नीलबाराही क्षेत्र विवादभित्र लुकेको यथार्थ


कार्तिक १९, २०८२, बुधबार | विहान ०७:५५ बजे | 720


नीलबाराही क्षेत्र विवादभित्र लुकेको यथार्थ

राजकुमार सुवाल
भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नं. ९ स्थित नीलबाराही मन्दिर र मन्दिर परिसर अनि मन्दिर परिसरले चर्चेको सार्वजनिक धार्मिक वनक्षेत्र मध्यपुर थिमीको मात्र नभई भक्तपुर जिल्ला कै महत्वपूर्ण धार्मिक तथा प्राकृतिक सम्पदा रहेकोमा विवाद छैन, जुन भक्तपुर जिल्ला मात्र नभई नेपाल मण्डलका सम्पूर्ण क्षेत्रबाट भक्तजन तथा प्रकृतिप्रेमीहरुको आस्था र मायाको केन्द्र पनि हो । तर यस क्षेत्रमा विगत दशक लामो समयदेखि गइरहेको भूक्षयले मन्दिरसम्म जाने ऐतिहासिक साँस्कृतिक परिपथ (जसलाई प्रचलित राष्ट्रिय अन्तर्राष्ट्रिय कानुनले अमूर्त साँस्कृतिक सम्पदा भनि सम्वोधन गरिन्छ) तथा स्वयम मन्दिर परिसर नै धरापमा पर्ने अवस्थामा भूस्खलन भएको अवस्था सबैमा विदितै छ । 
यसै विचमा स्थानीय सरकार मध्यपुर थिमी नगरपालिकाको समन्वयमा नीलबाराही मन्दिर परिसरको भौतिक विकासमा विगत लामो समयदेखि विकास निर्माणको कार्य नभएको पनि होइन । तर मन्दिर परिसरमा गरिएका विविध विकास निर्माणको कार्यमा परम्परागत ज्ञान, शीप तथा दक्षता अनि स्थानीय श्रोत साधनको उपयोगलाई निषेध जसो गरी आधुनिक प्रविधिको उपयोग गरी सिमेन्ट जोडाईको निर्माण कार्यले तिव्रता पाउँदा मन्दिर परिसरमा विशेष गरी सिमेन्ट जोडाईको भूईको ढुँगा विछ्याउने कार्य र सोको बर्षातको पानी निकासको वैज्ञानिक व्यवस्थापनमा कमिकमजोरीका कारण मन्दिर परिसरको भूक्षयले विगत केही बर्ष यता झन तिव्रता पाएको तथ्य हामीबाट ओझेलमा परेको छैन, जसको कारण विगत केही बर्षदेखि मन्दिर परिसरको पश्चिम तर्फको मूल भूक्षेय क्षेत्र जसको सरदर लम्वाई १६० फिट, उचाई १५० फिट तथा आधार पनि करिव १०० फित क्षेत्र भूक्षयबाट अति जोखिम अवस्थामा रहेको तथ्य पनि विदित नै छ, जसलाई मध्यपुर थिमी नगरपालिकाले विगत केही बर्ष देखि बाक्लो मोटो प्लाष्टिकले छोपेर थप क्षय हुनबाट जोगाई राखेको अवस्था पनि हामी सबैलाई विदित नै छ । 
स्थानीय सरकारको तफैबाट वडा कार्यालय तथा मध्यपुर थिमी नगरपालिका समेतले सो भूक्षय भएको अति संवेदनशील क्षेत्रलाई भूक्षेय नियन्त्रण गरि मन्दिर परिसरको प्राचीन सम्पदा तथा सो संग सम्वद्ध मूर्त अमूर्त साँस्कृतिक सम्पदा संरक्षणमा ठोस कदम चालेको नपाएपछि स्थानीयबासीहरु आफै सोको संरक्षणमा स्वतस्फुर्त रुपमा सक्रीय हुन थाले र मध्यपुर थिमी न.