बहुप्रतिभाका धनीः डा.इन्दुल के.सी.


असोज ३१, २०८२, शुक्रबार | साँझ ०४:४४ बजे | 85


बहुप्रतिभाका धनीः डा.इन्दुल के.सी.

तारा सुवेदी

sf]iffWoIf M >i6f ;dfh g]kfn

संसारमा मान्छे खाली हात जन्मिन्छ र खाली हात नै मर्दछ । उसले केही पनि लिएर जाँदैन, तर बाँचुञ्जेल मान्छेले उपरोक्त कुरा सम्झिँदैन । जीवनको नश्वरता बिर्सेर उ धनसम्पत्ति थुपार्नमै समय खर्चिन्छ । तर मान्छेको भीडमा कोही त्यस्ता मान्छे पनि हुन्छन्, जो व्यक्तिगत उपार्जनभन्दा पनि सामाजिक उपकारलाई अधिक महत्व दिन्छन् । उनीहरु जीवनको वास्तविक रहस्य र सीमा जान्दछन् । उनीहरुको समय र प्रयास धन थुपार्नभन्दा बाँढ्न र दिन मै केन्द्रित हुन्छ । जानु त छँदैछ, आफू गएपछि आफ्‌नो नाम लिँदा पछिल्लो पुस्ताका मान्छेले श्रद्धा र अनुभव गरुन् र भावी सन्ततिको पनि इज्जत बढोस् भन्ने कुरामा यस्ता मान्छे सचेत रहन्छन् । समाजसेवी लेखक तथा योगविज्ञ डा.इन्दुल के.सी.यस्तै मध्यका एक हुनुहुन्छ । उहाँले अरुबाट केही लिनुभन्दा देश र समाजलाई केही दिनुनै आफ्‌नो ध्येय बनाउनु भएको छ । साहित्यकार,प्राकृतिक चिकित्सक, शैक्षिक अभियन्ता, सदा सबैको प्रियपात्र हुन सफल रहनु भएका अति आदरणीय व्यक्तित्व डा.इन्दुल के.सीज्यूसँग मेरोे चिनजान, भेट वि.स.२०६६ /०६७ सालतिर साहित्यिक संस्था नेपाल स्रष्टा समाजमा भएको थियो । डा.के.सी संस्थाको आजीवन विशिष्ट सदस्य हुनुहुन्छ । उहाँले संस्थाको विधान बनाउने काममा निकै महत्वपूर्ण योगदान दिनुभएको छ । डा. के. सीले गर्नुभएको उक्त कामकाबारेमा संस्थाका संरक्षक वरिष्ठ साहित्यकार पवन आलोकज्यूले बारम्बार प्रशंसा गरिरहनु हुन्छ । त्यसैगरी संस्थाको आर्थिक अवस्थालाई मजबुत बनाउनका लागि एक समिति गठन भएको थियो, सो समितिको संयोजक डा.के.सी.र सदस्यमा कोषाध्यक्ष तारा सुवेदी, वरिष्ठ साहित्यकार नगेन्द्रराज रेग्मीज्यू रहनु भएको थियो । त्यतिबेला गठन भएको तीन सदस्यीय समितिको वरिष्ठ साहित्यकार तथा नेपाल स्रष्टा समाजका प्रमुख सल्लाहकार परशु प्रधानले निरीक्षणगर्ने प्रवन्ध गरिएको थियो । हामी तीनैजनाले अहोरात्र खटेर उत्कृष्ट आर्थिक योजना बनाउन सफल भएका थियौं । उहाँसँग कामगर्दा मैले धेरै कुराहरुको जानकारी र कौशलता प्राप्तगर्ने मौका पाएकी थिएँ । कामगर्दाको समय निकै रमाइलो र फलदायि भएको थियो । डा. के सीले प्रेम, स्नेह, ठट्टा शुरुगर्दा हामी खुशीले गद्गद् हुन्थ्यौं । समय बितेको पत्तै हुदैनथ्यो । उहाँले निकै मिहिनेतकासाथ संस्थाको आर्थिक योजना बनाउनु भएको थियो । त्यसमा हामीले पनि उहाँको सल्लाहअनुसार सहयोग गर्यौ.। त्यति बेलादेखि उहाँसँग मेरो चिनजान भएको हो । आजपनि डा. के.