भक्तपुर क्यान्सर अस्पतालमा विशेष कार्यक्रम गरी मनायो वल्र्ड हस्पिक एण्ड प्यालियटिभ केयर डे २०२५


असोज २९, २०८२, बुधबार | साँझ ०५:५८ बजे | 240


भक्तपुर क्यान्सर अस्पतालमा विशेष कार्यक्रम गरी मनायो वल्र्ड हस्पिक एण्ड प्यालियटिभ केयर डे २०२५

भक्तपुर । वल्र्ड हस्पिक एण्ड प्यालियटिभ केयर डे २०२५ को अवसरमा बुधबार अस्पताल क्यान्सर अस्पताल बिशेष कार्यक्रम सम्पन्न भयो । कार्यक्रमको उदघाटन अस्पताल विकास समितिका अध्यक्ष तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिब डा श्रीकृष्ण श्रेष्डले गरे । कार्यक्रममा मिस नेपाल २०२५, सुश्री लुना लुइटेल विशेष आतिथिका रुपमा उपस्थित थिइन् । 
कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा उज्ज्वल चालिसेले भक्तपुर क्यान्सर हस्पिटल (विसिएच) प्यालियटिभ केयर फन्डको घोषणा गरे । त्यस अवसरमा फण्डमा विभिन्न संघ संस्था तथा व्यक्तिहरुले सहयोग गर्ने प्रतिवद्धता जनाइसकेको पनि जानकारी गराइयो । फण्डमा लायन्स क्लब अफ बाग्मती क्यान्सर केयरः रु. १ लाख, डिके मेडिसेल्स्ले रु. ५ लाख बराबरको सहयोग, इष्ट वेष्ट कन्सर्नले रु २ लाख र श्रीमतीउषा दीक्षितले रु. १ लाख सहयोग गर्ने प्रतिवद्धता जनाइसकेको जानकारी गराइयो । फण्डको पैसाबाट गरिब तथा अभावग्रस्त बिरामीलाई निःशुल्क सेवा दिन प्रयोग गरिने कार्यक्रममा जनाइयो । 
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकी, नेपलिज एसोसिएसन अफ प्यालियटिभ केयरका अध्यक्ष प्राडा विष्णुदत पौडेल, अस्पतालका पूर्व अध्यक्ष दिवाकर राजकर्णिकार, अस्पतालका डा विकास आनन्दलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा जीवनको अन्तिम लडाइँ यसै अस्पतालमा लडेर गएका सबै बिरामीलाई सम्झेर श्रद्धाञ्जली अर्पण गरेको थियो । उहाँहरुको साहस र दृढताले अस्पताललाई अझ राम्रो सेवा दिन प्रेरित गरेको जनाएको थियो ।
कार्यक्रममा अस्पतालका पूर्व मेडिकल डायरेक्टर डा. सुदीप श्रेष्ठलाई पनि सम्झेको थियो, जसको योगदानले प्यालियटिभ केयर युनिट स्थापित गर्न सम्भव भयो । भुतपूर्व निर्देशक डा आरती शाह र  प्रा डा बिष्णु दत्त पोडेललाई धन्यबाद दिएको थियो, जसको कार्यकालमा यसले थप सृदृड हुने अवसर पायो । साथै, प्रिय सहकर्मी दिवंगत डा.चादनी वैद्यलाई पनि श्रद्धापूर्वक सम्झना गरियो, जसले यस अस्पतालमा समर्पित प्यालियटिभ युनिट स्थापनामा अमूल्य योगदान दिनुभयो ।
नेपाल सरकारले यसै वर्ष २०२५–२०३५ का लागि राष्ट्रिय प्यालियटिभ केयर रणनीति स्वीकृत गरेको छ, जुन तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अनुमोदन गरेका थिए । यस रणनीतिले क्यान्सर मात्र नभई अन्य जीवन–सीमित रोगहरू (जस्तै मुटु, मृगौला, फोक्सो, स्नायु सम्बन्धी रोग) का बिरामीका लागि पनि प्यालियटिभ सेवा विस्तार गर्ने उद्देश्य राख्छ ।
यस रणनीतिको मुख्य बुँदाहरु यस प्रकार छन् । 
मानव संसाधन विकासः सबै तहका स्वास्थ्यकर्मीलाई तालिम र क्षमता अभिवृद्धि गर्ने।
सेवाको पहुँच विस्तारः अन्य जटिल रोगका बिरामीलाई पनि सेवा उपलब्ध गराउने।
संस्थागत विकासः सरकारी तथा निजी दुवै स्वास्थ्य संस्थालाई प्यालियटिभ सेवा दिन तयार बनाउने।
पूर्वाधार र औषधि सुनिश्चितताः आवश्यक औषधि (जस्तै मोर्फिन) सहज उपलब्ध गराउने र गुणस्तरीय सेवाका लागि पूर्वाधार विकास गर्ने।
समुदाय संलग्नताः जनचेतना अभिवृद्धि गर्ने र समुदायलाई संलग्न गराउने।
अन्य नीतिसँग समायोजनः यस सेवालाई राष्ट्रिय स्वास्थ्य नीति २०१९ र नेपाल क्यान्सर नियन्त्रण रणनीति २०२४–२०३० सँग एकीकृत गर्ने।
आउनुहोस्, आजको कार्यक्रम केवल उत्सव मात्र नभई एउटा संकल्प पनि होस्ः
नेपालमा प्यालियटिभ केयरको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने ।
बिरामी र परिवारलाई दया र सद्भावसहित सहयोग गर्ने।
र सेवालाई अझ सशक्त बनाउँदै, गरिमा, सम्मान र करुणासहित निरन्तर प्रदान गर्ने।
 

Comments