समदर्शीको २३ अाैं साधारणसभा सम्पन्न
असोज २५, २०८२, शनिबार | राति ०८:१५ बजे | 235
भक्तपुर, असोज २५ । समदर्शी बचत तथा ऋण सहकारी संस्थाको २३ अाैं साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थापक अध्यक्ष तथा संस्थाका प्रमुख संरक्षक हरिराम लवजुले सहकारी अभियानको क्रममा सहकारीहरुलाई कर प्रणालीको नाउँमा सामान्य जनताको बचत रकममाथि आँखा गाडेको बताउँदै समुदायमा आधारित सहकारीहरुको विकासमा साधारणसभा एक महत्त्वपूर्ण अंग रहेको बताउनुभयो । उहाँले आर्थिक क्रियाकलापसँगै समाजको हितका लागि बालबालिका र जेष्ठ नागरिकको सुरक्षा दिने नीति योजना तथा सेवाको लागि सामुदायिक सहकारीमा लाग्नुपर्ने जोड दिँदै देश र जनताको हितमा ल्याउने विचार र पक्षलाई बेवास्ता गरी अहंकार र दम्भ देखाउँदा अस्तित्व नै गुमाउनुपर्ने बताउनुभयो । संस्थाका सल्लाहकार संयोजक विश्वमोहन जोशीले अग्रजको अनुभव देश र समाजका निम्ति मार्ग निर्देशन हुने भएकोले समाजको आवश्यकतालाई विशेष ध्यान दिएर एकले अर्कोलाई सहयोगका साथ समाजको उत्थान गर्न सहकारीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष विश्वबहादुर दुवालले सीमित लगानी हुने सहकारी संस्थालाई नियम र निकायको कठोर नियम तथा कुदृष्टि गर्दा सामुदायिक सहकारी संस्था अगाडि बढ्न नसक्ने बताउनुभयो । सचिव लक्ष्मीप्रसाद प्रजापतिले आव २०८१/८२ को वार्षिक प्रगति प्रतिवेदन, भावी योजना, नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । संस्थाका कोषाध्यक्ष प्रमिला रंजितले २०८१/८२ को आर्थिक प्रतिवेदन तथा आव २०८२/८३ को अनुमानित बजेट स्रोत उपयोग तर्फ ४० करोड र आयव्यव तर्फ ३८ करोड प्रस्तुत गरेका थिए । लेखा सुपरिवेक्षण समितिका संयोजक कृष्णराम दुवालले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बालबचत कर्ताहरुको समदर्शी धिमे खल द्वारा धिमे बाजासहित संस्थाका प्रमुख संरक्षक हरिराम लवजुद्वारा पानसमा दिप प्रज्वलन उद्घाटन गरिएको उक्त कार्यक्रममा उपाध्यक्ष रामबहादुर मानन्धर, रामकृष्ण मानन्धर लगायतले बोलेका थिए । असल नियमित बचत कर्ता पूर्णलक्ष्मी मानन्धर, असल ऋणी राजाराम गाइजू तथा असल बाल बचत कर्ता रजिन तमखू लाई सम्मान गरिएको सो कार्यक्रममा गत असोज ११ मा सम्पन्न बाल चित्रकला कार्यशालामा सहभागी र उमेरगत प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना हासिल गरेका बाल बचतकर्ताहरुलाई पुरस्कार प्रदान गरेका थिए । साथै साधारणसभामा प्रस्तुत विभिन्न प्रतिवेदनहरु सर्वसम्मतिले पारित गरेका थिए ।