मन्त्री डा. महावीर पुनज्यूलाई चिठी


असोज ९, २०८२, बिहीबार | दिउँसो ०१:४४ बजे | 135


मन्त्री डा. महावीर पुनज्यूलाई चिठी

नमस्कार!

तपाईंको तपस्या, सादगी र नवीनताले नेपाललाई नयाँ दिशा दिएको छ। म्याग्दीको नांगी गाउँमा गोठालो जीवनबाट सुरु गरेर अमेरिकामा विज्ञान शिक्षासम्मको यात्रा र १३ वर्ष शिक्षकको रूपमा सेवा—तपाईंको कथा हरेक नेपालीको प्रेरणा हो। नेपाल वायरलेस नेटवर्किङ प्रोजेक्टमार्फत हिमाली गाउँहरूमा इन्टरनेट पुर्‍याएर टेलिमेडिसिन, ई–लर्निङ र कृषि पर्यटन सम्भव बनाउनुभयो। सन् २००७ को रेमन म्याग्सेसे पुरस्कार र २०१४ को इन्टरनेट हल अफ फेमले तपाईंको योगदानलाई विश्वमाझ चिनायो।

राष्ट्रिय आविष्कार केन्द्र (एनआईसी) स्थापनाले तपाईंको ‘कवाडी विज्ञान’ दर्शनलाई साकार पार्‍यो। किताब महावीर पुन: सम्झना, सपना र अभिरल यात्रा बेचेर करोडौं सङ्कलन गरी ड्रोन, बायोमेडिकल उपकरण र कृषि औजारहरूको अनुसन्धान गर्नुभयो। पुरस्कार लिलामी र दानको भावनाले तपाईंको सादा जीवन उच्च विचारको सन्देश दिएको छ। मन्त्री भएपछि मन्त्रालयमा सानो कोठामा सुत्ने, भत्ता–सुविधा र सरकारी क्वार्टर अस्वीकार गर्ने निर्णयले तपाईंप्रतिको सम्मान झन् बढाएको छ। तपाईंको निश्चल भनाइ, “मलाई कवाडी वैज्ञानिक मन्त्री भन्नुहोस्, बधाई होइन, पाँच महिनाभित्र कार्यान्वयन गर्न सकिने शिक्षा र विज्ञानका विचारहरू व्हाट्सएपमा पठाउनुहोस्,” ले जनताको मन जितेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको रूपमा तपाईंले प्राविधिक शिक्षालाई प्राथमिकता दिनुहोस्। ग्रामीण स्कूलहरूमा वायरलेस ई–लर्निङ विस्तार गर्नुहोस्। प्राविधिक शिक्षाले कृषि, जलविद्युत्, ड्रोन र जैविक ऊर्जामा नवीनता ल्याउँछ, जसले रोजगारी सिर्जना र व्यापार घाटा न्यूनीकरण गर्छ। तपाईंको १% बजेट अनुसन्धानमा विनियोजनको मागलाई कार्यान्वयन गरेर शिक्षा क्रान्ति ल्याउनुहोस्। तपाईंले गठन गरेका अन्तरिक्ष, न्यूक्लियर, जैवप्रविधि र सूचना प्रविधि सल्लाहकार समितिहरूलाई प्रभावकारी बनाउनुहोस्। तपाईंको सादगी र तपस्याले देश र जनताको सेवा निरन्तर गरोस्।
 

Comments