एभरेस्ट स्कुलमा तिहार कार्यक्रम भव्य रूपमा सम्पन्न
कार्तिक २, २०८२, आइतबार | दिउँसो ०२:५६ बजे | 55
कार्तिक २, २०८२
भक्तपुर -२,, मिबाछें
एभरेस्ट स्कुलमा नेपाली सांस्कृतिक वैभवको प्रतीक तिहार पर्वको अवसरमा एक विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयले तिहारलाई शिक्षासँगै संस्कार र सभ्यताको सन्देश दिने माध्यमका रूपमा मनाएको हो।
कार्यक्रमको सुरुवात काग तिहार र कुकुर तिहारको महत्वमाथि आधारित विद्यार्थी प्रस्तुतीबाट गरिएको थियो। नाटक, गीत र नृत्यका माध्यमबाट कागप्रतिको सम्मान र कुकुरको वफादारी तथा मित्रताको सन्देश उजागर गरिएको थियो। उक्त अवसरमा कुकुरहरुको कला र सक्षमता प्रदर्शन गरिएको थियो.
त्यसपछि विद्यार्थीहरूले लक्ष्मी पूजाको सांकेतिक प्रस्तुतिमार्फत सफाइ, उज्यालो र समृद्धिको सन्देश दिए। विद्यालय परिसर दीप, रङ्गोली र फूलमालाले सजाएर रमणीय वातावरण सिर्जना गरिएको थियो।
कार्यक्रममा भाइटिकाको झल्को दिने प्रस्तुति पनि गरिएको थियो, जसमा दिदीबहिनी र भाइबहिनीबीचको माया र कृतज्ञताको सम्बन्धलाई उजागर गरिएको थियो। विद्यार्थीहरूले यमपञ्चकका पाँचै दिनको धार्मिक तथा सांस्कृतिक महत्व प्रस्तुत गरे।
सो अवसरमा विद्यालयका प्रिन्सिपल भक्त राज भण्डारीले तिहारको सन्देशबारे बोल्दै भन्नुभयो, “तिहार केवल पर्व होइन, यो हाम्रो संस्कार, प्रेम र एकताको प्रतीक हो। यसले हामीलाई प्रकाश, सत्य र आपसी सद्भावतिर प्रेरित गर्छ।”
विद्यालयले तिहारलाई शैक्षिक, सांस्कृतिक र नैतिक मूल्यसँग जोड्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ।