पा. को टिगनीका स्थानीय टोलबासी तथा नगदेश लगायतका स्थानीय युवाहरुको अगुवाईमा नेपाल मण्डलका तीन वटै जिल्ला तथा नेपाल मण्डल उपत्यका बाहिरका जिल्लाबाट समेत क्षेत्रिय प्रतिनिधित्व हुने गरि श्री नीलवाराही क्षेत्र संरक्षण सरोकार समितिको प्रादूर्भाव भयो । यहि सरोकार समितिको अगुवाईमा नीलवाराही क्षेत्रमा जोखिमपूर्ण रुपमा रहेको भूक्षयको नियन्त्रण तथा नीलबाराही क्षेत्रको सम्पदा संरक्षणमा स्वतस्फुर्त रुपमा स्थानीय समाजबाट श्रमदानबाट नै भूक्षयको नियन्त्रण तथा नीलबाराही क्षेत्रको सम्पदा संरक्षण गर्ने अठोट लिएर समितिले सहकार्य गर्न शुरु गर्यो । 
सहकार्यको पहिलो प्रयास स्थानीय सरोकारवाला वडा कार्यालय वडा नं. ९ संग पहल कदमी अगाडी बढाउन वडा अध्यक्षसंग छलफल गर्दाका बखत म आफै प्रत्यक्षदर्शी थिएँ । जुन छलफलमा समितिको तर्फबाट भूक्षयको नियन्त्रण तथा नीलबाराही क्षेत्रको सम्पदा संरक्षण कार्यको अभिवाकत्व वडा कार्यालयले लिई वडाअध्यक्षबाट स्थानीय सरकार मध्यपुर थिमी नगरपालिका, स्थानीय समाज तथा सरोकार समितिको समन्वय गर्न अनुरोध गर्दै मध्यपुर थिमी नगरपालिकाले सो भूक्षय नियन्त्रण तथा सम्पदा संरक्षणका लागि के कस्तो कार्यक्रम तय भएको छ सोको जानकारी पाउन अनुरोध गरिंदा वडा अध्यक्षले हालसम्म नगरपालिकाबाट कुनै ठोस कार्यक्रम रहेको जानकारी छैन, नगरपालिकाबाट तत्काल कुनै परियोजना छैन भनि जानकारी दिनु भएको तथापि सरोकार समितिले गरेको भूक्षय नियन्त्रण तथा सम्पदा संरक्षणको प्रयासमा वडा अध्यक्षको पूर्ण साथ र सहयोग रहने वचनवद्धता समेत जाहेर गर्नु भएको थियो । 
त्यस पछि श्री नीलवाराही क्षेत्र संरक्षण सरोकार समितिको जनश्रमदान कार्यक्रमको उद्घोष सहित जनश्रमदानको पहिलो दिनको शुरुवाट भएको दिन देखि सो जनश्रमदान २०८२ सालको दशैं सम्म निरन्तर रुपमा भई नीलबाराही क्षेत्रको मन्दिर परिसरको पश्चिम तर्फको मूल भूक्षेय क्षेत्रसम्म पुग्ने सम्पूर्ण परम्परागत साँस्कृतिक परिपथको ५० हजार भन्दा बढि श्रमदाता भक्तजनहरुको सक्रीय तथा भावपूर्ण सहभागीताबाट प्राकृतिक रुपमा माटो पुनभरण (रिफिल) गरि ठूलो सवारी एउटा पनि जान नमिल्ने गरि भूक्षय भएको अवस्थाबाट सुधार गरि हाल ठूलो सवारी दुईतर्फी ओहोरदोहोर गर्न मिल्ने गरि तयार भैसको तथ्य पनि हामी सबै सामू छर्लंग नै छ । तर स्मरण रहोस यतिञ्जेल स्थानीय निकाय वडा कार्यालय र मध्यपुर थिमी नगरपालिकाबाट भौतिक वा आर्थिक कुनै किसिमको केही पनि सहयोग प्राप्त भएको थिएन । 
