सेवा निवृत्त शिक्षक समाजको ‘शैक्षिक अनुभव’ विमोचन
असोज ३०, २०८२, बिहीबार | साँझ ०४:२४ बजे | 200
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा सेवा निवृत्त शिक्षक समाज भक्तपुरको पूर्णाङ्क १७ ‘शैक्षिक अनुभव’ विमोचन तथा भक्तपुर जिल्लाव्यापी माविस्तरीय निबन्धलेखन प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम बिहीबार सम्पन्न भयो ।
शैक्षिक अनुभव विमोचन गर्दै नगर प्रमुख प्रजापतिले शैक्षिक अनुभव पत्रिकाको १७ औं अंकसम्म आइ पुग्दा यसको स्तर वृद्धि भएको बताउँदै पत्रिकाको अध्ययन गोष्ठी र अन्तरक्रिया नियमित रुपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
शिक्षा राज्यको दायित्व हो र सबै नागरिकलाई शिक्षित बनाएर देशलाई आवश्यक जनशक्ति तयार गर्नु सरकारको कर्तव्य भएको बताउँदै उहाँले निजीकरणले गर्दा शिक्षा व्यापार गर्ने व्यवसायको रुपमा अगाडि बढिरहेको बताउनुभयो ।
विदेशमा होइन स्वदेशमै सबै शिक्षित हुने बन्दोबस्त हुनुपर्ने बताउँदै उहाँले निःशुल्क र अनिवार्य शिक्षा केबल नारामा होइन, व्यवहारमा लागू हुनुपर्छ भन्नुभयो ।
प्रमुख प्रजापतिले शिक्षा उत्पादनमुखी र सीपमूलक हुनुपर्ने बताउँदै गुणस्तरीय शिक्षामा सबैको पहुँच पुग्नुपर्ने र मुुलुकलाई आत्मनिर्भर बनाउने शिक्षा आजको आवश्यकता हो भन्नुभयो ।
शासक दलहरुको शोषण, भ्रष्टाचार र अत्याचारको विरोधमा भएको जेनजी आन्दोलनले देशलाई अनिर्णयको बन्दी बनाएको बताउँदै उहाँले विचार र सिद्धान्तविनाको आधारमा हुने कुनै पनि परिवर्तन लामो समय टिक्न नसक्ने बताउनुभयो ।
वर्तमान सरकारले निर्वाचनमा केन्द्रित रहेर काम गर्नुपर्ने र भ्रष्टाचारीहरुलाई कारबाही गर्नुपर्नेमा जोड दिँदै प्रमुख प्रजापतिले निर्वाचन प्रजातान्त्रिक प्रणाली भएको हुँदा निर्वाचनमा जान राजनैतिक दलहरु जुनसुकै बेला तयार हुनुपर्ने धारणा राख्नुभयो ।
शैक्षिक अनुभव पुस्तकका सम्पादक ज्ञानसागर प्रजापतिले सेवा निवृत्त शिक्षक समाजको नियमित पत्रिका शैक्षिक अनुभव पुस्तकको समीक्षा गर्दै पुस्तकमा महत्वपूर्ण लेख तथा अनुभवहरु संग्रहित रहेको हुँदा यसको अध्ययनमा जोड दिनुपर्ने बताउनुभयो ।
समाजका संस्थापक अध्यक्ष नाति कवांले सेवा निवृत्त शिक्षकहरु शारीरिक रुपमा कमजोर भए पनि बौद्धिक रुपले अब्बल नै हुने हुँदा उहाँहरुको अनुभव र ज्ञान नयाँ पुस्ताको लागि प्रेरणादायी हुने बताउनुभयो ।
संयुक्त परीक्षा समितिका अध्यक्ष रोशनराज तुईतुईले सेवा निवृत्त शिक्षकहरु अझ पनि सबल र अब्बल रहेको प्रमाण यस कार्यक्रमले दिएको बताउँदै सेवा निवृत्त शिक्षकहरुकोे जगमा भक्तपुर शैक्षिक गन्तव्यस्थलको पथमा अगाडि बढिरहेको बताउनुभयो ।
उक्त कार्यक्रममा उपाध्यक्ष रामगोपाल कर्माचार्यले समाजले हालसम्म १७ वटा शैक्षिक अनुभव अंक प्रकाशन गरिसकेको बताउँदै सेवा निवृत्त शिक्षकहरुलाई क्रियाशील बनाउने उद्देश्यले समाजको स्थापना भएको बताउनुभयो ।
समाजका अध्यक्ष अम्बिकामान मानन्धरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कोषाध्यक्ष विश्वराम कवां, समाजका सदस्यद्वय धीर्जबहादुर कायस्थ र सदस्य तुल्सीराम ग्वाछाले पनि बोल्नुभएको थियो ।
नगर प्रमुख प्रजापतिले समाजको आयोजनामा सम्पन्न भक्तपुर जिल्लाव्यापी माविस्तरीय निबन्धलेखन प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो ।