डा. शशी थापाका तीन कृति एकसाथ विमोचन
कार्तिक १४, २०८२, शुक्रबार | विहान ०७:३८ बजे | 165
जयराम बिडारी
कार्तिक १३, काठमाण्डौ
संस्कृतिविद् ,लोकबार्ताकार तथा स्रष्टा पदयात्री डा. शशी थापा पण्डितका तीन कृति ‘नेपाली कलामा कामकला, ‘मल्लकालिक नेपालका नारीहरु’ तथा नागार्जुन क्षेत्रको सास्कृतिक अध्ययन नामक तीन कृति एकसाथ विमोचन गरिएका छन् । नेपाल आदर्श महिला संघको आयोजनामा होटल एल्लो प्यागोडा जमलमा आयोजित सो कार्यक्रम संस्कृतिविद् प्रा.डा.वीणा पौडेलको सभापतित्व तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा.जगमान गुरुङ, प्रा.डा.पेशल दाहाल इतिहासकार तथा संस्कृतिविद् दिनेशराज पन्त, लगायतका मञ्चासिन व्यक्तित्वहरुले लोकार्पण गरेका हुन् ।
लोकार्पित कृति नेपाली कलामा कामकलाका विषयमा प्रकाश पार्दै डा.जगमान गुरुङले नेपाली साहित्यिक क्षेत्रमा २०३६ सालतिर धन शमशेरद्वारा लिखित कामकला सम्बन्धी पुस्तक प्रकाशित हुँदा नेपाली पाठकहरुमा सकारात्मक सन्देश जान नसकेको तितो यथार्थ हुँदा हुँदै पनि डा. शशी जस्ता एक साहशी नारी स्रष्टाले यस्ता विषयमा साहस गरेर कृति लेख्ने आँटको प्रशंसा गर्दै तन्त्र मन्त्र र यन्त्रको बारेमा प्रकाश पारे । धरती र आकाशको दृष्टान्त दिंदै गुरुङले कृति सफलताको शुभकामना व्यक्त गरे । यसैगरी ‘नागार्जुन क्षेत्रको सांस्कृतिक अध्ययन' बारे समीक्षात्मक टिप्पणी गर्दै प्रा.डा.पेशल दाहालले ‘नेपाली कलामा कामकला’विषयमा पिएचडी गर्ने जस्तो साहसिक कदम चाल्नु एक नारी स्रष्टाका लागि चानचुने विषय नभएको बताए । उनले नेपालको बीजारोपण र विकासको आधार क्षेत्रका रुपमा रहेको नागार्जुन क्षेत्रको बारेमा गहन कृति पाठक समक्ष आउनु सुखद उपलब्धि रहोको बताए । सांस्कृतिक अध्ययनका बारेमा बोल्दै लिच्छवीकालिन समय देखी नै संरक्षित गरिएको नागार्जुन क्षेत्रका विषयमा कतिपय सरकारी कर्मचारीहरुलाई समेत प्रवेशमा बर्जित गरिएको स्थानका बारेमा अभिलेखहरु समेटेर पुस्तक तैयार पारिएकोमा प्रशंसा गरे । उनले ऐतिहासिक सामाजिक सांस्कृतिक र धार्मिक अनि कतिपय किंबदन्तीलाई समेत आधार मानेर लेखिएको कृतिले त्यस क्षेत्रको यथेष्ठ जानकारी गराउने बताए । अलिखित सामग्री तर जनश्रुतिमा आधारित विषयवस्तुलाई स्थान दिन नसक्ने हो भने इतिहासप्रतिको न्याय हुन सक्दैन भन्दै नागार्जुन क्षेत्रका बलियो इतिहासलाई जीवन्तता दिई पुस्तक प्रकाशित गरिएकोमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दै कृति सफलताको शुभकामना व्यक्त गरे । सो समारोहमा अर्का विद्वान समीक्षक दिनेशराज पन्तले मल्लकालिक नेपालका नारीहरुका विषयमा डा.