बरु यति समयसम्म भूक्षेय गएको साँस्कृतिक परिपथमा माटो पुनभरण गर्न आवश्यक माटो उपलव्ध गराउन चाँगुनारायण नगरपालिका वडा नं. १ को स्थानीयबासीले आफ्नो जग्गाबाट माटो दान गरि उपलव्ध गराउनु भएको थियो, जसको लागि वहाँ चाँगुनारायणबासी सधन्यवादका पात्र हुनुहुन्छ हामी वहाँ प्रति कृतज्ञ छौं । 
अब यहाँहरुलाई जानकारी गराऔं कि जब स्वतःस्फुर्त रुपमा पचासौं हजार श्रमदाताहरुको भौतिक योगदान तथा करिव एक करोड भन्दा बढी नगद तथा सोमा थप आवश्यक भौतिक सहयोग प्राप्त गरि सरोकार समितिको अगुवाईमा श्री नीलबाराही क्षेत्रको साँस्कृतिक परिपथको भूक्षेय नियन्त्रणको लागि प्राकृतिक विधि माटो पुनभरण र सोमा प्राकृतिक घाँस रुख विरुवा रोपेर तत्कालका लागि भूक्षेयको खतरा तरेको अवस्था देखेपछि बज जनश्रमदानको पाईला र प्रयास श्री नीलबाराही मन्दिर परिसरको पश्चिम तर्फको मूल भूक्षय खण्डामा पुग्यो तवः जनश्रमदानको प्रयासलाई स्थानीय राजनैतिक पार्टी पंक्तीबाट फोहोरी खेल खेल्न शुरु भयो र मध्यपुर थिमी नगरपालिका तथा चाँगुनारायण नगरपालिकाको साँथगाँठमा चांगुनारायण न.पा. वडा नं. १ को स्थानीय व्यक्तिको व्यक्तिगत निजी जग्गाको माटो कुनै किसिमको खनिज जन्य उत्खनन नगरि नीलबाराही मन्दिर क्षेत्रको भूक्षेय क्षेत्रमा उपयोग गर्न दान दिएको माटो ल्याउने कार्यमा खटिएको डोजरलाई दिनभरीको कार्य सम्पन्न गरि डोजर थन्काउने क्रममा नियतवस प्रहरी नियन्त्रमा लिएको थियो । सो डोजर नियन्त्रण लिएको आधार कारण गैर कानुनी रुपमा खनिज उत्खनन गर्न लाई अनुमति नलिई डोजर उपयोग गरेको भन्ने बहाना बनाई नियन्त्रणमा लिने प्रहरीले माथिको ओदशले नियन्त्रणमा लिएको हामीलाई अरु केही थाहा छैन भनि गैर जिम्मेबारपूर्ण जवाफ दिएपछि सरोकार समितिको तर्फबाट प्रहरी कार्यालयमा लगातार केही दिन धर्ना बसेको अवस्था समेत विदितै छ । 
यस विचमा जनश्रमदान शुरु गर्दाका बखत स्थानीय सरकारको तर्फबाट केही योजना छैन भनि वडा अध्यक्षले जवाफ दिएकोमा मन्दिर परिसरको पश्चिम तर्फको मूल भूक्षयस्थलमा श्रमदानको कार्य पुगेपछि एकाएक मध्यपुर थिमी नगरपालिकाका पदाधिकारीहरुबाट श्री नीलवाराही मन्दिर परिसरको भूक्षेय नियन्त्रण गर्न ९ करोडको बजेटको विकास निर्माणको कार्यक्रम भएको भनि प्रचार प्रसार गर्न थालियो र २०८२ सालको जेष्ठ महिनामा नै ५ करोडको भूक्षेय नियन्त्रणको आधुनिक सिमेन्टको निर्माण परियोजना ठेकेदारसंग ठेक्का सम्झौता समेत गरेको विषयलाई जनमानसमा ल्याए । 
