आठ सय वर्ष पुरानो भाजु पोखरीको जलेश्वर मन्दिर शिलान्यास
माघ २२, २०७७, बिहीबार | विहान ०८:३७ बजे | 5
भक्तपुर । भक्तपुर नपा वडा नं. १ दुधपाटीस्थित भाजु पोखरीको मध्यभागमा अवस्थित जलेश्वर मन्दिरको शिलान्यस कार्यक्रम पोखरी परिसरमा सम्पन्न भयो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिहीबार जलेश्वर मन्दिरको शिलान्यास गर्नुभएको हो ।
मन्दिरको शिलान्यास गर्नुहुँदै नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाकाले गरिरहेको सम्पदा संरक्षण कार्यले भक्तपुरको आन्तरिक र बाह्य पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
भक्तपुरका मूर्त अमूर्त सम्पदा संरक्षण नै भक्तपुर नपाले हासिल गरेको विशेषत भएको बताउनुहुँदै ऐतिहासिक र सांस्कृतिक हिसाबले पनि भाज्या पोखरी गौरवको योजना भएको बताउनुभयो ।
प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले भाज्यापोखरीको अध्ययन अनुसन्धान गर्ने मौका पाएकोमा गौरवान्वित महसुसु भएको बताउनुभयो । भाज्या पोखरीको अध्ययन अनुसन्धानकै क्रममा पोखरीको मध्यभागमा पश्चिमाभिमुख शिखर शैलीको मन्दिर भएको थाहा हुन आउने बताउनुहुँदै उहाँले भक्तपुर नपाले भाज्या पोखरीको जीर्णोद्धार एवम् मन्दिरको पुनःनिर्माण मौलिक शैली र स्वरुपमा गरिरहनु सुन्दर पक्ष रहेको बताउनुभयो ।
भाज्या पोखरीको जलेश्वर मन्दिर पुनःनिर्माणको निम्ति मन्दिरको उत्खननमा फेला परेका अवशेषहरुबाट निकै सहयोग पुगेको बताउनुहुँदै उत्खनन्कै क्रममा भेटिएका शिलालेखले पनि उक्त मन्दिरबारे तथ्यहरु पत्ता लगाउन मद्दत पु¥याएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले जलेश्वर मन्दिर र भाज्या पोखरी पुनःनिर्माण कार्यमा स्थानीय जनताको साथ र सहयोग रहँदै जाने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा जलेश्वर मन्दिर पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीनारायण खत्री, समितिका कोषाध्यक्ष कृष्णप्रसाद दुमरु र रामगोपाल बमनूले पनि बोल्नुभएको थियो ।