राजेन्द्रमानकृत 'कैलाश कोरा' लोकार्पण


असोज २६, २०८२, आइतबार | दिउँसो ०१:०८ बजे | 350


राजेन्द्रमानकृत 'कैलाश कोरा' लोकार्पण

जयराम बिडारी

नियात्राकार राजेन्द्रमान डङ्गोलको चौँथो नियात्राकृति 'कैलाश कोरा'को यही असोज २५ गते शनिबार राजधानीमा लोकार्पण गरियो । सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रीओम श्रेष्ठ 'रोदन'ले 'भूत लेखन'को बिगबिगी भइरहेको यो कालखण्डमा राजेन्द्रमान डङ्गोलको उत्कृष्ट नियात्राकृतिले निकै राम्रो अर्थ राख्ने बताए । नियात्रामा कैलाश मानसरोवर यात्रा गर्न चाहनेका निम्ति मनग्य जानकारी त छँदैछ, त्योभन्दा बेसी जान असमर्थ हुनेका निम्ति पनि कृति अध्ययन पश्चात गएझैँ नै अनुभूत हुन्छ भन्ने रोदनको राय थियो । कृतिमा समाविष्ट सूचना र समाख्यान आफ्नै अनुभूतिको उपज रहेको उनको कथन थियो । आर्थिक रूपमा सम्पन्न हुनसाथ जतागए पनि यसो एक खाले हुन नसकेको दैनिकीलाई नियात्रा भनाएर बन्ने नियात्राकारहरूको बाढी आएका बेला डङ्गोलको अर्ग्यानिक नियात्राले विशेष अर्थ राख्ने उनको तर्क थियो ।

कृतिका टिप्पणीकार त्रिविका उप-प्राध्यापक तथा सुपरिचित समालोचक राम लोहनीले राजेन्द्रमान डङ्गोलले हरेक हरफमा के लेख्छन् वा उनले हिउँ, झरना, हिमाल, पहाड, नदी वा बस्तीलाई के भन्छन् भन्ने सबै कण्ठ हुन थालिसकेको दाबी गरे । लोहनीले 'कैलाश कोरा' किन नाम नै राखियो भन्नेबारेमा रौँचिरा केलाए । उनले कृतिको सङ्क्षिप्त शल्यक्रिया पनि गरे । त्यसरी नै अर्का टिप्पणीकार त्रिविका उप-प्राध्यापक तथा चर्चित कवि डा.बिन्दु शर्माले टिप्पणीकारको कर्तव्य अप्ठ्यारोलाई गाँठो फुकाउने भएको तर कृतिमा कुनै अस्पष्टता नभएको बताउँदै सायद चिनियाँ भएकोले हुनसक्छ पदयात्रीबीचको संवाद अलिक कम भएको टिप्पणी गरिन् । हरेक कैलाश मानसरोवर जान इच्छुकले 'कैलाश कोरा'लाई एकपटक मात्र आँखा लगायो भने पनि महत्त्वपूर्ण ज्ञान हासिल हुन सक्ने बताइन् । वरिष्ठ पर्यटनकर्मी ज्योति अधिकारीले आफूहरूबीच उतारचढावको निजी सम्बन्ध रहे पनि राजेन्द्रमानको लेखकीय शक्तिको आफू प्रशंसक भएको बताउँदै कैलाश जाने जोसुकैले पनि नेपाल अहिले पनि राज्य बनि नसकेको लख काट्न सक्ने उल्लेख गरे । आफ्ना आसेपासे र भरौटेलाई मात्र पोस्ने र राज्य दोहन गरी अकुत सम्पत्ति कमाउने बाहेक नेपाली शासकले माखो मार्न नसकेको उनको भनाइ थियो । कृतिकार राजेन्द्रमान डङ्गोलले कृति तयार गर्दाका उकालीओरालीबारे आफ्नो अनुभव साझा गरे । उनले कैलाशमा आफू बिलीन भएको अनुभूति हुने विषय पनि राखे । कार्यक्रममा टानका अध्यक्ष सागर पाण्डे, हानका अध्यक्ष विनायक शाह, लोमश वाङ्मय प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे 'अटल' लगायतले शुभकामना व्यक्त गरेका थिए । चर्चित कवि तथा कार्यक्रम प्रस्तोता लक्ष्मी रूम्बाले सहजीकरण गरेको सो समारोहको अध्यक्षता एसोसिएसन अफ कैलाश टुर्स अपटेरर्स नेपालका अध्यक्ष बिमल नहर्कीले गरेका थिए ।

Comments