जवकी यो परियोजनाको आर्थिक एवम् प्राविधिक योजना तयार गर्दै गर्दा भूक्षय नियन्त्रण परियोजना लागु गर्ने स्थानसम्म निर्माण सामग्री लिएर जाने मालवाहक सवारी पुग्न बाटो नै थिएन । सो अवस्थामा निर्माण सामग्री निलवाराहि क्षेत्रको हालको पार्किङ्ग एरियाबाट निर्माणस्थलसम्म करिव ५०० मिटरको दुरिको निर्माण सामग्री ढुवानीको परियोजनागत लागतको मूल्य कति राखेको छ ? भन्ने एउटा प्रश्न र परियोजना निर्माणस्थलमा सिमेन्ट वनोट निर्माण पछि पुनभरण गर्ने माटोको परिमाण अनि सो माटोको निर्माणस्थलसम्मको ढुवानीको परियोजनागत लागतको मूल्य कति राखेको छ ? अथवा मानौं निर्माण सामग्री परियोजना निर्माणस्थलसम्म नै मालवाहक सवारीबाट ढुवानी गरिने परियोजनागत योजना निर्माण कम्पनिको थियो भने सो गर्न निर्माण कम्पनीले ढुवानीका लागि निर्माणस्थलसम्म मालवाहक सवारी गुड्ने बनाउने छुट्याइएको परियोजनागत लागतको मुल्य कति राखेको छ ? यी प्रश्नहरुको उत्तर खोजी गर्ने हो भने विगतमा स्थानीय सरकार मध्यपुर थिमी नगरपालिकाका पदाधिकारी प्रमूख र उपप्रमूखको मौनता तथा अहिले आजको परिस्थितिमा श्री नीलवाराही क्षेत्र संरक्षण सरोकार समितिका सक्रीय साथीहरु नै विविध वहानामा सरोकार समितिको ध्येय, उद्देश्य तथा मर्म विपरितको व्यवहार, आचरण र विचार प्रवाह गरि पछि हट्न खोजि रहनु भएको साथीहरुको अहिलेको अभिव्यक्ति के कति कारणले भएको होला भन्ने विषयमा घोत्लिएको अवस्थामा हामीले सामान्य कारण र परिस्थिति हो भनि चित्त बुझाउने ठाउँ छैन । किन की अवको समयमा कथित परियोजना यथास्थितिमा कार्यान्वयन गर्दा उल्लेखित परियोजनागत लागत कम हुने भई निर्माण कम्पनी ठेकेदारले प्राप्त गर्ने अतिरिक्त नाफाको हकदार को हुने होला भन्ने विषयमा पनि कल्पना गर्न हामीलाई बाध्य बनाएको अवस्था छ । 
अब गम्भीर परिस्थितीको परिदृष्य यहाँबाट शूरुवाट भयो की उक्त परियोना ठेक्कामा काठमाण्डौ उपत्यका विकास प्राधिकरण, मध्यपुर थिमी नगरपालिका र ठेकेदार निर्माण कम्पनिको विचमा सम्झौता त भयो तर उक्त परियोजनाको जानकारी श्री नीलवाराही क्षेत्र संरक्षण सरोकार समितिलाई कहिल्यै दिइएन र सो परियोजना ठेक्का सम्पन्न गर्नेसम्मको कार्यविधि र प्रक्रीयामा वास्तविक स्थानीय सरोकारवाला समुदायलाई सहभागिता नगराई कागजी रुपमा परियोजनाको विकास गरि सम्पदा क्षेत्रमा सम्पदा संरक्षणको कार्य गर्नका लागि आवश्यक स्थानीयबासीको प्रत्यक्ष सहभागीतामा परियोजना सम्पनन गर्ने गराउने आधारभूत कानुनी शर्त, वातावरणीय प्रभाव मूल्यांकन तथा सम्पदा