भक्तपुर बचतमा संस्थापक तथा पूर्व पदाधिकारी भेला


भदौ ३०, २०८२, सोमबार | राति ०७:२६ बजे | 120


भक्तपुर बचतमा संस्थापक तथा पूर्व पदाधिकारी भेला

भक्तपुर, ३० भदौ
भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थाको २८औं वार्षिक साधारणसभाको अवसरमा आइतबार संस्थाका संस्थापक तथा पूर्व पदाधिकारीहरुबीच भेला सम्पन्न भएको छ ।
कार्यक्रममा सल्लाहकार तथा संस्थापक सदस्य कृष्णप्रसाद धन्छाले ४० जना संस्थापकहरुबाट १ लाख २० हजार रुपैयाँ शेयर पूँजीबाट वि.सं. २०५४ साल कार्तिक १९ गते स्थापना भएको संस्थाले हाल ४ सय ५० करोडको वासलात बनाउन सफल भएको बताउनुभयो । संस्थाको प्रगतिका लागि संस्थापकहरुबाट निरन्तर सहयोग भइरहेको उहाँको कथन छ । विषम परिस्थितिमा देश अघि बढेको अवस्थामा बिमा भएकै कारण क्षति भएका भवन चाँडै बन्ने बताउँदै हरेक संघ संस्थाले बिमा गर्नुपर्नेमा जोड दिनुभयो । नयाँ पुस्तासँगै नयाँ प्रविधिमैत्री क्रियाकलापहरु गर्नुपर्ने बताउँदै उहाँले संस्थालाई नयाँ पुस्तामा हस्तान्तरण गरिसकेको स्पष्ट पार्नुभयो । 
संस्थाका संस्थापक अध्यक्ष सत्यनारायण प्रजापतिले लोकतन्त्रमा पूँजीबादी शासन पद्धती लाग्ने भएकाले राज्यले सहकारी संस्थालाई करले पेलेको बताउनुभयो । सहकारीले घरेलु तथा साना उद्यमीहरुका लागि मात्र ६५ प्रतिशतभन्दा बढी ऋण प्रदान गरिरहेको स्पष्ट पार्दै उहाँले शीर्ष स्थानमा रहेको यो संस्थालाई जोगाउन सबै लाग्नुपर्ने बताउनुभयो । संस्थाले ‘टेन्सन’, ‘क्राइसिस’ र ‘फाइनान्सियल म्यानाज्मेन्ट’ सम्बन्धी तालिमहरु दिनुपर्नेमा उहाँको जोड छ ।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष तथा संस्थापक सल्लाहकार रत्नप्रसाद प्रजापतिले सहकारीकै कारण हरेक व्यक्तिको आर्थिक कारोबारमा वृद्धि भएको बताउँदै राज्यले तिनै संस्थाको नियमन, नियन्त्रण र निगरानीमा वृद्धि गरेको बताउनुभयो । संस्थाको आर्थिक कारोबारमा आएको वृद्धिसँगै संस्थाका संस्थापक तथा पूर्व दाधिकारीहरुबीच नियमित छलफल तथा अन्तरक्रिया गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 
संस्थाका अध्यक्ष निर्मल प्रजापतिले विभिन्न उतारचढावका वीच प्रगतिपथमा आएको संस्थालाई सबै पक्षबाट निरन्तर सहयोगको अपेक्षा गर्दै प्राधिकरण, राष्ट्र बैंक, सहकारी विभागहरुबाट जारी निर्देशिका, निर्देशन, मापदण्डहरुले संस्था चलाउन अझ गाह्रो बनाएको बताउनुभयो । उहाँले ती मापदण्ड र निर्देशन बमोजिम संस्था चलाउन चुनौती थप्ने स्पष्ट पार्नुभयो ।
संस्थाका उपाध्यक्ष लक्ष्मी प्रसाद कुसीले संस्थाको गहना भक्तपुर आदर निकेतन स्थापना र त्यसको निरन्तरताका लागि विभिन्न पक्षबाट सहयोग आवश्यक भएको बताउनुभयो । उहाँले आदर निकेतनको हालसम्म भएका गतिविधि र आर्थिक कारोबारबारे स्पष्ट पार्नुभयो ।
संस्थाका व्यवस्थापक सत्यनारायण साँयजुले बोलेको उक्त कार्यक्रममा भक्तपुर बचतको संरक्षणमा स्थापित आदर निकेतनका लागि सोही भेलाबाट आर्थिक सहयोग प्रदान गरी अक्षय कोषको सुरुवात गरेको छ ।  
 

Comments