भक्तपुर बचतको साधारणसभाः करसहित १५ प्रतिशत लाभांश पारित
असोज ४, २०८२, शनिबार | राति ०८:०२ बजे | 475
भक्तपुर, ४ असोज
भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८औं वार्षिक साधारणसभा १५ प्रतिशत लाभांशसहित विभिन्न प्रस्ताव पारित गरी शनिबार ब्रह्मायणी पीठ परिसरमा सम्पन्न भयो ।
संस्थाका सल्लाहकार लक्ष्मीनारायण दुवालबाट उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा उहाँले संस्थाको छवी राम्रो बनाउन नेतृत्व तह राम्रो हुनुपर्ने बताउँदै देशको नेतृत्व भ्रष्टाचार र अनियमिततामा लिप्ट भएकै कारण विभिन्न आन्दोलन भएको स्पष्ट पार्नुभयो । उहाँले देशको इतिहास बोकेको कलात्मक सम्पदाहरुमा विध्वंस मचाउन देशी विदेशी शक्तिको चलखेल भएको बताउँदै देशमा जुनसुकै परिवर्तनमा तिनीहरुकै घुसपैठ हावी भएकोले सचेत र सतर्क हुनुपर्ने औंल्याउनुभयो । साथै जेनजी पुस्ताले गरेको आन्दोलनले शोषित पीडित जनताका लागि आमूल परिवर्तन नहुने भएकाले यसबाट क्रान्तिकारी परिवर्तनको अपेक्षा गर्न नसकिने उहाँको कथन छ ।
सहकारी गानसँगै उद्घाटन भएको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष निर्मल प्रजापतिले संस्थाले सुरुदेखि गर्दै आएको सामाजिक कार्य र लगनशिलता र पारदर्शितालाई निरन्तरता दिइरहेको बताउनुभयो । संस्थाले बहुआयामिक तालिम तथा कार्यक्रमहरुमार्फत सदस्य र सदस्य परिवारलाई विभिन्न किसिमले लाभ दिइरहेको स्पष्ट पार्दै उहाँले सहकारीका लागि ल्याएका विभिन्न मापदण्ड, निर्देशिका र निर्देशनले सहकारीमा चुनौती थपेको औंल्याउनुभयो । उहाँले सदस्य केन्द्रित सेवासुविधा, प्रशासनिक र तालिम भवनजस्ता पूर्वाधार, निरन्तर उच्च प्रतिफल, सामाजिक दायित्व र निरन्तर सहकारीबीचको सम्बन्ध विस्तारले संस्थाप्रति सदस्यको विश्वास बढेको बताउनुभयो ।
उपाध्यक्ष लक्ष्मी प्रसाद कुसीले स्वागत गर्दै संस्थाले निरन्तर सदस्यको हितलाई ध्यानमा राखी कार्यक्रमहरु गरिरहेकोमा नियामक निकायहरुबाट आएका विभिन्न मापदण्ड र निर्देशनले साधारणसभाको कार्यक्रममा परिमार्जन आएको बताउनुभयो । भक्तपुर बचतकै संरक्षणमा सञ्चालित भक्तपुर आदर निकेतन सहकारी क्षेत्रमा नमूनाका रुपमा ल्याएको हुँदा शेयर सदस्यहरुबाट निरन्तर साथ र सहयोग दिनुपर्नेमा उहाँको जोड छ । धेरै सहकारी संस्थामा सदस्य भई ठगी गर्नेका कारण देशका सबै सहकारीेले निर्देशन पालना गर्न बाध्य भएको उहाँले स्पष्ट पार्नुभयो ।
सचिव जगनाथ प्रजापतिले ऋणको जोखिम विश्लेषण प्रतिवेदन पेश गर्दै बाह्य लेखा परीक्षकको एनएफआरएसमा तयार पारेको प्रतिवेदन र वास्तविक ऋणबारे अवगत गराउनुभयो । उहाँले वर्षभरिमा ८९ वटा फिल्ड निरिक्षण गरी ३ अर्ब २ करोड १५ लाख ७२ हजार रुपैयाँ ऋण लगानी भएको स्पष्ट पार्नुभयो ।
संस्थाका कोषाध्यक्ष रामप्रसाद प्रजापतिले आ.व. २०८१÷०८२ को सञ्चालक समितिको प्रगति प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक जितेन्द्र ज्याख्वले आ.व. २०८१÷०८२ को लेखा सुपरिवेक्षण समितिको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको बन्द सत्रबाट प्रस्तुत प्रस्तावमाथि सदस्यहरुबीच वृहत छलफल गरीे रायसुझावको अध्यक्ष र सचिवबाट स्पष्ट पारी प्रस्तावहरु पारित भएको थियो । पारित प्रस्तावहरुमा सञ्चालक समितिका कोषाध्यक्ष राम प्रसाद प्रजापतिद्वारा आ.व. २०८१÷०८२ को सञ्चलक समितिको प्रगति प्रतिवेदन र आ.व.२०८१÷०८२ को आयव्यय विवरण तथा आ.व. २०८२÷०८३ को अनुमानित वार्षिक बजेट तथा कार्यक्रम, लेखा सुुपरिवेक्षण समितिका संयोजक जितेन्द्र ज्याख्वद्वारा प्रस्तुत आ.व. २०८१÷०८२ को लेखा सुपरिवेक्षण समितिको प्रगति प्रतिवेदन, सञ्चालक समितिका सचिव जगनाथ प्रजापतिद्वारा प्रस्तुत आ.व.२०८१÷०८२ को जोखिम ऋण विश्लेषण प्रतिवेदन, बाह्य लेखापरीक्षक बि.आर.बि.एस. एण्ड एसोसिएट्सद्वारा प्रस्तुत आ.व. २०८१÷०८२ को एनएफआरएसमा तयार गरिएको बाह्य लेखा परीक्षण प्रतिवेदन, आ.व. २०८२÷०८३ का लागि एनएफआरएसमा बाह्य लेखापरीक्षण गर्न लेखापरीक्षक फर्म चौलागाई एण्ड एसोसिएट्सका सि.ए. नारायण चौलागाईलाई नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण, स्थिरीकरण कोषमा संस्था सहभागि नभइ त्यसमा छुट्याइएको रकम जगेडा कोषमा जम्मा गर्ने प्रस्ताव, सदस्यहरुको बचतमा पाएको र ऋणमा तिरेको ब्याजका आधारमा संरक्षित पूँजी फिर्ता कोषको वितरण गर्ने प्रस्ताव, सामुदायिक विकास कोषको ५० प्रतिशत भक्तपुर आदर निकेतनलाई प्रदान गर्ने प्रस्ताव, शेयर लाभांश कोषमा छुट्याइएको रकम शेयर पूँजीको आधारमा करसहित १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव, विभिन्न कोषको बाँकी रकम जगेडा कोषमा सारिएको प्रस्ताव, संस्थाको विनियम संशोधन, नीति, कार्यविधि संशोधन, भक्तपुर साकोस छात्रवृत्ति कार्यविधिलगायतका विभिन्न प्रस्तावहरु रहेका छन् ।
८ हजार ९ सय २४ सदस्यहरुमध्ये ८९ प्रतिशतभन्दा बढीको उपस्थिति रहेको उक्त सभामा सहसचिव तारादेवी धन्छा, व्यवस्थापक सत्यनारायण साँयजु, ज्ञानसागर प्रजापति, सत्यनारायण प्रजापति, रविन्द्र प्रसाद कुसी, विष्णुभक्त कुसीलगायतले बोलेको थियो ।