शशी थापा पण्डितले नेपालको कला, संस्कृति,र साहित्यका क्षेत्रमा पुर्याएको योगदान भविष्यको लागि एउटा गर्वको विषय रहने विचार व्यक्त गर्दै तत्कालीन समयका नेपाली नारीहरुका सामाजिक आर्थिक धार्मिक र सांस्कृतिक पाटोमा मिहिन ढंगले अनुसन्धान गरी इतिहास प्रतिको न्यायिक र यथार्थतालाई कुशलतापूर्वक प्रस्तुत गर्न सक्ने डा.शशीको शिल्पको मुक्तकण्ठले प्रशंसा गरे । सरकारले गर्नुपर्ने यस्ता सांस्कृतिक महत्व धार्मिक र पर्यावरणीय महत्वका विषयलाई व्यक्तिले सामान्य स्रोत साधनको प्रयोगले उपलब्धिमूलक बनाउने ठूलो कुरा रहेको बताउँदै एक अनुसन्धाताको हैसियतमा डा. शशीको प्रयत्न अतुलनीय रहेको भन्दै कर्ममा निरन्तरता तथा कृति सफलताका लागि शुभकामना दिए । यसैगरी मन्तव्यका क्रममा कार्यक्रमकी सभापति बीणा पौडेलले नियमित र निरन्तर कर्म गर्ने क्रममा आफूले प्राज्ञीक रुपमा प्रशिक्षित गरेका शिष्यहरुको प्रगतिले आफूमा समेत गौरव बोध हुने गरेको बताउँदै आफ्ना विद्यार्थीहरुबाट पनि आफूले धेरै कुरा जान्न पाएको विचार व्यक्त गरिन् । सिर्जनशील कर्मको दौरानमा एकैपटक तिम्ल्याहा कृति पाठक सामू आउनु चानचुने कुरा नभएको भन्दै उनले आगामी दिनमा डा.शशीलाई पारिवारिक रुपमा उनका सन्तानको जननीका रुपमा भन्दा ज़्यादा उनका कृतित्वका आधारमा जुगौंजुग स्मरण गर्न सकिने विचार व्यक्त गरिन् । स्वागत मन्तव्यका क्रममा कृतिकार डा.शशी थापा पण्डितले कृति तैयार पार्दाका उहापोह बारे प्रकाश पार्दै अध्ययन अनुसन्धानका क्रममा हरतरहले सहयोग पुर्याउने धरपरिवार लगायत स्रोत सामग्री उपलब्ध गराउने तथा मार्गदर्शन गर्ने गुरुहरुप्रति कृतज्ञता व्यक्त गर्दै निकट भविष्यमा संस्कृति सम्बन्धी अर्को कृति आउन लागेको जानकारी गराइन् । कार्यक्रमको सफलताका लागि उपस्थित सम्पूर्ण अभ्यागतप्रति आभार व्यक्त गरिन् । राष्टिय गान बजाएर सुरु गरिएको कार्यक्रममा सभापतिद्वारा पानसमा दीप प्रज्वलित गरिएको थियो भने कार्यक्रममा नेपाल आदर्श महिला सङ्घले कृतिकार डा. शशी थापा पण्डितको सम्मान समेत गरेको थियो । चर्चित कवि तथा कार्यक्रम प्रस्तोता यादव भट्टराइद्वारा मुक्तकीय शैलीमा कुशलतापूर्वक सहजीकरण गरिएको उक्त कार्यक्रममा शब्दपथ साहित्यिकका सम्पादक किशोर पहाडी,शिवपुरी सन्देशका सम्पादक वियोगी बुढाथोकी,स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारती स्रष्टा पदयात्रा नेपालका अध्यक्ष शीतल गिरी संसाक मासिकका सम्पादक तथा साहित्यकार उमेश पाण्डे साहित्यकार बैरागी जेठा,शान्ति सापकोटा रुबि सत्याल,लगायत सयौंका संख्यामा सीहित्यानुरागीहरुको उपस्थिति रहेको थियो ।
