जेन्जी विद्रोह, विदेशी प्रभाव र देशका युवाको भूमिका
कार्तिक १९, २०८२, बुधबार | राति ०८:५८ बजे | 250
आर.के.विद्रोही
नेपाल अहिले एक जटिल मोडमा उभिएको छ । एकातिर नयाँ पुस्ता जेन्जी (जेनेरेसन–जेड) असमानता, बेरोजगारी, भ्रष्टाचार र नातावादविरुद्ध स्वर उठाइरहेछ; अर्कोतिर विदेशी शक्तिले त्यस विद्रोहलाई आफ्नो स्वार्थमा प्रयोग गरिरहेका छन् । सामाजिक सञ्जालमा फैलिएको राष्ट्रिय÷अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरु जस्तै हामी नेपाल, फाउन्डेसन बारबरा, लगायत दलाई लामाको फ्रि तिब्बतवाला संघ संस्था र व्यक्तिहरुको प्रचारले युवाहरूको यथार्थ चेतनालाई कमजोर पार्दै देशभक्तिभन्दा बढी असन्तुष्टि र अविश्वासको बीउ रोपिरहेको छ । यसले युवाहरुको बुद्धि भ्रष्टमात्र गरेन विकृति र विसंगति तर्फ प्रोहत्सान गरेको देखिन्छ । त्यसैले जसरी सबै प्रगतिशील साहित्य माक्र्सवादी हुँदैन त्यसैगरी हरेक उपद्रोह माक्र्सवादी आन्दोलन हुन सक्दैनन् । युवा विचराले सुसूचित हुनुपर्ने र एक्काइसौं शताब्दी भनेको सामाजवादी युगमा पर्दापण हुने युग हो र पूँजीवादीले बहुमत जनता(मजदुर, किसान, गरिब र निःसहाय, निमुखा, र शोषण र दमनबाट पिल्सिएका मानिसहरु)को आधारभूत आवश्यकता पूर्ति गर्न नसक्दा र समाज हुने शोषण, दमन र व्दन्दबाट मुक्त गर्न नसक्दा साथै भ्रष्टाचार पूँजीवादको छायाँ जस्तै हुँदा यसको विकल्पमा माक्र्सले कम्युनिष्ट घोषणापत्र प्रकाशित गरी समाजवाद हुँदै साम्यवाद पुग्ने बाटो, अर्थात विचार र सिद्धान्त प्रतिपादन गर्नुभयो । यो नै अहिलेसम्मको नयाँ विचार हो । युवाहरुले एक्काइसौं शताब्दी सुहाउँदो नयाँ विचार बोक्नुपर्छ । भदौ २३ र २४ गतेको नयाँ पुस्ताको उपद्रोहलाई विदेशी शक्ति केन्द्रहरुबाट संचालित भई नेपालको धारोहर सम्पदाहरु नष्ट गरी खर्बौंको जनधनको क्षतिलाई सामाजिक सञ्जालमा फैलिएको भ्रम र प्रचारले युवाहरूको यथार्थ चेतनालाई कमजोर पार्दै देशभक्तिभन्दा बढी असन्तुष्टि र अविश्वासको बीउ रोपिरहेको छ । यो केवल भावनाको लडाइँ होइन — चेतनाको युद्ध हो, जहाँ देश, वर्ग, र विचार तीनवटै दिशाबाट आक्रमण भइरहेको छ । माक्र्सवादले भन्छ — “जसको हातमा उत्पादनका साधन छन्, त्यसकै हातमा विचारको नियन्त्रण हुन्छ ।” नेपालमा उत्पादन, सूचना र शक्ति — यी सबै केही शासक राजनीतिक दलका ठेकेदार र विदेशी अनुदानमा निर्भर वर्गको हातमा छन् । जेन्जी का युवाहरू परिवर्तन खोजिरहेका छन्, तर उनीहरूलाई दिशाहीन बनाउन पूँजीवादी र