१४३ औँ चक्रपाणि जन्मजयन्ती मनाए


कार्तिक २१, २०८२, शुक्रबार | विहान ०८:४८ बजे | 145


१४३ औँ चक्रपाणि जन्मजयन्ती मनाए

चक्रपाणि स्मारक प्रतिष्ठानले १४३ औँ चक्रपाणि जन्मजयन्ती मनाएको छ । सोही अवसरमा सूनपा, वडा नं ५, कटुञ्जेस्थित चक्रपाणि समारकस्थलमा आयोजित एक कार्यक्रमबीच प्राडा दयाराम श्रेष्ठलाई रु. २० हजार राशिसहितको चक्रपाणि स्मरण पुरस्कारद्वारा समान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ निबन्धकार एवम् प्रशिद्ध साहित्यिक पत्रकार रोचक घिमिरेले सम्मानित श्रेष्ठ इमानदार अध्ययता, शिल्पी लेखक, जिम्मेवार प्राध्यापक, निडर समालोचक र मिहिनेती अनुसन्धाता भएको बताए । उनले चक्रपाणिको जीवनवृत्तिको चर्चा गर्दै त्यस्ता शिखर व्यक्तित्व चक्रपाणिको नाममा स्थापित पुरस्कार पाउनु भनेको त्यागको प्रतिफल भएको बताउँदै बधाइ दिए । चक्रपाणि स्मरण पुरस्कारद्वारा विभूषित हुन पाउँदा आफ्नो लगन र कर्मको फल प्राप्त भएको जिकिर गरे । सम्मानित व्यक्तित्व प्राडा दयाराम श्रेष्ठले चालिसे भाषा, व्याकरण, पद्य र गद्य शिल्पी भएको बताउँदै उनकोको संक्षिप्त भारत, संक्षिप्त रामायणलगायत दर्जनौँ कृति अध्ययन गर्दा उनको लेखकीय शक्तिको तेजले आफू प्रभावित भएको र तिनै व्यक्तित्वका नाममा स्थापित आफू सम्मानित हुन पाउँदा आफू गौरवन्वित भएको अनूभूति व्यक्त गरे । सम्मानित व्यक्तित्व श्रेष्ठका जीवनवृत्ति, व्यक्तित्व, कृतित्व र योगदानका बारेमा डा. बालाकृष्ण अधिकारीले चर्चा गरेका थिए । त्यस्तै वाङ्ममयको श्रीवृद्धिमा टेवा पुर्‍याउने साहित्य साधकलाई प्रदान गरिने गोमाश्री वाङ्मय पुरस्कार - २०८२ साहित्यसाधक सामशरण न्यौपानेलाई प्रदान गरिएको छ । उनलाई ३ दशकभन्दा बढी समय साहित्यलेखन, प्रकाशनका साथै सम्पादन र प्रचारप्रसारमा अनवरत सेवामा समर्पित गरेको मूल्याङ्कन गर्दै सो पुरस्कार प्रदान गरिएको हो । उनको साहित्यिक योगदान, कृतित्व र सेवाका बारेमा डा. शैलेन्दुप्रकाश नेपालले चर्चा गर्नुभएको थियो । सोही कार्यक्रममा कवि, सञ्चारकर्मी एवम् चक्रपाणि स्मारक प्रतिष्ठानका सदस्य सचिव रामगोपाल आशुतोषद्वारा सम्पादित 'चक्रपाणि' साहित्य वार्षिक, निबन्ध विशेषाङ्क लोकार्पण गरिएको छ । सो विशेषाङ्कमाथि डा. यादेवी अधिकारी र कवि एवम् कथाकार लक्ष्मी थापाले समीक्षा गरेका थिए । सो विशेषाङ्कमा वि.सं. १९९४ देखि २०५४ सालमा जन्मेका निबन्धकारहरूका २८ निबन्ध सङ्ग्रहित रहेको कार्यकारी सम्पादक आशुतोषले बताए । उनले ७७ दिनको अथक प्रयासपछि सो विशेषाङ्क प्रकाशित भएको बताउँदै आदर्श, दर्शन, आख्यान, पहिचान, पर्यावरण, स्मृति, यात्रा, भ्रमण, मृत्युचिन्तन, प्रविधिमा आएको नयाँ क्रान्ति आदिका विषयबस्तु प्रमुखरूपमा निबन्धका विषय बनेको जिकिर गर्दै नेपाली वाङ्ममयमा टेवा पुर्याउने दावी गरे । त्यस्तै साहित्यसेवा एवम् चक्रपाणि स्मारक प्रतिष्ठानका संस्थापक उपाध्यक्ष बैजनाथ चालिसे र उनकी धर्मपत्नीको नाममा स्थापित बैजनाथ - सुशिला प्रोत्साहन पुरस्कार- २०८२ द्वारा सूनपाका दुई विद्यालयका दुई विद्यार्थी पुरस्कृत भए । रु. ५०००/- राशिसहितको सो पुरस्कार प्रत्येक वर्ष नेपाली विषयमा सर्वाधिक अङ्क ल्याउने एक छात्र र एक छात्रालाई प्रदान गरिन्छ। सो कार्यक्रममा कवि विजय लुइटेल, राजु झल्लु प्रसाद, रजनी मिला, प्रजेश खड्का, शोभा सरभ, वसन्त नकर्मी, रहेना नकर्मी मानन्धर, मञ्जु सिंह, पदम दाहाललगायत विभिन्न विद्यालयका छात्रछात्राहरूले आफ्ना शक्तिशाली कविता सुनाएका थिए । कवितावाचन गर्ने विभिन्न विद्यालयका १८ विद्यार्थीमध्ये एक उत्कृष्ट कविताका कविलाई रु. ५००/- सय प्रोत्साहन पुरस्कार ॐ ज्ञान मन्दिर स्कुल, लोहकिल्थलीकी छात्रा निकीता बुढाथोकीले प्राप्त गरिन् । प्रतिष्ठानका अध्यक्ष एवम् सो कार्यक्रमका सभाध्यक्ष राममणि ढुङ्गेलले कार्यक्रमको महत्व, सौन्दर्य र वर्तमान समयका लागि चक्रपाणि स्मारक प्रतिष्ठानले गर्दै आएको साहित्यिक गतिविधिमाथि प्रकाश पारे । कार्यक्रमको कविता वाचन कार्यक्रम सोही प्रतिष्ठानकी सदस्य कञ्चन जिआर मगरले सञ्चालन गरेकी थिइन् । कार्यक्रमका अन्त्यमा सदस्य सचिव एवम् सञ्चारकर्मी आशुतोषले भक्तपुरमा साहित्यिक पर्यटनको अभ्यासमा आफू लागिपरेको भन्दै सो अभ्यासलाई अभियानमा बदल्न पत्रकार, महासङ्घ, अनलाइन, ब्रडशिट र इलोक्ट्रोनिक मिडियाको सहभागिता र सहयोग कम नगर्न अनुरोध गरे ।

Comments