दिब्यश्वरी साकोसको १८ औं बार्षिक साधारण सभा
असोज १०, २०८२, शुक्रबार | दिउँसो १२:५६ बजे | 295
मध्यपुर थिमि । दिब्यश्वरी बचत तथा ऋण सहकारी संस्था लि. मध्यपुर थिमि लौहकिल्थलीको १८ औं बार्षिक साधारण सभा आज असोज १० गते शुक्रवार सम्पन्न भएको छ । सभाको उद्घाटन गर्नुहुँदै संस्थाका संस्थापक अध्यक्ष हरिलाल कुटुले संस्थाको स्थापनाकालदेखि नै सदस्यमुखी भई सञ्चालन भईरहेकोले अहिलेको सहकारी क्षेत्र चुनौतीपूर्ण बन्दै गईरहेको समयमा पनि समयसापेक्ष सदस्यमैत्री भई अघि बढाउनु पर्नेमा जोड दिनुभएको थियो । संस्थाका अध्यक्ष तीर्थलाल कुटुको सभापतित्वमा सम्पन्न कार्यक्रममा अध्यक्षको प्रगति प्रतिवेदन पेश गर्नुहुँदै संस्थाले सहकारी मुल्य एवं मान्यताहरु तथा सहकारीका सिद्धान्तहरुको अधिनमा रही समुदायमा छरिएर रहेका ससाना पुँजीलाई संकलन गर्ने र सो संकलित रकमको अधिकतम परिचालन गरि सदस्यहरुको आर्थिक हितका लागि सरल र सजिलो किसिमले कर्जा प्रवाह गर्ने कार्य गर्दै आइरहेको बताउनुभयो । संस्था संस्थापनाको १८ औं बर्षसम्म आईपुग्दा संस्थालाई एक सुरक्षित, प्रविधि मैत्री तथा भरपर्दो संस्थाको रुपमा स्थापित गराउन सफल भएको भन्दै अध्यक्ष कुटुले संस्थाले सदस्यहरुद्वारा सदस्यहरुको लागि भन्ने भावनामा सहकारी मूल्य, मान्यता र सिद्धान्तबाट अभिप्रेरित भई सञ्चालन भईरहेको बताउनुभयो । सोही अवसरमा संस्थाको आर्थिक प्रतिवेदन पेश गर्नुहुँदै संस्थाका कोषाध्यक्ष जगतकृष्ण प्रजापतिले संस्थाले गत आर्थिक बर्ष २०८१÷०८२ को अन्तसम्ममा २ सय ६ जना शेयरसदस्यहरुबाट २ करोड ५० लाख २१ हजार २ सय रुपैयाँको शेयरपुँजी संकलन गरेको बताउनुभयो । कोषाध्यक्ष प्रजापतिले सोही आवको अन्तमा संस्थाले विभिन्न शिर्षकका बचत खाताहरुबाट १८ करोड ८५ लाख २६ हजार २ सय ५२ रुपैयाँ बचत संकलन गर्दै १४ करोड ४२ लाख २८ हजार २ सय ९९ रुपैयाँ ऋण लगानी गरेको समेत बताउनुभयो । सभामा वितरित प्रतिवेदन अनुसार संस्थाले उक्त आर्थिक बर्षमा १२ लाख २९ हजार ९ सय ६३ रुपैयाँ आयकर अघि सञ्चालन नाफा गरेको छ भने २३ करोड ८९ लाख १८ हजार ४ सय ७८ रुपैयाँको सम्पत्ति दायित्वको वासलात रहेको छ । त्यसैगरी सोही अवधिमा संस्थासँग जगेडा तथा अन्य कोषहरुमा १ करोड २४ लाख १८ हजार २ सय ३५ रुपैयाँ रहेको छ । सभामा संस्थाका सचिव अमृतप्रसाद श्रेष्ठले सोही आर्थिक वर्षमा भएगरेका विभिन्न सामाजिक गतिविधि सहितको प्रगतिप्रतिवेदन पेश गर्नुभएको थियो भने लेखासमितिका संयोजक जितबहादुर थापा, ऋण उपसमितिका सदस्य सुरेशकुमार था श्रेष्ठलगायतका सहकारीको महत्वको विषयमा बोल्नु भएको थियो । सभामा संस्थाका जेष्ठ महिला नागरिक सदस्य नजरीमाया कुटु र पुरुषतर्फ न्हुछेलाल द्वारेलाई जेष्ठ नागरिक सदस्यको रुपमा नगद रु. एक हजार, मायाको चिनो र सम्मान पत्रले सम्मान गर्नुभएको थियो भने उत्कृष्ट बचतकर्ता रिता प्रजापति र उत्कृष्ट ऋणीको रुपमा कुशल कुटुलाई पनि त्यसरी नै सम्मान गरेको थियो । — आर.के. “थिमि”