प्रभाव मूल्यांकन अध्ययन नै पुरा नगरि सम्पदा संरक्षण सम्वद्ध पुरातत्व विभागलाई समेत गुमराहमा पारि निर्माण परियोजना सम्वद्ध ऐन निमय, वातावरण सम्वद्ध ऐन नियम, प्राचीन सम्पदा तथा अमूर्त सम्पदा सम्वद्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ऐन नियम कानुन सन्धि सम्झौता विपरित प्राकृतिक र स्थानीय साधन श्रोत, परम्परागत ज्ञान, शीप, दक्षता उपयोग गरि सम्पदा संरक्षण गर्न पर्ने पूर्व शर्तलाई वेवास्ता गरि आधुनिक सिमेन्टको विकास निर्माणको विधि उपयोग गर्ने परियोजना निर्माण गरि जवर्जस्ती लाड्ने कुरामा स्थानीय सरकार तथा काठमाण्डौ उपत्यका विकास प्राधिकरणको ध्यय रहेको देखियो ।  
यतिन्जेल श्री नीलवाराही क्षेत्र संरक्षण सरोकार समितिमा आवद्ध रही सक्रीय रुपमा महत्वपूर्ण योगदान पुर्याउदै आउनु भएका केही साथीहरु काठमाण्डौ उपत्यका विकास प्राधिकरणको कथित विकास परियोजनास्थलमा पुगेपछि के कति कारणले विविध वहाना बनाएर जनश्रमदानको मर्मबाट पछि हट्नु भयो भन्ने कुरा कारण र तथ्य बुझ्न हामीलाई गाहे भएन । जनश्रमदानको मर्म र ध्यय नीलवाराही मन्दिर क्षेत्रको भूक्षय प्राकृतिक रुपमा नै नियन्त्रण र व्यवस्थापन गर्ने र सोबाट नीलवाराही मन्दिर क्षेत्रको प्राचीन सम्पदा तथा मूर्त एवम् अमूर्त साँस्कृतिक सम्पदा साँस्कृतिक परिपथ, मन्दिर परिसर लगायतका सम्पदा प्राकृतिक रुपमा नै संरक्षण गर्ने नै रहेको तथ्यमा दुईमत थिएन । जुन विधि हामीले कथीत विकास निर्माण परियोजना लाड्ने स्थान पुग्ने विन्दुसम्ममा काम गर्न सबै समितिका साथीहरु राजि नै थियो र कार्य सम्पन्न पनि गरेको अवस्था छ । तर जब पाँच करोडको कथित विकास निर्माणको परियोजना लाड्ने स्थानमा श्रमदान पुगे तव केही सहपाथी मित्रहरु विविध बहानामा विच्किएर पछि हत्न पुगे । 
श्री नील बाराही क्षेत्र संरक्षण सरोकार समितिमा छलफल हुँदा मन्दिर क्षेत्रको पश्चिम तर्फको मूल भूक्षय क्षेत्रको व्यवस्थापनका सम्वन्धमा मोटामोटी चार वटा अवस्था र विकल्पका विषयमा छलफल भएको थियो । 
पहिलो अवस्था र विकल्प 
जसरी मन्दिर परिसरसम्म पुग्ने साँस्कृतिक परिपथको प्राकृतिक रुपमा माटो पुनभरण गरि घाँस रुखविरुवाबाट प्राकृतिक रुपमा पहिरो नियन्त्रण गर्ने विधि अपनाउने जुन प्राकृतिक रुपमा प्राथमिकतामा पर्ने विधि थियो । जसले मन्दिर परिसरको प्राकृतिक स्वरुपले पुनर्जिवन प्राप्त गरि सो स्थानको पर्यावरणीय प्रारुपले समेत पुनः ताजगी पाएर नीलवाराही मन्दिर क्षेत्रको समस्त जीव जगतले प्राकृतिक रुपमा जीवन यापन गर्ने महत्वपूर्ण अवसर पुन प्राप्त गर्नेछन् । 
