नेकले उपभोग गरिरहेको १७४ रोपनी जग्गा कलेजलाई नै दिने बचन 


असोज ९, २०८२, बिहीबार | राति ०९:५३ बजे | 230


नेकले उपभोग गरिरहेको १७४ रोपनी जग्गा कलेजलाई नै दिने बचन 

भक्तपुर । भक्तपुरको चाँंगुनारायण नगरपालिकाका प्रमुख जीबन खत्रीले अव जेन्जी आन्दोलनबाट देश अगाडि वढ्नुपर्ने आवश्यकता औंल्याएका छन् । आन्दोलनबाट प्राप्त उपलव्धीहरुलाई आत्मसाथ गर्दै देशको विकासमा सवै मिलेर अगाडि वढ्नुपर्ने आवश्यकता उनले औंल्याएका हुन् ।
नेपाल इन्जिनियरिंग कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरको ३१ औ वार्षिकोत्सवको बिहीबार भक्तपुरमा उदघाटन गर्दै उनले जेन्जीहरुसँंग रिस गरेर नबसी सक्नेले सक्ने गरेर देशलाई अगाडि वढाउनुपर्ने बताए । जेन्सीहरुको माग स्वागतयोग्य भएको भन्दै युवाहरुलाई पनि सँंगै लिएर अगाडि वढ्नुपर्ने आवश्यकता औल्याए ।  
जेन्जीहरुको आक्रोश स्वभाबिक हो, विद्यार्थी राजनीतिबाट अगाडि वढेर मेयरसम्म पुगेका उनले भने, विद्यार्थीले भ्रष्टाचारमुक्त देश चाहेका छन्, यो हामी स्वभाविक माग पनि हो । यसलाई हामी सवैले आत्मसाथ गर्नुपर्छ ।
कलेज व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका  खत्रीले देशकै उत्कृष्ट कलेजमध्येमा पर्ने नेकलाई उही रफ्तारमा फर्काउनुपर्नेमा जोड दिए । त्यसका लागि आफू अभिभावक भएकाले जस्तोसुकै कदम चाल्न पनि आफू तयार भएको उनले बताए ।
उनले बीर अस्पतालका लागि भनी दिएको कलेजले उपभोग गरिरहेको १७४ रोपनी जग्गा पनि फर्काउन आफू तयार रहेको बताए । आफू मेयर हुनु भन्दा पहिला नै अस्पताललाई जग्गा दिइसकेकाले आफूले चाहेर पनि त्यो जग्गालाई कलेजका नाममा दिन नसकेको बाध्यता उनले पोखे । उनले भने, तपाईहरु सवैले सहयोग गर्नुभयो भने म त्यसका लागि फेरि पनि लड्न तयार छु ।
कलेजका प्राचार्य सहप्रध्यापक दुर्गाप्रसाद भण्डारीले ३१ वर्ष लामो इतिहास बोकेको कलेजको हिजो, आज र भोलि विषयमा प्रस्तुतीकरण गरे । गैरनाफामूलक सामाजिक संस्थाको रुपमा सुरुवात भएको कलेजलाई त्यही अनुसार अगाडि वढाइरहेको उनले स्पष्ट पारे । त्यही कारण वार्षिक बजेटको आधाआधी रकम छात्रबृतिमा प्रदान गरिरहेको जानकारी उनले गराए ।
कार्यक्रममा कलेजका सहप्राचार्य सहप्रध्यापक मोहनध्वज केसी, कलेज व्यवस्थापन समितिका सदस्य एवं कलेज रहेको चाँंगुनारायण नगरपालिका वडा नं २ का वडा अध्यक्ष सोम प्रधान, कलेजकी प्राध्यापक एवं कलेजका शिक्षकहरुकोतर्फबाट कलेज व्यवस्थापन समितिका सदस्य प्राध्यापक सावित्री त्रिपाठी, कलेज व्यवस्थापन समितिका अर्का सदस्य एवं दैनिक कार्यसञ्चालन समितिका संयोजक नरेश खड्का, समितिकै सदस्य सन्तोष केसीलगायतले कलेजका विविध विषयमा चर्चा गरेका थिए ।
कार्यक्रममा ग्रामिण अपांगता समन्वय समितिलाई एउटा थान कम्प्युटर पनि सौजन्यस्वरुप हस्तान्तरण गरियो । कलेज व्यवस्थापन समितिका अध्यक्ष खत्रीले समन्वय समितिका अध्यक्ष रामकृष्ण पोखरेललाई कम्प्युटर हस्तान्तरण गरेका हुन् । व्यवस्थापन समितिको ३८ औ बैठकको निर्णय अनुसार सहयोग गरेको जनाइयो । 
नेक पनि गैरनाफामुलक सामुदायिक कलेज भएको र समन्वय समिति पनि यही नेचरको भएकोले सहयोग गरेको कार्यक्रममा बताइयो । अर्काे पटक फेरि एउटा प्रिन्टर सहयोग गर्न वचन पनि कार्यक्रममै दिइयो । 
नेक गैर नाफामुलक सामाजिक संस्थाको रुपमा सञ्चालित कलेज हो । कम्पनी ऐन अनुसार जिल्ला प्रशाशन कार्यालय भक्तपुरमा दर्ता गरी यो कलेज सञ्चालनमा ल्याइएको जानकारी कार्यक्रममा गराइयो । 

Comments