जिल्लास्तरीय वक्तृता प्रतियोगितामा ग्लाड्स्टोनकी ईच्छा श्रेष्ठ पहिलो 


कार्तिक २३, २०८२, आइतबार | साँझ ०५:५३ बजे | 85


जिल्लास्तरीय वक्तृता प्रतियोगितामा ग्लाड्स्टोनकी ईच्छा श्रेष्ठ पहिलो 

सागर गुरागाईं
मध्यपुर थिमि – भक्तपुर जिल्लास्तरीय वक्तृता (वक्तृत्वकला) प्रतियोगितामा मध्यपुर थिमि मिलरोडस्थित ग्लाड्स्टोन एकेडेमीकी छात्रा ईच्छा श्रेष्ठ पहिलो भएकी छन् । ठिमी जेसीज् द्धारा आयोजित उक्त प्रतियोगितामा सिद्धार्थ एकेडेमी गठ्ठाघरकी छात्रा श्रेयसी सुवेदी दोस्रो र गोल्डेन सुनगाभा स्कुल दुवाकोटकी छात्रा रश्मी बस्नेतले तेस्रो पुरस्कार प्राप्त गरिन् । त्यसैगरी नवरत्न लाइफ स्कुल दुईपोखरीकी छात्रा प्रनिधि मानन्धरले सान्त्वना पुरस्कार हात पारिन् । असफलता नै सफलताको पहिलो चरण हो भन्ने विषयमा नेपाली र अंग्रेजी भाषामा प्रतियोगीहरुले आआफ्नो तर्क प्रस्तुत गरेका थिए । कमेरोटार स्थित न्यू एभेरेष्ट पार्टी प्यालेसमा भएको उक्त प्रतियोगिताका विजयी विद्यार्थी एवं विद्यालयलाई शिल्ड, पदक र प्रमाणपत्र वितरण गरिएको थियो । अग्रज शिक्षक एवं साहित्यकार जिवनाथ अधिकारी, शिक्षक एवं संचारकर्मी सागर गुरागाईं र ठिमी जेसीज्का पूर्व अध्यक्ष राम सुन्दर श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । ठिमी जेसीज् वर्ष २०२५ की अध्यक्ष प्रजिता श्रेष्ठले ठिमी जेसीज्को स्थापनादेखि हालसम्मको गतिविधि बारे बुदाँगत जानकारी दिदैं विद्यार्थीहरुको व्यक्तित्व एवं नेतृत्व विकासका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गर्न ठिमी जेसीज् निरन्तर क्रियाशील रहेको बताउनु भयो । कार्यक्रममा ठिमी जेसीज्का महासचिव सन्दिप श्रेष्ठ, उपाध्यक्ष ओसनी दली, कार्यक्रम संयोजक मानिका श्रेष्ठ, उपाध्यक्ष प्रनिल श्रेष्ठ लगायत जेसीआइहरुले कार्यक्रमको उद्देश्य र महत्व सहित आआफ्नो धारणा राख्नु भएको थियो । जिल्लाव्यापी चित्रकला प्रतियोगिता र वक्तृता प्रतियोगिताका सहभागि एवं विजयी विद्यार्थी एवं विद्यालयलाई ठिमी जेसीज्का पूर्व अध्यक्ष जिवन श्रेष्ठ, वर्तमान अध्यक्ष प्रजिता श्रेष्ठ, वक्तृता प्रतियोगिता र चित्रकला प्रतियोगिताका निर्णायकहरुले पुरस्कार एवं प्रमाणपत्र वितरण गर्नुभएको थियो । कार्तिक २२ गते विहान बालकुमारी मन्दिर परिसरमा भएको चित्रकला प्रतियोगितामा साइनि» स्टार स्कुलका निश्चल ढुकुवा पहिलो, ग्लाड्स्टोन एकेडेमी मिलरोडका जेनिश बलमपाकी दोस्रो, एड्भान्स् एकेडेमी बोडेकी स्मृति लामा तेस्रो र मित्रश्री स्कुलका रिजन सुवालले सान्त्वना पुरस्कार जितेका थिए । चित्रकला प्रतियोगिताका निर्णायकद्धय सुन्दर श्रेष्ठ र प्रकाश मानन्धरले चित्रकलाको नियमसहित पुरस्कार एवं प्रमाणपत्र वितरण गर्नुभएको थियो । कार्यक्रममा वक्तृता प्रतियोगिताका निर्णायक जिवनाथ अधिकारीले प्रतियोगिताको नियम सहित कविता सुनाउनु भएको थियो । 

Comments