दोश्रो अवस्था र विकल्प
जनश्रमदानबाट माटो पुनभरण भैसकेको अवस्थामा भूक्षेय क्षेत्रको करिव १५० फिट उचाई करिव १६० फिट लम्वाई र करिव १५० फिट नै आधार क्षेत्र रहेको अवस्थामा त्यसलाई प्राकृतिक तथा परम्परागत ज्ञान, शीप, दक्षता एवम् स्थानीय साधन श्रोतको उपयोग गरि उत्कृष्त ढुँगाद्धारा तह तह गरि भक्तपुरको ङातापोल (पाँच तल्ले) मन्दिरको फः (पेटी खुत्कीला) जस्तै ढुँगाको १०–१२ तहमा भौगोलिक वनोट निर्माण गरि मन्दिर परिसरको प्राकृतिक तथा सम्पदा मैत्रि विधिबाट मन्दिरक्षेत्रको साँस्कृतिक पहिचान र विशेषतालाई पुस्तौं पुस्तासम्म हस्तान्तरण गरि समय अन्तरालमा भविष्यमा यो निर्माण आफैमा मूर्त अमूर्त साँस्कृतिक सम्पदाको रुपमा पहिचान प्राप्त हुने र यसले हामी अहिलेको पुस्ताले भविस्यको पुस्ताका लागि आजको समयको सम्पदा पुस्तान्तरण गर्ने सुवर्ण मौका प्राप्त हुने र यस विधिले मन्दिर परिसर क्षेत्रमा प्राकृतिक, पर्यावरणीय तथा साँस्कृतिक वातावरणले जिवन्तता प्राप्त गरि समस्त जीव प्राणीको प्राकृतिक जिवन पद्दत्तिमा समेत सकारात्मक योगदान रहने अवस्था हुन्छ । 
तेश्रो अवस्था र विकल्प
प्रस्तवावित विकास निर्माण परियोजनाको डिजायनमा केही समय परिस्थितिजन्य परिमार्जन गरि जनश्रमदानबाट माटो पुनर्भरण गरि पुन स्थापित गरिएको ऐतिहासिक साँस्कृतिक परिपथ (जात्रा मनाउने बाटो) र सोमा हालसम्म पुनर्भरण गरिएको माटोलाई यथावत यथास्थितिमा राखि परियोजनाको सिमेन्टजन्य निर्माण कार्य अगाडी बढाउने । जसले तत्कालका लागि परियोजनाको असफलता हुनबाट जोगिने र मन्तिर परिसरमा पनि क्षेति न्युनिकरण हुने अवस्था हुँन्छ । 
चौथो अवस्था र विकल्प
प्रस्तावित विकास निर्माणको परियोजनालाई जस्ताको तस्तै ठेक्का विवरण अनुसार कार्य सम्पन्न गराउने जसबाट परियोजना सफल हुने र भूक्षेय नियन्त्रणमा आधुनिक प्रविधि अपनाउन पाउने र दिगो नियन्त्रण हुने । 
तर उक्त परियोजनाको प्रस्ताविक डिजायनमा आधुनिक प्रविधिको सिमेन्ट निर्माण कार्य गर्दै गर्दा करिव १६० फिट लामो बनोट भूक्षेय भएको क्षेत्रको करिव १५० फिटको उचाईमा ठिक विचको स्थानबाट निर्माण कार्य गरिंदा सो नापको विशालकाय सिमेन्ट वनोटको स्थायीत्वका लागि मन्दिर परिसरको पाटी र पाटीसंग जोडीएको ढिस्कोको मुनि आधुनिक नेलिङ्ग प्रविधि उपयोग गरि निर्माण कार्य सम्पन्न गर्ने जानकारी पाए पछि हामी श्री नीलवाराही क्षेत्र संरक्षण सरोकार समितिको ध्यानाकर्षण