बुद्धको खोजमा: एक विद्यालय, समाज र चेतनाको यात्रा
कार्तिक २, २०८२, आइतबार | दिउँसो ०३:०३ बजे | 420
भक्तपुरको एउटा निजी विद्यालयले बुद्ध दर्शनबारे सेमिनार आयोजना गर्छ भन्ने सुन्दा सुरुमा सामान्य लाग्छ। तर दुई दिनको त्यो कार्यक्रम सुनेपछि लाग्छ—विद्यालय पनि समाजको गुरु हुन सक्छ। विद्यालय र समाजको उत्तरदायित्व निजी विद्यालयको समाजप्रति उत्तरदायित्व कति हुन्छ होला? एउटा मेहनती किसानको जति कि नाफाखोर व्यापारीको जति? प्रश्न जटिल छ। तर यति भने पक्का छ—सरकारी विद्यालय कमजोर भए पनि निजी विद्यालयको सामाजिक दायित्व कम हुँदैन।
भक्तपुरमा राम्रा सरकारी विद्यालय मात्र होइन, निजी विद्यालय पनि उत्तिकै सक्षम छन्। त्यसको उदाहरण बनेको छ जेन्युइन स्कुल, जसले आफ्नो ३० औँ वार्षिकोत्सवको अवसरमा एक महिनासम्मका विविध कार्यक्रम आयोजना गर्यो। यी कार्यक्रमहरूमा खेलकुददेखि संस्कृति र दर्शनसम्मका विषय समेटिएका थिए। बुद्ध शिक्षा र दर्शनको दुई दिने सेमिनार तीमध्ये अश्विन २५ र २६ गते भएको “बुद्ध शिक्षा र दर्शन” सम्बन्धी दुई दिने सेमिनार साँच्चै उपलब्धिमूलक रह्यो।
उद्घाटन समारोहमा हरिबहादुर श्रेष्ठको भनाइले कार्यक्रमको सार झल्कायो— “परिवार, विद्यालय, संगत र पढ्ने किताबहरूले व्यक्तित्व निर्माण गर्छ।” यो एक वाक्यमै सेमिनारको उद्देश्य समेटिएको थियो। पहिलो दिन: सुशासन, दर्शन र जीवन पहिलो दिनका तीन कार्यपत्रहरूमध्ये डा. त्रिरत्न मानन्धरको प्रस्तुति विशेष चर्चित रह्यो। उनले बुद्ध शिक्षाको सन्दर्भमा सुशासनका आठ अन्तर्राष्ट्रिय सूचकहरू व्याख्या गर्दै भने—“शक्तिमा बस्नेहरूले सत्य देख्दैनन्।” उनले सुशासनका सूचकहरूमा “भ्रष्टाचार नियन्त्रण” थप्नुपर्ने सुझाव पनि दिए।
कार्यक्रमभर ‘महाजनपद’, ‘मगध’, ‘बैशाली’, ‘जातक कथा’ जस्ता विषयहरू छलफलमा आए। उनका विचारले मन प्रफुल्ल भए—“बाहिरी शक्तिभन्दा भित्री हृदय बलियो बनाउनु नै बुद्ध शिक्षाको सार हो।” अर्को प्रस्तुतिमा रत्न सुन्दर शाक्यले महापण्डित राहुल साँस्कृत्यायनको जीवनयात्रा उजागर गरे। साँस्कृत्यायनको बौद्ध दर्शन, मार्क्सवाद र इतिहासबोधबारे सुन्दा लाग्थ्यो—विचार पनि तीर्थ यात्राजस्तै हुन्छ। तीनै प्रस्तुतिहरूमध्ये पत्रकार बसन्त महर्जनले भने “बुद्ध शिक्षा र मानव अधिकार” शीर्षकमा रोचक निष्कर्ष प्रस्तुत गरे— “विश्वास भंग हुन सक्छ, श्रद्धा होइन। बुद्धिज्म नै मानव अधिकार हो।” दोस्रो दिन: कला, समानता र मनको खोज दोस्रो दिन चार महत्वपूर्ण प्रस्तुतिहरू भए।
डा. पुष्परत्न शाक्यले विहारको उत्पत्ति र नेपाल मण्डलाका बाहाहरूबारे बोले। उनले विहारका पाँच रूप—विहार, प्रासाद, अड्दयोग, हर्म्य र गुफा—सम्बन्धी ऐतिहासिक पृष्ठभूमि व्याख्या गरे। डा. सविना धख्वाले बुद्ध धर्ममा लैङ्गिक समानताबारे बोलेकी थिइन्। उनले महिलाभिक्षुणी “विशाखा” लाई दिइएको महाउपासिका पदको उदाहरण दिँदै भनिन्, “बुद्ध धर्मले महिला शिक्षालाई समाजमा प्रतिष्ठा दिएको पहिलो दर्शन हो।”
डा. जुनु बासुकलाले नेवार बौद्ध धर्ममा परम्परागत कागजी चित्रबारे उत्कृष्ट अनुसन्धानात्मक प्रस्तुति दिइन्। १३औं शताब्दीदेखि प्रयोगमा आएका कागजी चित्रका शैली र महत्वबारे उनको विश्लेषण अत्यन्त जानकारीमूलक रह्यो। सेमिनारको अन्त्यमा पत्रकार धनश्याम खड्काले “बुद्धको दृष्टिमा मन के हो” भन्ने विषयमा चर्चा गरे। उनले भने, “सुख जस्तो अनन्त रहँदैन, दुःख पनि अनन्त रहँदैन।” आजको मानसिक तनाव र असन्तुलनको कारण यही सत्य नबुझ्नु हो भन्ने उनको निष्कर्ष गहिरो लाग्यो। बौद्ध दर्शन र आधुनिकता आज पश्चिमी दर्शनका धेरै धारणाहरू बुद्ध दर्शनबाट प्रभावित छन्। तर विडम्बना के भने, बुद्ध जन्मिएको देशमा हामी स्वयं त्यसको गहिरो अध्ययनमा पछि परेका छौं।
सेमिनारका सहजकर्ता डा. पुरुषोत्तम लोचन श्रेष्ठ, डा. तारालाल श्रेष्ठ, अभय श्रेष्ठ, हरिहर तिमिल्सिना र संयोजक योगेन्द्रमान बिजुच्छेका विचारले कार्यक्रममा गम्भीरता र गहिराइ थपे। अन्त्यमा बुद्धको शिक्षा केवल दर्शन होइन, जीवन जिउने तरिका हो। जेन्युइन स्कुलले गरेको यो पहलले देखायो—विद्यालय केवल परीक्षा र प्रमाणपत्रका लागि होइन, समाज र चेतनाको विकासका लागि पनि हुन्छ। विद्यालयलाई बधाई, र यस्ता कार्यक्रम निरन्तर हुने अपेक्षा।
