प्रकाश पर्व : अन्धकारमाथि चेतनाको विजय


कार्तिक ३, २०८२, सोमबार | दिउँसो १२:४६ बजे | 170


प्रकाश पर्व : अन्धकारमाथि चेतनाको विजय

सुनिल सापकोटा

हाल बिराटनगर

आज शुभ दीपावली एवं लक्ष्मीपूजा। पहिले आफूभित्र उज्यालो बाल, अनि संसार आफैं झलमलिन्छ। आजको सन्देश यो होला। हामी यो पर्व किन मनाउँछौं? केका लागि यसको उत्सव मनाइन्छ? उत्तरका धाराहरू फरक छन्। तर सबैको स्रोत उज्यालो प्रतिको चाहना भन्ने हो। यो दिन भगवान् रामले चौध वर्षको बनवास समाप्त गरी लङ्का विजयपछि अयोध्या फर्केका स्मृतिमा मनाएको हो भनेर धेरैले भन्ने गर्छन्। अर्को मतअनुसार महाभारत युद्धका विजेता पाण्डवहरू कृष्ण संग हस्तिनापुर फर्किएका थिए र त्यो घटनाको प्रतीक हो दीपावली भन्ने पनि सुनिन्छ। तर यहाँ एउटा गजब प्रश्न उब्जिन्छ।यदि यी दुवै कथा मध्ये कुनै एक पनि सत्य हो भने किन यस दिन राम वा कृष्णको पूजा हुँदैन ? किन देवी लक्ष्मी र गणेशको मात्र यो दिन पूजा गरिन्छ ? पौराणिक आख्यानअनुसार समुद्र मन्थनका बेला श्रीलक्ष्मी प्रकट भइन्। उनीलाई प्राप्त गर्न देव र दानवबीच तीव्र संघर्ष भयो। त्यो द्वन्दमा लक्ष्मीले भगवान् विष्णुलाई पति रूपमा वरण गरिन्। त्यसैले त्यस्को स्मृतिमा दीपहरू बालिन्छन् र लक्ष्मीको आराधना गरिन्छ भन्ने रहेछ। मिथकहरू त मिथक नै हुन्। मान्ने नमान्ने कुरा बेग्लै हो। ती मानवीय चेतनाका प्रतीक हुन् भनेर विद्वानहरु भन्छन्। मिथकहरु विश्वास र आस्थाका रूपान्तर हुन् अरे । मेरो बिचारमा चाहिँ दीपावलीको वास्तविक सार बाहिरी झिलमिल मात्र होइन। यो अन्तरमनको उज्यालोमा निहित छ जस्तो मलाई पनि लाग्छ। यो त्यो बेला हो जब हामी जीवनमा स्वच्छता ,पवित्रता र सत्यता को ज्योति जलाउने संकल्प गर्छौं। त्यो ज्योति हाम्रो अन्तःकरणको अन्धकार मेटाउने, हृदयमा विवेक जगाउने र आत्मा लाई अमर चेतना को स्पर्श गराउने शक्ति होला भन्ने मलाई लाग्छ। यही चेतना बृहदारण्यक उपनिषद्को यस मन्त्रमा पनि निहित छ। ॐ असतो मा सद्गमय । तमसो मा ज्योतिर्गमय । मृत्योर्मा अमृतं गमय । ॐ शान्तिः शान्तिः शान्तिः ।। अर्थात् हामीलाई असत्यबाट सत्यतिर अन्धकारबाट प्रकाशतिर र मृत्युबाट अमरत्वतिर लैजाऊ त्यसैले दीपावली केवल उत्सव मात्र होइन।यो चेतनाको उज्यालो हो । आफू भित्रको दीप प्रज्वलित गर्ने आह्वान हो। जब हामी आफ्नै मनमा प्रकाश बाल्छौं तब त्यो उज्यालो संसारभर फैलिन्छ। र हाम्रो अन्धकार स्वतः अन्तर्धान हुन्छ। बुद्धले पनि यहि भनेका छन। धेरै के लेखुँ। सबैमा दीपावलीको शुभकामना ! धन्यवाद !

Comments