भयो र यो विशालकाय सिमेन्ट वनोटको स्थायित्वका लागि मन्दिर क्षेत्रको भूक्षेयबाट जोगाउन खोजेको बलौटे ढिस्कोको विचविचबाट दशौं मिटर भित्रिभागमा ड्रिलिङ्ग फिलिङ्ग गरि आधुनिक निर्माण वनोट प्राकृतिक भर्जिन बलौटे धिस्कोमा भित्रि भागमा गरिंदा सो कार्यले सिमेन्टको विशालकाय निर्माण वनोटको स्थायीत्वमा निश्चिन्त हुन सक्ने इन्जीजियरिङ्ग एवम् आधुनिक प्रविधिको प्राविधिक पक्ष माथि प्रश्न उठाउने ठाउँ नहोला तर सो भिमकाय सिमेन्ट निर्माण वनोटको आयतन मास तौलले नियमित रुपमा ३०÷४० बर्षमा आईरहने महाभूकम्पको ७ ÷८ रेक्टर स्केलको भूकम्पको पराकम्पमा ल्याउने हलचलले सो भिमकाय सिमेन्ट निर्माण वनोट आफै त सुरक्षित होला तर सुरक्षित हुन उपयोग गरिएको बलौटे कमजोर भौगर्भिक वनोटको मन्दिर परिसरको धिस्को जसले मन्दिर भित्रको कहिल्यै नसुक्ने जलकुण्डको अस्तित्व, मन्दिर र मन्दिर परिसरको प्राचीन सम्पदा एवम् मूर्त अमूर्त साँस्कृतिक सम्पदालाई थेगेर बसेको प्राकृतिक भौगर्भिक वनोटलाई टहसनहस पार्दैन भनि विश्वास गर्ने आधार केही देखेनौं । यति कुरा बुझ्न शायद हामीले प्राविधिक उच्च शिक्षा हासिल गर्न अनिवार्य पनि नहोला भन्ने कुरामा हामी विश्वस्त छौं । 
यतिमात्र होइन, आधुनिक सिमेन्ट वनोटको निर्माण कार्यले नीलवाराही मन्दिर परिसरको प्राकृतिक र साँस्कृतिक एवम् सम्पदाको मूल्य र मान्यता प्राचीन सम्पदा, अमूर्त साँस्कृतिक सम्पदा सम्वद्ध प्रचलित राष्ट्रिय अन्तर्राष्ट्रिय कानुन समेतको व्यवस्था र मर्म विपरित भई सो स्थानमा जीवन यापन गर्ने प्रकृतिका सदस्य जीव प्राणी जगतलाई समेत प्राकृतिक जिवन यापनमा बाधा उत्पन्न भई जीवन पद्दतीमा नकारात्मक असर गर्ने कुरामा दुईमत छैन । 
यस अवस्थामा आधुनिक प्रविधिको उपयोग गरि भूक्षेय नियन्त्रण परियोजना लागु गर्दाका नकारात्मक प्रभावहरु र प्राकृतिक एवम् सम्पदा मैत्रि विधिबाट भूक्षेय नियन्त्रण कार्य गर्दाका सकारात्मक प्रभाव र पक्षहरुका बारेमा हामीले सरोकार समितिका साथीहरु विचमा पटक पटक छलफल र विचार विमर्श गरेको नै हो । साथै स्थानीय सरकार मध्यपुर थिमी नगरपालिकामा प्रमूख तथा उपप्रमूख ज्युसंग बसेर छलफल एवम् विचार विमर्श समेत गरेको पनि हो । यति हुँदा हुँदै पनि हाल आएर कथित विकास निर्माणको परियोजना भोकाएका व्यक्तिलाई माया गरेको सडेगलेको फलफुल, बासी मासु भात ख्वाएर विरामी पार्ने भने जस्तो जवर्जस्ती सम्पदा नै नष्ट हुने अवस्था जानी जानी फगत पाँच करोड पैसाको लागि के कति कारणले कथित परियोजना सरोकार समितिको सहमति र सल्लाह वेगर जवर्जस्ती लाड्ने बाटोमा स्थानीय सरकार मध्यपुर थिमी नगरपालिकाको जिम्मेवार जनप्रतिनिधि गएको हो ? किन सरोकार समितिका जिम्मेवार साथीहरु गैरजिम्मेवारपूर्ण व्यवहार र प्रस्तुति गरिरहनु भएको छ ? प्रश्न अनुत्तरित छ । 
