१०३ वर्षीया ज्येष्ठ सदस्यले गरे साधारणसभाको उद्घाटन
असोज २७, २०८२, सोमबार | राति ०७:०४ बजे | 470
भक्तपुर । श्रमिक वचत तथा ऋण सहकारी संस्था लि. को २२ औं साधारणसभा शनिवार सम्पन्न भयो । १०३ वर्षका ज्येष्ठ सदस्य कृष्णथकु ग्वाछाले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेको साधारण सभामा विशिष्ट अतिथि संस्थाका संस्थापक सल्लाहकार लक्ष्मीभक्त कवांले सहकारीले सदस्यहरुको आर्थिक उन्नतिको लागि ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले संस्थामा पारदर्शिता अपनाउन तथा निरन्तर साँस्कृतिक, सामाजिक गतिविधिहरु गर्नुपर्नेमा जोड दिनुभयो ।
संस्थाका कानूनी सल्लाहकार अधिवक्ता विकल प्रजापतिले सहकारी सम्बन्धी विभिन्न नीतिहरुबाट समुदायमा आधारित साना साना सहकारी संस्थाहरुलाई हतोत्साहित पारिनुले सरकार बैंकर्सहरुको चंगुलमा परेको प्रष्ट भएको बताउनुभयो । सहकारी समाजवादी अर्थव्यवस्थाको एक तत्व भएकाले हाम्रो जस्तो देशमा सहकारीलाई विशेष निगरानीसहित प्रोत्साहन गर्नुपर्नेमा जोड दिंदै अधिवक्ता प्रजापतिले सहकारीमा अनियमितता गर्नेलाई कडा सजाय गर्नुपर्ने बताउनुभयो । संस्थाका अध्यक्ष कृष्णनारायण मचामसीको सभापतित्वमा भएको सभामा संस्थापक सल्लाहकार गणेशराम सुवाल, निवर्तमान अध्यक्ष राजाराम गोसाई, उपाध्यक्ष ज्ञानभक्त मचामसी, सदस्य विष्णुप्रसाद त्वायना, प्रवन्धक दिनेश ग्वाछालगायतले विभिन्न विषयमा बोल्नुभएको थियो ।
यसवर्ष सत्तरी वर्ष पुगेका ज्येष्ठ सदस्यलाई विषेश सम्मान, एस.ई.ई. उत्तीर्ण बालसदस्यहरुलाई सम्मान, संस्थाको तर्फबाट माकचा प्याखँको दिक्षान्त समारोहमा भाग लिएका बाल सदस्यहरुलाई प्रमाणपत्र तथा गुरुहरुलाई मायाको चिनो प्रदान गरिएको सभाले सचिवको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पारित गरिएको थियो ।
