जुम्लाको स्याउ भक्तपुरमाः सस्तो पनि मीठो पनि
भदौ २९, २०८२, आइतबार | राति ०९:२६ बजे | 350
भक्तपुर । यस वर्षको जुम्लाको स्याउ भक्तपुर पुगेको छ । भाद्र महिनाको पहिलो हप्तादेखि स्याउ टिपेर भक्तपुरको कमलविनायक ल्याइएको छ ।
काठमाडौ ल्याएका व्यवसायीहरुले कोल्ड स्टोर नभई भण्डारण गर्ने ठाउँ नहुँदा भने समस्या परेको बताएका छन् । त्यसकारण बजारमा विक्री भए अनुसार मात्र स्याउ ल्याउने गरेको बताएका छन् ।
जुम्लाबाट भक्तपुर स्याउ लिएर आएका हरि राउटले हेर्दा कालोकालो, किरा परे जस्तो डागहरु रहेको तर खादा स्वादिलो मात्र नभइ कुनै केमिकल प्रयोग नगरिएको अगानिर्क स्याउ भएको बताए । त्यसकारण एक पटक खाएका धेरैले यो स्याउ खान पल्केको उनले बताए ।
विदेशी स्याउ हेर्दा राम्रो चिटिक्क पर्ने गरेकाले जुम्लेली स्याउले बजार नपाएको व्यवसायीहरुको गुनासो छ । विगतका वर्षहरुमा बजार नपाउँदा बोटमै कुहाउनु परेको, गाईवस्तुलाई खुवाउनु परेको, माटोमा पुर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उनले बोटबाट टिपेको हप्ता दिनभित्र काठमाडौ ल्याई विक्रीवितरण हुने गरेको उनले बताए ।
राउटका श्रीमती, छोराछोरी मात्र होइन अन्य व्यवसायीलाई पनि घरदैलो स्याउ विक्रीवितरणमा रोजगारी समेत दिदै आएको उनले बताए । भाद्र महिनाभित्र २ ट्रक स्याउ बिक्री गरिसकेको राउटले बताए । हरेक वर्ष भाद्रदेखि कार्तिक मंसिरसम्म स्याउ व्यवसाय गर्ने र अरु बेला जुम्लाको जडिवुटी व्यवसाय गर्दै १० जनाको परिवार पाल्दै आएको उनले बताए ।
अहिले सिजनको समयमा स्याउ भण्डारण गर्ने कोल्ड स्टोर भण्डारण कक्ष उपलब्ध भएको भए वर्षभरि स्याउ बिक्रीवितरण गरेर स्थायी रुपमा व्यवसाय प्रवर्धन गर्न सकिने थियो तर त्यस्तो व्यवस्था नहुँदा मात्र होइन, जुम्लादेखि काठमाण्डौसम्म ढुवानी गर्नलाई समेत अनेक समस्या रहेको उनले गुनासो सुनाए । हेलिकप्टरबाट त ढुवानी गर्न सकिदैन, गाडीबाट ढुवानी गर्दा बाटोमा बाढीपहिरो आइरहने हुदा दुईचार दिन ढिला भएर स्याउ बिग्रन, लगानी जोखिममा पर्ने समस्या रहेकोले बढी लागत पर्ने गरेको पीडा उनी सुनाउँछन् ।
उनका छोरा गणेश राउट पनि यो स्याउको सिजनमा आफ्नो बुवा, आमा, दाजु र दिदी बहिनीसँगै यो व्यवसायमा रमाइरहका छन् । उनी आफै घरदैलो जुम्लाको स्याउ बिक्रीबितरणमा रमाइरहेका छन् । भर्खरै कक्षा १२ पास गरिसकेर अब डिप्लोमा पर्ने बेला उनी स्याउ व्यवसायमा रमाइरहेका हुन् । समकालिन युवाहरु रोजगारीका लागि काला पठ्ठर र विदेश पुग्ने गरे पनि आफू भने ख्वप कलेजमा पढ्ने तयारीका साथ स्याउ व्यवसायमा परिवारलाई सघाइरहेको बताउँछन् उनी । हालै सम्पन्न जेनजीको आन्दोलनप्रति पनि उत्सुकता जगाउँदै उनले आफ्नो ठाउँमै विकास गरेर स्वरोजगार सृजना गर्न सकिने उनको विश्वास छ । कक्षा १२ सम्म साइन्स पढिसक्दा भविष्यमा के पढ्ने भन्ने विषयमा सोच्दै रहेको भन्दै उनले जुम्लाको स्याउ, मार्सी धान, सिमी, सिलाजित, यार्सागुम्वा सहित विभिन्न जडिवुटिको हव भएकोले रोजगारीको लागि विदेश जान नपर्ने गरी आफ्नै ठाउँमा जीवन जीउन सकिने विश्वास उनमा छ ।
खस भाषाको उद्गमस्थल जुम्लाको सिन्जाबाट ल्याएको स्याउ भएकोले ताथलीदेखि स्याउ किन आएका पूर्व शिक्षकद्वय् सहदेव शाखकर्मी, हरिकृष्ण राउटले बताए । भक्तपुरमा जुम्लाको स्याउ आएदेखि नियमित सेवन गर्दै आएको उनीहरुले बताए । जुम्लाको स्याउ वर्जिलन भएको भन्दै उनीहरुले यसको सुकुटी बनाउन पनि मिल्ने भन्दै अव मार्फा बनाएर खाने रहर जागेको बताए । अर्का शिक्षक श्रीकृष्ण केसीले जुम्ला जाँदा पनि गोटाको रु.५।१० मा किनेर खाएको स्मरण गर्दै अरु विदेशको स्याउ भन्दा जुम्लाको स्याउ स्वादिलो भएकोले आफूले पनि किनेको र अरुलाई पनि किन आग्रह गर्दै आएको बताए ।
