चुनौती बन्दै शिक्षण पेसा


भदौ १९, २०८२, बिहीबार | साँझ ०६:३७ बजे | 220


चुनौती बन्दै शिक्षण पेसा

सागर गुरागाईं
मैले शिक्षण सुरु गरेको अढाइ दशक पुरा भएको छ । तर शिक्षणमा दैनिक रुपमा नयाँनयाँ चुनौतीको सामना गरिरहेको छु । त्यो चुनौती भनेको शिक्षण सिकाइ भन्दा पनि विद्यार्थीहरुलाई कसरी संस्कारयुक्त शिक्षा दिने, कुनै कुरा सिक्नको लागि तयारी गराउने भन्ने रहेको छ । मेरो मान्यता भनेको पढाउने शिक्षक आफ्नो विषयमा समयसमयमा अपडेट हुनुपर्छ । विषयवस्तुको प्रचुर ज्ञान, शिक्षण शैली, शब्दचयन, भाषाको प्रयोगदेखि पढाउने शिक्षकको व्यक्तित्व पनि समयसापेक्ष हुनुपर्छ । त्यसको साथसाथै विद्यार्थीलाई कक्षाकोठामा पढाउनुअघि नियम, कानून र विषयवस्तुको बारेमा स्तरअनुसारको जानकारी दिइएर मात्र पढाउन सुरु गर्नुपर्छ । यी सबै विषयमा लागु हुन्छ । अहिलेका विद्यार्थीहरु केहि कुरो सिक्न, बुझ्न, जान्न  भनेर शिक्षालय आउने भन्दा पनि अरुको लागि बाध्यतावस शिक्षालय आएको देखिन्छ । उनीहरुलाई विषयवस्तुको महत्व, भविष्यको स्कोप आदि बारेमा जानकारी दिएर अध्यापन गर्नुपर्ने हुन्छ । तर विद्यार्र्थीलाई शिक्षासँगै असल संस्कार सिकाउने कार्य उसको घरपरिवार र अभिभावकबाटै हुनुपर्छ । हिजोआज धेरै विद्यार्थीहरु असल संस्कार भनेको के हो त्यसको बारेमा केहि व्यवहारिक ज्ञान नभएझै गर्छन् । यस्तो अवस्थामा घरपरिवार, अभिभावक, छिमेकी, साथीसंगी र शिक्षक सबै मिलेर उनीहरुलाई नितिनियम, कानूनसँगै असल संस्कारको आचरण बच्चादेखि नै सिकाउनु जरुरी देखिएको छ । विषयवस्तु पढाउन जानेर मात्र हुँदैन विद्यार्थीलाई उक्त विषयको ज्ञान दिनुअघि असल आचरण र नियमसँगै त्यो विषय अध्ययन गरेपछि भविष्यमा के फाइदा हुन्छ भन्ने कुरा स्तरअनुसार जानकारी दिनु अनिवार्य भइसकेको छ । नत्र शिक्षण सिकाइ प्रबल र प्रभावकारी हुँदैन ।
जुनकुनै पेसा व्यवसायका लागि योग्य जनशक्ति उत्पादन गर्ने काम शिक्षण पेसाबाट हुन्छ । गुरुलाई ब्रह्मा, विष्णु र महेश्वरकै रुपमा अनि आमाबुवाकै समान स्तरमा राखी आदर सत्कार गर्नुको कारण पनि गुरुले गर्ने मार्गदर्शन एवं शिक्षण पेसाप्रतिको सम्मान नै हो। शिक्षण पेसा हाम्रो संस्कृतिमा मात्र नभएर संसारभर सम्मान गर्नलायक पेसाका रुपमा रहँदै आएको देखिन्छ । ज्ञानको एक मात्र भरपर्दो स्रोतका रुपमा गुरुलाई लिने, शिष्यका जीवनमा आइपर्ने अनेक किसिमका बाधा अडचन हटाउन सहयोगी भूमिका खेल्ने भएकाले नयाँ आविष्कार एवं सिद्धान्त प्रतिपादनमा गुरुशिष्य परम्पराले पूर्वपश्चिम दुवैतिर महत्व राख्ने गरेको छ । गुरुको मार्गनिर्देशन र शिष्यको जिज्ञासु स्वभावका कारण नयाँ नयाँ आविष्कार र सिद्धान्त प्रतिपादन भएका पनि छन् । पछिल्लो समय शिक्षण सिकाइ क्रियाकलाप मात्र होइन, दैनिक जीवनका अनेकन कार्यमा विज्ञान प्रविधि र सामाजिक, आर्थिक परिवेशले आमूल परिवर्तन ल्याइदिएको छ । जेनजी पुस्ताका रुपमा चिनिएको वर्तमान पुस्ताले सबैभन्दा विश्वासनीय स्रोतका रुपमा इन्टरनेट र यसमा उपलब्ध सूचनालाई लिनु, ग्याजेट संस्कृति