बाह्य स्वार्थी शक्तिहरूले “आन्दोलन”लाई आफ्नो स्वार्थको औजार बनाई रहेका छन् । त्यसैले यो विद्रोहलाई देशभक्त वर्गीय चेतनामा रूपान्तरण गर्नु आजको पहिलो आवश्यकता हो । नेपाललाई जसरी चीनलाई १९४९ को जनवादी क्रान्ति अगाडि विभिन्न देशहरुले उपनिवेश बनाएको थियो त्यसै गरी नेपाललाई अमेरिका र भारत लगायत विभिन्न देशले नव उपनिवेश वा नव उदारवादमा फसाउने गरी विभिन्न राष्ट्रिय÷अन्तर्राष्ट्रिय गैर सरकारी संस्थामार्फत डलर खेती गरी रहेको कुरा विभिन पत्रपत्रिकामा प्रकाशित समाचारहरुले प्रष्ट देखिन्छ । त्यसैले देश जोगाउने हो भने देशभक्ति भावना जगाउन अति नै आवश्यक देखिन्छ । नयाँ पुस्तालाई देशभक्ति शिक्षा दिन भारतमा सिक्किम कसरी विलय गर्यो ? अंग्रेजले कसरी भारतलाई उपनिवेश बनायो ? यस्तो इतिहासहरु त्यसविरुद्धको आन्दोलन र संघर्ष, चीनलाई विभिन्न देशले उपनिवेशबाट मुक्त गर्न चिनिया क्रान्तिहरु अध्ययन गराउनुपर्ने आवश्यकता देखिन्छ ।
देश जोगाउन वैचारिक आत्मनिर्भरताको हिसाबले युवाले विदेशी दलाल भएर होइन — आफ्नो देशको इतिहास, समाज र जनताको आवश्यकताबाट उत्पन्न वैचारिक दिशा लिनुपर्छ । युवाहरुले शिक्षामा स्वावलम्बन र आलोचनात्मक सोचको विकास गरी विद्यालयदेखि विश्वविद्यालयसम्म राष्ट्रिय चेतना, श्रमको सम्मान, र उत्पादनमुखी सोच पढाइमा जोड दिनुपर्छ । सञ्चार माध्यम मिडिया र डिजिटल साक्षरताबाट सामाजिक सञ्जालमा फैलाइएका भ्रम, विदेशी प्रचार र भ्रामक सूचनाको आलोचनात्मक विश्लेषण गर्न सिकाउनुपर्छ । सांस्कृतिक क्रान्ति मार्फत आफ्नो भाषा, कला, संगीत, र परम्परागत श्रम संस्कृतिलाई “पछाडि परेको” होइन, “आधुनिक नेपाल निर्माणको शक्ति”का रूपमा प्रस्तुत गर्नुपर्छ । युवामा देशभक्ति भावना जगाउन युवालाई केवल दर्शक होइन, निर्माणकर्ता बनाउने र गाउँमा, सहरमा, सहकारी, उद्योग, विद्यालय, खेलकुद, वा स्वच्छता अभियानमा प्रत्यक्ष संलग्न गराउन सक्रिय सहभागितामा जोड दिनुपर्छ । भूपू सेनानी, कवि, श्रमिक नेता, किसान आन्दोलनका नायकहरूको जीवनकथा शिक्षामा जोड्ने — जसले आत्मगौरव र संघर्षप्रेम जगाउन राष्ट्रिय नायकहरूको अध्ययन गराउनुपर्छ । “व्यक्तिगत र दलगत स्वार्थ होइन, देश पहिले” भन्ने साझा राष्ट्रिय अभियान सञ्चालन गर्ने — जसले वैचारिक विभाजनभन्दा माथि एकता बनाउने साझा लक्ष्य निर्माण गर्नुपर्छ । देशभक्त, इमानदार, श्रमिक र सिर्जनशील युवालाई सम्मान र अवसर दिने संस्कार विकास गर्नुपर्छ, न कि चापलुसी र नातावादमा आधारित पुरस्कारहरू यसरी सम्मानको पुनर्परिभाषा गर्न आवश्यक छ ।