सीले नेपाल स्रष्टा समाजप्रति अतिनै श्रद्धा र जिज्ञासा राखिरहनु हुन्छ । अहिले डा. के सीलाई वार्धक्यले छोपिसक्यो । तर एउटा के कुरा सत्य छभने उहाँको जीवनमा मैले बुझेसम्म जतिसुकै आँधीबेरी आएपनि सतीसालजस्तै दृढ बनेर लाग्नुहुन्छ । त्यो दृढता अहिले पनि उहाँको व्यवहारमा बिद्यमान छ । डा. के.सी आफूले गरेका सबै अनुभव सुनाउनुहुन्थ्यो । २०२६ सालमा श्री पद्म हाई स्कूलबाट बिदा भएर शिक्षा मन्त्रालयमा अधिकृत पदमा सेवा शुरु गर्नुभयो । शिक्षाको विकास कसरीगर्न सकिन्छभन्ने अध्ययन हेतुले देशका अधिकांश जिल्लाहरुमा भ्रमण गर्नुभयो । यसैक्रममा उच्चशिक्षा हाशिलगर्नको लागि उहाँले बेलायतमा पोष्ट ग्य्राजुयट डिग्रीको अध्ययन गर्नुभयो र पछि भारतको कलकत्ताबाट बैकल्पिक उपचार विषयमा पि.एच.डी. डिग्रीसमेत हाशिलगरी डाक्टर बन्नुभयो । वर्तमानमा उहाँले शिक्षा क्षेत्रका अलावा कला, संस्कृति, साहित्यमा पनि आफूलाई समर्पणगर्दै बिभिन्न सामाजिक संघसंस्थाहरुको अध्यक्ष, संस्थापक अध्यक्ष, सल्लाहकार भएर भक्तपुर शहरका मठमन्दिर, भजन, पाटी, पौवा निर्माणगर्ने कार्य गर्नुभयो । यसरी नै भक्तपुरको बाराही पीठ मन्दिर परिसरमा बिभिन्न सतल र पाटी निर्माणकासाथै उहाँकै अध्यक्षतामा वाद्य संग्रहालयको स्थापना गर्नुभएको छ । विशेषगरी उहाँको लगाव भजन, गीत लेखन, गायन र संगीतसमेत आफैलेगरी अरुलाई पनि यस क्षेत्रमा संलग्न गराउँनुमा योगदान रहेको पाइन्छ । उहाँले गाउनु भएका भजनहरु युट्युबमा हामीले सुन्न सक्दछौं । भक्तपुर आफै पनि कला, संस्कृतिले सम्पन्न जिल्ला भनेर विश्वमा परिचित छ । यस जिल्लाको सांस्कृतिक विकासका लागि उहाँको पनि ठूलो योगदान छ । अन्तमा डा. इन्दुल केसीले आफ्‌नो जीवनको उत्तराद्र्धमासमेत सक्रिय जीवन बिताउन सक्नुभएको कुराले धेरै मानिसहरुलाई पे्ररणा मिलेको छ । म एक साधारण मान्छेले देखेको डा. केसीजीको क्रियाकलापहरुको वर्णनगर्न मैले के सकुँला र ? तैपनि केही शब्दहरु लेख्न शाहस गरेँ । उहाँप्रति म सदैव आभारी छु । यसरी उहाँको सक्रिय जीवनले नेपाली साहित्य, कला, संस्कृति र समाजसेवामा अझै योगदान दिन सकोस । उहाँको सुस्वास्थ्य तथा दीर्घायूको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

Comments