मौलाउँदै जानुले परम्परागत पठनपाठनमा रुचि हट्दै गएको छ । त्यसो त यस पुस्तामा तत्काल आनन्द प्राप्त हुने काम र कुरामा मात्र ध्यान दिने प्रवृत्ति विकास भएको छ । विज्ञान र प्रविधिले आविष्कार गरेका नयाँ नयाँ कुराको अत्यधिक प्रयोग गरी लाभ लिनु राम्रो भए पनि पठनपाठनका सन्दर्भमा ग्याजेटका माध्यमबाट गरिने अध्ययन सतही हुने तथ्य अध्ययनले देखाएका छन् । ग्याजेटमा विभिन्न मनोरञ्जनात्मक र खेलसँग सम्बन्धित क्रियाकलापमा संलग्न हुँदै जाने प्रवृत्तिले बालबालिकाको एकाग्रतामा कमी हुँदै गएको छ । सहज रुपमा उपलब्ध हुने विभिन्न किसिमका एप र सोलुसनका कारण उनीहरुको अभ्यास गर्ने बानी हट्दै गएको छ । ग्याजेटमै निर्भर हुँदै जाँदा जीवनका हरेक क्षणमा अत्यावश्यक पर्ने जोड, घटाउ, गुणन, भाग र आधारभूत कोड वा सङ्ख्या र विभिन्न ठाउँ र व्यक्तिका नाम र सकेंतसमेत स्मर्ण गर्न नसक्ने अवस्था सिर्जना भएको छ । विज्ञान र भाषाका कुरा मात्र होइन गणित विषय पनि लेखेर होइन पढेर अभ्यास गर्ने बानी पछिल्लो पुस्तामा देखिने गरेको छ । विद्यालय तहका विद्यार्थीले च्याटजिपिटी, जेमिनी, डिप्सिक आदिका माध्यमबाट गृहकार्य गर्ने बानीका कारण उनीहरुको सिर्जनशीलतामा पनि कमी आएको छ । अथाह सिर्जनशील क्षमता भएको मानव मस्तिष्क स्मरण, मन्थन र सिर्जनशील कार्यमा संलग्न हुनै नपर्ने परिस्थिति सिर्जना हुँदा मस्तिष्कीय क्रियाकलाप गर्न सक्ने क्षमतामा ह्रास आएको छ । घोकन्ते विद्या काम छैन भन्ने भाष्य र आधुनिक प्रविधिले सिर्जना गरेको अल्छीपनले गर्दा आधारभूत सूचना, सिप र आदतसमेत विकास हुन नसक्ने अवस्था देखिएको छ । यसले शिक्षण सिकाइ क्रियाकलापलाई प्रत्यक्ष रुपमा प्रभाव पारेको छ । अभिभावक शिक्षा र शिक्षक ः सामुदायिक विद्यालयमा प्रायः अभिभावक विद्यालयको सम्पर्कविहीन हुने गरेका छन् । सन्तानलाई विद्यालय पठाए आफ्नो सम्पूर्ण दायित्व पूरा हुने ठान्ने अभिभावक आवश्यक अभिभावक शिक्षाको अभावका कारण विद्यार्थीको सर्वा»्गीण विकासका लागि खेल्नुपर्ने भूमिकाबाट वञ्चित भएका छन् । विद्यार्थीको संगत र आनीबानीबारे शिक्षक र अभिभावकबिच संवाद शून्यता देखिन्छ । यसले गर्दा विद्यार्थीको नियमितता र गृहकार्यमा समेत समस्या सिर्जना हुने गरेको छ । सौमुदायिक विद्यालयका शिक्षकको जागिर स्थायी हुने भएकाले उनीहरु अतिरिक्त सक्रियता देखाउन अनिच्छुक छन् । प्रविधिसँग अभ्यस्त भएको पछिल्लो पुस्तालाई पठनपाठन क्रियाकलापमा संलग्न गराउन परम्परागत सिप मात्र पर्याप्त हुँदैनन् । यसका लागि शिक्षकले समयानुकूल सिप आर्जन गर्नु अपरिहार्य छ । धेरै शिक्षक आफूलाई अद्यावधिक गर्न रुचाउँदैनन् । त्यसैले उनीहरु समयको बहाब अनुसार आफूलाई परिवर्तन गर्न पनि सक्दैनन् । अर्कातिर जेनजी पुस्ता अभिभावक, विद्यालय वा शिक्षक कसैसँग कुनै प्रकारको डरमा नरहने हुँदा आफूलाई पूर्ण स्वच्छन्द ठान्छन् । दण्ड वा सजायको डर सिकाइका लागि साधक नबनी बाधक नै बन्ने भए पनि विद्यार्थीमा संस्कार र मर्यादाको दायरा उल्लङ्घन गर्नुहुँदैन र आफूले