वागीश्वरीमा गरियो शुभकामना आदानप्रदान कार्यक्रम


कार्तिक २, २०८२, आइतबार | दिउँसो ०२:४७ बजे | 75


वागीश्वरीमा गरियो शुभकामना आदानप्रदान कार्यक्रम

विद्यार्थी हित समिति वागीश्वरी माविको आयोजनामा शुभ दीपावली, नेपाल सम्वत् ११४६ र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम च्याह्मासिंह ब्लकमा एक आकर्षक कार्यक्रमसहित सम्पन्न भयो।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भनपा ९ नं वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले तिहार भनेको पृथ्वीका हरेक जीवको महत्व बुझाउने हिसाबले मनाउने गरिएको बताउनुभयो । प्रकृतिमा रहेका हरेक बोटबिरुवाको महत्व बुझ्न र बुझाउन विभिन्न फरक फरक ठाउँका विद्यार्थीबीच अनुभव तथा जानकारी शेयर गर्ने कार्यक्रम पनि विद्यार्थी हित समितिले आयोजना गर्नुपर्ने कुरा बताउनुभयो । पाँचदिने तिहारमा प्रयोग गरिने विभिन्न वस्तुले ती वस्तुको महत्व बुझ्नुपर्ने र गरिने म्हपूजाले आफ्नो  शरीरको महत्व बुझ्नुपर्ने कुरा बताउँदै उहाँले केही समयअघि तिब्बत र हालै देशको सुदूर पश्चिम क्षेत्रको भ्रमण गरेको प्रसङ्ग उल्लेख गर्दै त्यस क्रममा आफूले देखेका प्रेरणादायी शैक्षिक गतिविधिका विषयमा पनि सुनाउनुभयो ।
अर्का अतिथि पूर्व शिक्षक तथा व्यवस्थापन समितिका सदस्य ज्ञानसागर प्रजापतिले आजभन्दा ११४६ वर्षअघि शङ्खधर साख्वाले त्यो बेलाका नेपाली जनताको ऋण तिरिदिएका हुँदा आज सबैले उहाँबाट पाठ सिक्नुपर्ने बताउनुभयो । त्यस्तै मन्तव्यकै क्रममा अर्का अतिथि पूर्व प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले, यस्ता कार्यक्रमबाट नयाँ कुरा सुन्ने, नयाँ कुराको चर्चा गर्ने र नयाँ कुरा सुनाउने बानीको विकास गर्नुपर्ने जनाउँदै पछिल्लो समयमा नेपालले जेनजी आन्दोलनदेखि लिएर क्रिकेटजस्ता खेलको क्षेत्रमा समेत उल्लेखनीय प्रदर्शन गरेर हाम्रोे देशलाई विश्वसामु चर्चित बनाएको बताउनुभयो । 
त्यस्तै अतिथिकै रूपमा मञ्चासीन विद्यालयका प्रअ कृष्णप्रसाद कर्माचार्यले शिक्षक तथा विद्यार्थीले समसामयिक राजनीतिक गतिविधिबारे सचेत एवं जानकार हुनुपर्ने कुरा बताउँदै विद्यार्थीले दिनहुँ कक्षाकोठामा शिक्षकबाट बढीभन्दा बढी कु्रा सिक्ने कुरामा ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो । शिक्षक उकेश सुवालले आजका कतिपय विद्यार्थी मोबाइलको एडिक्ट भएकोमा चिन्ता व्यक्त गर्दे विज्ञानको वरदान डिजिटल सामग्रीलाई विद्यार्थीले शैक्षिक सामग्रीका रूपमा सदुपयोग गर्नुपर्ने कु्रा बताउनुभयो । कार्यक्रममका नेपाल क्रान्तिकारी विद्यार्थी संघ वागीश्वरीकी प्रतिनिधि तेजस्वी मानन्धरले पनि बोल्नुभएको थियो ।
कार्यक्रमको दोस्रो सत्रमा विद्यार्थी हित समितिद्वारा विभिन्न समयमा आयोजित प्रतियोगितात्मक कार्यक्रममा विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो । त्यसलगत्तै विद्यार्थी कलाकारहरूले विभिन्न सांस्कृतिक विधा प्रस्तुत गरी वातावरण रमाइलो बनाएका थिए ।
कक्षा १० का विद्यार्थीद्वय मुकुन्द पाण्डे र स्नेहा दाहालले सञ्चालन गरेको उक्त कार्यक्रमको सभापतित्व विद्यार्थी हित समितिका अध्यक्ष सर्वेस दिदीयाले गरेका थिए ।

Comments