शूचक सम्मानबाट दर्जनौं स्रष्टा सम्मानित
कार्तिक १६, २०८२, आइतबार | राति ०८:४९ बजे | 260
काठमाडौं । लोमश वाङ्मय प्रतिष्ठानका सल्लाहकार रूबि सत्याल साथै आजीवन सदस्य विमल अर्याल लगायत एक दर्जन स्रष्टाहरूलाई यही कार्तिक १५ गते शनिबार नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित एक विशेष समारोहबीच पुरस्कृत तथा सम्मानित गरिएको छ । पुरस्कृत तथा सम्मानित अन्य व्यक्तित्वहरूमा इन्दिरा सापकोटा, मोहम्मद जाकिर हुसेन, शैक्षिक अभियन्ता लालबहादुर चौधरी, कबा साप्ताहिकका संस्थापक सम्पादक तथा प्रकाशक निबन्ध आचार्य, समाजसेवी अनिल कुमार महर्जन, ऋषभदेव घिमिरे, विमला अधिकारी, मणिराज सिंह, बौद्ध साहित्यकार लोचनतारा तुलाधर साथै बौद्ध लेखक प्रा.डा. त्रिरत्न मानन्धर रहेका छन् । सो समारोहका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व उपकुलपति तथा वरिष्ठ कवि डा. विष्णुविभु घिमिरेले पठन संस्कार खिइँदै गएकामा दुःख व्यक्त गर्दै आज सम्मानित व्यक्तित्वहरू अत्यन्त अनुकरणीय भएकाले समारोहमा आफैँ सम्मानित भएको अनुभूति भएको बताए । घिमिरेले व्यक्ति व्यक्तिमा त अहङ्कार छँदै थियो अहिले त राज्यमा पनि अहङ्कार देखियो भन्दै हामी मान्छे भएर बाँच्नुपर्ने ज्ञानको खाँचो औँल्याए । अब आध्यात्मिक चेतनाको खाँचो भएको त होइन ? भन्ने प्रश्न तेर्स्याए । अहिले सूचकले गरेका कर्म अत्यन्त अनुकरणीय भएको दाबी गर्दै सबैको साथ र समर्थन सूचकलाई रहोस् भन्ने कामना गरे । भगवान्लाई सम्झेर जीवन बोध गरियो भने आजका अधिकांश समस्या छुमन्तर हुने जिकिर गरे । लेखक र समाजसेवीलाई उत्प्रेरित गर्ने सूचकलाई धन्यवाद ज्ञापन गर्दै समाजसेवी केदारनाथ र लीलादेवीप्रति आफू नतमस्तक रहेको घिमिरेले खुलासा गरे ।
