उवासंघ खैरहनीका पदाधिकारी भक्तपुर उवासंघको अवलोकन भ्रमणमा
कार्तिक २२, २०८२, शनिबार | विहान ०९:२२ बजे | 145
भक्तपुर । उद्योग वाणिज्य संघ खैरहनीका पदाधिकारी एवं कार्यसमिति सदस्यहरुले शुक्रबार भक्तपुर उद्योग वाणिज्य संघको अवलोकन भ्रमण गरेका छन् ।
उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष कुमार खनाल नेतृत्वको टोली भक्तपुर उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमणमा आएको हो । भ्रमणमा आएका उद्योग वाणिज्य संघ खैरहनीका पदाधिकारी एवं कार्यसमिति सदस्यहरुलाई संघमा स्वागतसँगै अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघकी अध्यक्ष रोशनीमैयाँ धौबञ्जाले भक्तपुर उद्योग वाणिज्य संघले जिल्लाका उद्योगी, व्यवसायीहरुको हकहित र संरक्षणका लागि गर्दै आएको कार्यहरुबारे जानकारी गराउँदै अन्तर उद्योग वाणिज्य संघको भ्रमणले दुई संघबीचको सम्बन्ध विस्तारमा थप मद्दत पुग्ने बताइन् ।
उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष खनालले भक्तपुर उद्योग वाणिज्य संघबाट केही सिक्ने र दुई संघबीचको सम्बन्ध बलियो बनाउने उद्देश्यका साथ आफूहरु अध्ययन अवलोकन भ्रमणमा आएको बताए । उनले उद्योग वाणिज्य संघ खैरहनीले त्यस क्षेत्रका उद्योग, व्यवसायको विकासका लागि गर्दै आएको गतिविधिहरुबारे जानकारी गराउँदै देशमै पहिलो आईएसओ प्राप्त उद्योग वाणिज्य संघको रुपमा रहेको भक्तपुर उद्योग वाणिज्य संघको भ्रमण गर्न पाउँदा खुसी लागेको बताए ।
भक्तपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कृष्णमुरारी न्यौपानेले उद्योगी, व्यवसायीहरुबीच समय समयमा भेटघाट तथा उद्योग व्यवसायको विकासका लागि समसामयिक छलफल भइरहनुपर्नेमा जोड दिए । उनले उद्यमी, व्यवसायीहरुबीच सहकार्य र एकताको आजको प्रमुख आवश्यकता रहेको भन्दै जिल्लाको आर्थिक विकाससँगै भक्तपुर उद्योग वाणिज्य संघले सामाजिक उत्तरदायित्व अन्तर्गत गरिरहेका विविध कार्यहरुबारे जानकारी गराए ।
भक्तपुर उद्योग वाणिज्य संघका महासचिव नविन प्रजापतिलगायतले संघको इतिहास र संघका गतिविधिहरुबारे जानकारी गराए । सो अवसरमा भक्तपुर उद्योग वाणिज्य संघकी अध्यक्ष धौबन्जाले उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष खनाललाई मायाको चिनोस्वरुप मयुर झ्याल प्रदान गरिन् ।
