२०८२ सालको भैरव पुरस्कार कृष्ण प्रधानलाई, हरिप्रसाद शर्मालाई वाङ्मय तथा विवश पोखरेललाई प्रतिभा पुरस्कार
असोज २९, २०८२, बुधबार | साँझ ०५:३८ बजे | 390
असोज २९, काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार भैरव पुरस्कार गुठीले बुधवार प्रदान गरेको छ । गुठीले राजधानीमा एक कार्यक्रम गरी अर्यालको नाममा स्थापित तीन पुरस्कार तीन अलग अलग स्रष्टाहरूलाई प्रदान गरेको हो । जसअनुसार २०८२ सालको भैरव पुरस्कार भारत—सिलगुढी निवासी वरिष्ठ हास्य व्यङ्ग्यकार कृष्ण प्रधानलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैया रहेको छ । भैरव पुरस्कार पहिलो पटक नेपाल बाहिरका स्रष्टालाई समर्पण गरिएको हो । त्यस्तै १ लाख १ हजार १ सय ११ रुपैया राशीको भैरव वाङ्मय पुरस्कार वरिष्ठ चित्र कलाकार हरिप्रसाद शर्मालाई प्रदान गरियो । साथै ५१ हजार १ सय ११ रुपैया राशीको भैरव प्रतिभा पुरस्कार विराटनगर मोरङका विवश पोखरेललाई प्रदान गरियो । गुठीका अध्यक्ष रोचक घिमिरे, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दीपक अर्याल, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल लगायतले पुरस्कार प्रदान गर्नु भएको हो । कार्यक्रममा पुरस्कृत स्रष्टाहरूको बारेमा जानकारी गराउँदै साहित्यकारहरू नरनाथ लुईटेल, के.के कर्माचार्य, प्रमोद प्रधान लगायतले नेपाली साहित्यमा भैरव अर्यालको योगदान बारे चर्चा गर्नु भएको थियो । कार्यक्रममा साहित्यकारहरू खगेन्द्र संग्रौला, गोविन्द घिमिरे ‘वेदमणि’ ले अर्याल नेपाली व्यङ्ग्य साहित्यका अद्धितिय प्रतिभा भएको बताउनुभयो । पुरस्कृत स्रष्टाहरूले भैरव अर्यालको नामको पुरस्कार प्राप्त गर्नु आफूहरूका लागि गर्वको विषय भएको बताउनु भएको थियो । सोही अवसरमा पुरस्कृत स्रष्टा कृष्ण प्रधानको ४२ औं कृति ‘पुरस्कार लुड्याउने’ को लोर्कापण गरिएको थियो । गुठीले पुरस्कार प्राप्तकर्ताहरूको नाम छनौट गर्न साहित्यकार वसन्त रिजालको संयोजकत्वमा साहित्यकारद्धय नरेन्द्रराज पौडेल र प्रल्हाद पोखरेल सदस्य रहनु भएको चयन समिति गठन गरेको थियो । गुठीको आजै सम्पन्न साधारण सभाले वरिष्ठ साहित्यकार रोचक घिमिरेको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।