किसानको जोखिमपूर्ण संघर्ष
कार्तिक २, २०८२, आइतबार | विहान ०७:१५ बजे | 55
सत्य राम कासिछ्वा
तिमी ह्यौ प्रकृतिको सुन्दर सदाबहार फूल
निस्वार्थ सेवा नै आज देखियो तिम्रो भुल
समस्त प्राणीको लागि गर्छौ उत्पादन निष्पक्ष
आज बनाइन्छ तिमीलाई दुव्र्यवहारको पक्ष
अज्ञानी अशिक्षित भनी गरिन्छ व्यवहार फोहोर
तिम्रो मौनता सहनशीलतामा उठाउँछन् मोहोर
तिमी नयाँ आविष्कार र मानव सभ्यताको जननी
देश र समाजले सम्मान तिम्रो त्यागमा गर्न जाँदैन नि
वर्षदिन नै तिम्रो कडा मेहनत तर हुँदैन कतै जीवनको रक्षा
विदा र केही घण्टाको सेवामा खटिनेलाई हुन्छ सामाजिक सुरक्षा
प्राणीलाई जीवन्त राख्ने जोखिमपूर्ण संघर्षमा असुविधा
जोखिम मोल्न नपर्ने सेवाका किन आजीवन सुविधा
स्वीकार्दै प्राणी जगतको हितको लागि हिलोमैलो
छिछि र दुरदुर हटाउन सके हुन्छ सबैको भलो
धानेको छ विश्वमा तिम्रै उत्पादनले कला र संस्कृति
तिम्रो जीवनरक्षाको लागि चाहिन्छ राष्ट्रिय नीति