यति भन्दै गर्दा स्थानीय सरकार मध्यपुर थिमी नगरपालिकाका जिम्मेवार पदाधिकारी प्रमूख, उपप्रमूख ज्यु तथा सरोकार समितिका केही साथीहरु जनश्रमदानको विगत पन्ध्रौ हप्तासम्मको कार्य कथित पाँच करोड धनराशिको विकास निर्माणस्थलसम्म नपुगेसम्म एक पक्ष स्थानीय सरकार मध्यपुर थिमी नगरपालिकाका पदाधिकारी मौन रहने अनि सरोकार समितिका साथीहरु पनि दिलोज्यान दिएर सक्रीय रुपमा लागि परेकोमा कथित विकास निर्माण परियोनास्थलमा जनश्रमदान पुगेर श्रमदानले अन्तिम उपलव्धि प्राप्त गर्ने समयमा प्रकृति र वातावरण विरोधी अनि सम्पदा नष्ट हुने खतरायुक्त सम्पदा कानुन विपरितको सिमेन्ट वनोटको निर्माण परियोजनालाई जवर्जस्ती यथारुपमा अनिवार्य लागु गर्नु पर्ने भनि श्री नीलवाराही क्षेत्र संरक्षण सरोकार समितिका जिम्मेवार साथीहरु सरोकार समितिको ध्येय र मर्म उद्देश्य विपरित अगाडी बढीरहनु भएको कारणले हामी चिन्चित छौं । 
हामी श्री नीलवाराही क्षेत्र सम्पदा क्षेत्रका रुपमा प्राकृतिक एवं पर्यावरणमैत्री तथा सम्पदामैत्रि धार्मिक साँस्कृतिक क्षेत्रका रुपमा संरक्षण एवम् विकास गर्ने परिकल्पना तथा उद्देश्य र ध्यय लिएर अगाडी बढेका छौं । यसले आजको पुस्ता मात्रै नभइ भावी पुस्ताका लागि पनि आजको पुस्ताले प्राचीन सम्पदा पुस्तान्तरण गरि जीवनको मूल्य प्राप्त गर्न अग्रसर रहेकोसम्म मात्रै हो । यस बाहेक अरु स्वार्थ रहेको छैन । हालको नीलबाराही क्षेत्रमा परियोजना लागु गर्ने विषयमा सरोकार समितिको विषयमा गलत अवधारणा बनाइ आउनु भएका साथीहरु तथा स्थानीय सरकार मध्यपुर थिमी नगरपालिकाका जिम्मेवार पदाधिकारी एवम् भक्तपुर जिल्ला कै राजनैनिक वृत्त तथा प्रवुद्ध  वर्गमा श्री नीलवाराही क्षेत्रको प्राकृतिक एवं पर्यावरणमैत्री तथा सम्पदामैत्रि धार्मिक साँस्कृतिक क्षेत्रका रुपमा संरक्षण एवम् विकास गर्ने श्री नीलवाराही क्षेत्र संरक्षण सरोकार समितिको परिकल्पना, उद्देश्य र ध्येयलाई साथ, सहयोग एवम् सहभागीताका लागि हार्दिक अपिल गर्दछौं । 
लेखक अधिवक्ता राजकुमार सुवाल
एल.एल. एम. वौद्धिक सम्पत्ति कानुन
श्री नीलवाराही क्षेत्र संरक्षण सरोकार समिति, भक्तपुर क्षेत्रीय प्रतिनिधि सदस्य हुन् ।
 

Comments