेछन् ।’ किनकि छोटो समयमै मैले निकै साथीहरू बनाइसकेको थिएँ । त्यतिखेर अहिलेजस्तो मोवाइलको चलन नै थिएन । आफ्नो कोठामा फोन राख्ने हैसियत हाम्रो कहाँ हुनु ? अनि त आफ्नो सम्पर्क सूत्र पनि अफिसको फोन नै हुने भयो । एकदिन इन्दुल सरलाई पनि झोँक चलेछ— ‘हैन ए भोजराजजी ! मेरो पि.ए. तपाई हो कि तपाईको पि.ए. म हुँ ? जतिखेर पनि तपाईको फोन मैले उठाएर तपाईलाई बोलाउँदै हिड्नु पर्ने ? कार्यालयलाई अलि बढी समय दिनुहोस् । जो पनि तपाईलाई मात्र खोज्छन् फेरि तपाई फोन पनि नउठाउने ? अनि मैले तपाईलाई खबर गरेर फोन उठाउन भन्नु पर्ने ?’ उहाँ एककिसिमले रिसाउनु नै भएको थियो ।
डा. इन्दुल केसीको स्वभाव र व्यवहार
सम्भवतः उहाँ रिसाएको मैले मेरो कार्यकालभरि त्यही नै प्रथम र अन्तिम पनि थियो । तर त्यो रिसाई ज्यादै सान्दर्भिक, सही र जायज थियो । मैले त्यसलाई कुनै नराम्रो रुपमा लिइनँ । बरु मलाई मायाले, स्नेहले उपदेश दिएको रुपमा मैले अहिलेसम्म पनि ग्रहण गरिरहेको छु । मेरो उहाँसँगको अर्काे पनि यादगार सन्दर्भ छ । कार्यालयमा आआफ्नो काम विशेषले उहाँलाई भेट्न कतिपय आगन्तुकहरू आइरहन्थे । उनीहरूको कुरा इन्दुल सर ज्यादै गम्भीर भएर सुन्नुहुन्थ्यो । विषयको गाम्भीर्य र त्यसको अन्तर्यसम्म पुग्ने उहाँको स्वभाव थियो । जसले गर्दा त्यो समस्या सही रुपमा हल हुन्थ्यो । यसले सेवाग्राही पनि सन्तुष्ट भएर फर्किन्थे । काम नमिल्ने भए यो यस कारणले मिल्दैन भनेर नियम कानुन समेत देखाएर, सुनाएर सन्तुष्ट पारेर फर्काउने क्षमता उहाँमा थियो । यस्ता अनुकरणीय गुण उहाँमा भएको कुरा मलाई थाहा छ । जसले गर्दा धेरै व्यक्तिहरूले उहाँको कार्य सम्पादन क्षमताको सह्राहना गरेको क्षण अहिले पनि मेरो सम्झनामा ताजा छ । कसैले उहाँको घर कहाँ पर्दछ तपाईलाई थाहा होला बताइदिनु होस् न ? भनेर म पि.ए. भएको नाताले सोध्ने गर्दथे । तर मलाई उहाँको घर भक्तपुर भएको मात्र थाहा थियो । कुन टोल कुन ठाउँ केही पनि थाहा थिएन । उहाँले पनि कसैलाई आफ्नो घरमा आमन्त्रण गर्न उत्प्रेरित गर्नुहुन्नथ्यो । अनावश्यक मोलाहिजा गर्न कतिपय कर्मचारी वा सेवाग्राही हाकिमको घर चहार्ने हुँदा उहाँले त्यसलाई हतोत्साही बनाउन उहाँले आफ्नो ठेगाना नदिनु भएको रहेछ । कुनै पनि काम छ भने उहाँ अफिसमै निप्ट्यारा गर्नुहुन्थ्यो । अहिले जस्तो सेवाग्राहीलाई घरमा बिहान बेलुका बोलाउने भन्दा छुट्टै उहाँको बानीको म प्रशंसक बन्न पुगेको छु । यसले उहाँमा निष्पक्षता, सदाचार र इमान्दारिताको छनक मिल्दछ । सन्दर्भ त यत्ति नै हो तर म जहिले पनि उहाँका घटनाहरू अनुकरणीय भएकोले सम्झिरहन्छु ।
सामान्य रुपमा हाकिम भनेपछि कडा, निर्दयी र आफूभन्दा मुनीका कर्मचारीलाई हैकम चलाउने प्रवृत्तिका हुन्छन् भन्ने एउटा छाप परेको हुन्छ । तर सहृदयी, सादगी, सबैका कुरा सुन्ने, अझ कुरा सुन्ने मात्र होइन के समस्या छ ? पढाइ कस्तो चल्दै छ ? कुनै आर्थिक समस्याले गाँजेको छ छैन ? यसरी एउटा परिवारको अभिभावकले आफ्ना सन्तानका प्रति माया ममता देखाए जसरी उहाँले म प्रति दर्र्साएको अपनत्वले म द्रवित भएँ । हामी जस्ता सामान्य कर्मचारीका अझ विद्यार्थीहरूका समस्या पनि सुनिदिने र त्यसमा के गर्न सकिन्छ सरसहायोग पु¥याउन कटिबद्ध हुने व्यक्तित्वको रुपमा मैले उहाँलाई पाएँ । दुर्गम गाउँ ठाउँबाट आएको म जस्तो विद्यार्थीहरूलाई पठनपाठन गर्नको लागि अत्यन्त प्रेरित गर्ने व्यक्ति त्यो जमानामा कहाँ पाउँनु ? त्यो पनि काठमाडौको ठाउँमा ! यस्तो विनम्र हाकिम ! म सोच्दथेँ यस्तो व्यक्ति सँधैभरी मेरो जीवनमा हाकिम भइरहुन् । हुन पन मैले जागीरका क्रममा धेरै हाकिमहरूसँग सहकार्य गर्ने अवसर प्राप्त गरेँ । तर इन्दुल सरसँग तुलना गर्ने निकै कम मात्रमा पाएको अनुभव मसँग छ । उहाँले मलाई जागीरे जीवनका प्रशासनिक कामहरू मात्र सिकाउनु भएन, व्यवहारिक र पारिवारिक स्नेहाशक्ति प्रदान गर्नु भयो । इन्दुल सरसँग त्यसपछि अहिलेसम्म मेरो भेटघाटको सुअवसर मिलेको छैन । तर कर्मका आधारले म उहाँसँग सँधैभरी सँगै छु भन्ने अनुभूति हुने गर्छ । यसरी अक्षरको माध्यामले भए पनि साक्षात्कार गर्ने अवसर प्राप्त भयो यसलाई म गौरवका रुपमा लिन्छु । यसका लागि म नगेन्द्रलाई धन्यवाद दिन्छु किनकि डा. इन्दुल केसीज्यूको संस्मरण अङ्क निस्कदैछ भन्ने कुराको जानकारी दिएर मलाई उनै भाइले धन्य बनाए । अन्त्यमा डा. इन्दुल के.सी.ज्यूको सुस्वास्थ्य र दीर्घजीवनको कामना गर्दछु । अस्तु ।।
दिप्रुङ चुइचुम्मा गाउँपालिका— ४ मासर्,े खोटाङ
हाल ः बिराटनगर, मोरङ
०००
