आँसु पुछ्तै छ यो राष्ट्र


माघ २१, २०७७, बुधबार | विहान ०८:३७ बजे | 20


पदम दाहाल


जुवारी छ यहाँ अहिले दोहोरी छ जता पनि
तानातान तथानाम गाली फुट जहाँ पनि ।१।
अहङ्कार छ वोलीमा नारा जोड खिलापमा
दुखेको छ यहाँ देश हानाथाप विलापमा  ।२।
मुठ्ठी आकाश ताक्तैछ छाती पिट्तैछ हात त्यो
राष्ट्रको मुटु दुख्तैछ बेचैनी छ ललाट त्यो ।३।
दाह््रा बत्तीस किट्तैछन् जीउ थर्थर थर्थर
जथाभावी मनोद्वेग आक्रोश छ असुन्दर ।४।
छन् आक्रामक आक्रान्त प्रतिघातक अल्झन
आँसु पुछ्तै छ यो राष्ट्र आगो दन्कुटी दन्दन ।५।
तेल हालेर निभ्दैन अग्नि हुर्कन्छ भर्भर
पानी खट्खट डेक्चीमा बाक्लिएको कहाँ छ र ? ।६।
रनभुल्ल बरा ! देश अलमल्ल छ रे यहाँ !
दुत्कार्दै छ कठै ! भाग्गे नकार्दै छ दशा यहाँ ।७।
भिडम्भिड महाकुम्भ मेला मेल टुटेपछि
जुम्ल्याहा शीर दुर्भाग्य, हाहाकार फुटेपछि ।८।
कोही खुच्चिङ भन्दैछन् कोही दुश्मन मान्दछन्
अग्र अग्राख ठान्दैछन् होडबाजी हजार झन् ।९।
थला पार्दैछ बोलीले नियाल्दैछ समाजले
धज्जी धाक छ धिक्कार ! देश स्तव्ध छ लाजले ।१०।

Comments