नेपालमा खर्बौंको वैदेशिक व्यापारघाटा छ । बेरुजु पनि त्यस्तै छ । त्यसैले देशलाई विदेशी प्रभावबाट मुक्त गर्न आर्थिक स्वाधीनता विकास गरी वैदेशिक ऋण र अनुदानमा निर्भर नीति भन्दा स्वदेशी उत्पादन र श्रममा आधारित अर्थतन्त्र विकास गर्नुपर्छ । नीतिगत पारदर्शिता बनाई सबै अन्तर्राष्ट्रिय सम्झौताहरू जनताको अगाडि खुला गर्नुपर्छ, र संसद वा जनतासँग छलफलबिना स्वीकृति दिनु हुँदैन र जनताबाट अनुमोदित हुनुपर्दछ । त्यस्तै देशभक्ति र जनहित आयोग गठन गरी विदेशनीति, लगानी, र परियोजनाहरू देशभक्ति र जनहितअनुसार छनोट गर्न जनताको आयोग स्थापना गर्न सकिन्छ भने विदेशी मिडिया र सञ्जालको प्रभाव नियन्त्रण गरी विदेशी सञ्जालले नेपाली समाजमा वैचारिक हस्तक्षेप नगरोस् भनेर सूचना आयोग र नागरिक सचेतना सुदृढ गर्नुपर्छ ।
नेपालमा खर्बौंको बेरुजू र अर्बौं असुल गर्नुपर्ने बेरुजु छ । भ्रष्टाचार र बेथिति विरुद्ध युवाले स्थानीय तहदेखि केन्द्रसम्म विकास, बजेट र सार्वजनिक खर्चको डिजिटल ट्र्याकिङ गर्ने अभ्यास सुरु गर्नुपर्छ अर्थता जनअनुगमन आवश्यक छ । नैतिक नेतृत्वको विकास गरी राजनीतिमा प्रवेश गर्ने युवाले पार्टी होइन, देश र जनताको सेवा बाहेक अर्को कुनै स्वार्थ राख्नु हुँदैन साथै जनताको अनुशासन र पारदर्शितालाई पहिलो सिद्धान्त बनाउनुपर्छ । शान्तिपूर्ण तर दृढ जनदबाबद्वारा भ्रष्टहरूलाई कारबाही गराउने — सडकमा होइन, प्रमाण र तर्कसहित कानुनी बाटो अपनाई ठूल्ठूला भष्ट्राचारीहरुलाई मृत्युदण्डको सजाय हुने गरी सार्वजनिक दबाब र आन्दोलन आवश्यक देखिन्छ । सहकार्य र संगठनबाट युवाहरू बीच सहकार्य र श्रम–आधारित संगठन विस्तार — जसले देशभक्त आर्थिक र सामाजिक आन्दोलनको जरो मजबुत बनाउँछ ।
जेन्जीको विद्रोह केवल विद्रोह होइन, संभावनाको जन्म पनि हो । तर त्यो सम्भावना विदेशी स्वार्थ, भ्रामक प्रचार र वर्गीय शोषणमा गुम्न नदिन हामी सबै — विशेषतः युवाले — देशप्रेम, श्रमप्रेम र वैचारिक अनुशासनका साथ अघि बढ्नुपर्छ । साँचो माक्र्सवादले जनताको पक्षमा, देशको आत्मनिर्भरता र न्यायपूर्ण समाजको निर्माणका लागि संघर्षको बाटो देखाउँछ । अब प्रश्न उठ्छ — हामी विदेशीले संचालित सरकार विदेशी दलालबाट शासित हुने कि जनताले चुनेको देश र जनताको हितमा काम गर्ने देशभक्ति सरकारबाट शासित हुने अथवा स्वदेशी विचारका उत्पादक बन्ने ? देश, जनता र भविष्यको रक्षा यही उत्तरमा निर्भर रहन्छ ।
