सयपत्री साकोसको साधारणसभाः १५ प्रतिशत शेयर लाभांश पारित


असोज ५, २०८२, आइतबार | दिउँसो ०३:१२ बजे | 115


सयपत्री साकोसको साधारणसभाः १५ प्रतिशत शेयर लाभांश पारित

भक्तपुर । भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका ९ स्थित सयपत्री बचत तथा ऋण सहकारी संस्था लि.को १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । 
उक्त साधारणसभाको उद्घाटन संस्थापक ज्येष्ठ सदस्य बुद्धिबहादुर ङाखुसीले गर्नुभएको थियो । सभामा संस्थाका अध्यक्ष हरिगोपाल बासुकलाले पछिल्लो समय सहकारी अभियानले समस्या र चुनौतीहरु सामना गरिरहेको बताउनुभयो । सहकारीको मर्म, भावना र स्वालम्बनबाट विचलित भई सञ्चालित सहकारी संस्थाहरु संकटमा परेको भन्दै उहाँले समुदायमा आधारित भएर सुशासनमा सञ्चालित सहकारी संस्थाहरु समस्यामा नपरे स्पष्ट पानुभयो । सदस्यहरुले खाई नखाई सुरक्षित भविष्यको लागि गरेको बचत र सदस्यहरुको विश्वास माथि खेलबाड गर्ने सहकारी संस्थाहरुका कारण सबै सहकारी संस्थाप्रति नै आमनागरिकले हेर्ने दृष्टिकोण नकारात्मक हुनु चिन्ताको विषय रहेको उहाँको भनाइ थियो । 
संस्थाका सचिव सत्यराम थुयाजूले आ.व. २०८१÷८२ को प्रगति प्रतिवेदन, कोषाध्यक्ष रामप्रसाद मचामसीले आर्थिक प्रतिवेदन, ऋण उपसमितिका संयोजक नारायणभक्त थुयाजूले ऋण प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक बाबुकाजी माकजूले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गनुभएको थियो । ती प्रतिवेदनहरु माथि छलफलसँगै सदस्यहरुबाट उठेका प्रश्नहरुको सम्बन्धित पक्षबाट जवाफ दिइएपछि सभामा प्रस्तुत प्रस्तावहरु सर्वसम्मत रुपमा पारित गरिएको थियो । 
सचिव थुयाजूबाट प्रस्तुत आ.व. २०८१÷०८२ को प्रगति प्रतिवेदन, बचत तथा ऋण नीतिमा गरिएको संशोधन, विनियम पुनर्लेखन एवं आ.व. २०८२÷०८३ को नीति तथा कार्यक्रम, कोषाध्यक्ष मचामसीबाट प्रस्तुत आ.व. २०८१÷०८२ को आर्थिक प्रतिवेदन तथा आ.व. २०८२÷०८३ को अनुमानित बजेट, आ.व. २०८१÷०८२ को लेखापरीक्षण प्रतिवेदन र आ.व. २०८१÷०८२ को लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन सभाबाट सर्वसम्मत पारित गरिएको थियो । यसैगरी, सभाबाट आ.व. ०८२÷०८३ को लेखापरीक्षण गर्न आर.टी.श्रेष्ठ एन्ड एसोसिएट्सका रमेश थापा श्रेष्ठलाई लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण, आ.व. ०८१÷०८२ को खुद नाफालाई विनियमबमोजिम कोष बाँडफाँड गरी व्यवस्था गरिएको शेयर लाभांश कोषबाट सदस्यहरुलाई करसहित १५ प्रतिशतबराबर शेयर लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएको थियो । त्यसैगरी, संरक्षित पुँजी फिर्ता कोषबाट ऋणमा प्राप्त ब्याजको आधारमा ६० प्रतिशत र बचतमा दिएको ब्याजको आधारमा ४० प्रतिशतका हिसाबले रकम वितरण गर्ने प्रस्ताव पनि सभाबाट सर्वसम्मत पारित भएको थियो । 
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष रामचन्द्र बासी, देवी माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर थुयाजू, संस्थाकी उपाध्यक्ष रामकेशरी बासुकला र व्यवस्थापक सत्यराम त्वातीले पनि बोल्नुभएको थियो । 
 

Comments