गल्ती गरे त्यसको परिणाम भोग्नु नै पर्छ भन्ने चेतनाको विकास हुनै पर्छ। यसले नै उनीहरुलाई अनुशासित र मर्यादित बन्न सघाउँछ । संस्थागत विद्यालयका शिक्षकका पीडा अझै बढी कष्टप्रद देखिन्छ । अभिभावक लगानी अनुसारको उपलब्धि नआउँदा शिक्षकलाई नै अपजस दिने र आफ्ना बालबालिकाले उत्कृष्ट नतिजा ल्याउनुपर्ने अपेक्षा राख्छन् । सबै विद्यार्थीको क्षमता समान हुँदैन तर अभिभावक आफ्नो बच्चा नै सबै क्षेत्रमा प्रथम हुनु पर्छ भन्ने अभिप्रायले शिक्षण सिकाइ क्रियाकलापप्रति प्रायः असन्तुष्ट रहने गर्छन् । यसको प्रत्यक्ष प्रभाव कार्यरत शिक्षकमा पर्छ भने विद्यार्थी टिकाउन विद्यालय सञ्चालकको प्रत्यक्ष र अप्रत्यक्ष दबाब पनि शिक्षकमाथि नै पर्ने गर्छ । जागिरको अनिश्चितता र पर्याप्त सेवा सुविधाको अभावले शिक्षक आफ्नो पेसाप्रति उत्साही बन्न सक्दैनन् । शिक्षकमा विकसित भावको असर कुनै न कुनै रुपमा विद्यार्थीमा पनि सञ्चारित हुने गर्छ । सबै विषयमा केही न केही कुरा थाहा पाएका तर वास्तविकसिप नसिकेका विद्यार्थीलाई अनुशासनमा राखेर सिकाइ क्रियाकलाप सञ्चालन गर्नु र अभिभावक तथा विद्यालय सञ्चालकको अपेक्षा पूरा गर्नु संस्थागत विद्यालयमा कार्यरत शिक्षकको निकै ठुलो चुनौती हो । शिक्षकप्रतिको धारणा ः सबै पेसाका लागि दक्ष जनशक्ति उत्पादन गर्ने कार्यमा शिक्षकको अहम् भूमिका हुन्छ । आर्थिक दृष्टिबाट मात्र व्यक्ति र पेसाको मूल्य खोज्ने उत्तर आधुनिक पैसामुखी समाजमा शिक्षक निरीह र दुःखी प्राणीका रुपमा चित्रित हुने गर्छन्। कम्प्युटर, गणित, विज्ञान जस्ता विषय अध्ययन गरेका व्यक्ति अन्य क्षेत्रमा असफल भएर वा जान नसकेर मात्र शिक्षण पेसामा आउने गरेकाले उनीहरु हीनताग्रन्थिका सिकार भएका हुन्छन् । कृत्रिम बौद्धिकता र आमसञ्चारमा बढ्दो पहुँचले शिक्षकले दिने सूचना विद्यार्थीका लागि नयाँ हुन सक्दैन । यसैले कक्षा क्रियाकलाप पनि उत्साहजनक र रुचिकर हुन नसकेका उदाहरण देखिन्छन् । अर्कातिर समाजले दुखी र विचरा देखेका कारण शिक्षकमा आफ्नो पेसाप्रतिको सम्मानको भाव पनि विकसित हुन सकेको देखिँदैन । विद्यार्थीलाई शारीरिक दण्डबिना अनुशासनमा राख्नैपर्ने विद्यालय प्रशासनको अपेक्षा अनि सिकाइ प्रभावकारी हुनुपर्ने र विद्यार्थीको सिकाइको पूरा जिम्मा शिक्षकले नै लिनुपर्ने अभिभावकको सोच शिक्षकका लागि सबैभन्दा ठुलो समस्या बन्ने गरेको छ । त्यसो त कुनै प्रकारको सिर्जनशील र सिकाइमूलक दण्डसमेत दिन हुँदैन भन्ने अधिकारवादी समाजबाट शिक्षकलाई हेर्ने शंकालु दृष्टिकोण र जुनसुकै बहानामा शिक्षकलाई समस्यामा पार्न सक्ने सम्भावनाले शिक्षण पेसा झनै चुनौतीपूर्ण बन्दै गएको छ । शिक्षक आवश्यकताभन्दा बढी जिम्मेवार बन्ने उद्देश्यले सिकाइलाई मन्दा नियन्त्रणलाई नै जोड दिन थाल्दा शारीरिक दण्ड र मानसिक त्रासको सहयोग लिन पुगेका घटना पनि सार्वजनिक हुने गरेका छन् । यिनले बालबालिकाको निर्धक्क बालमैत्री वातावरणमा हुर्कन पाउने नैसर्गिक हक हनन भएको पनि देखिन्छ । के गर्ने त ? ः शिक्षक संयमित बनी पेसागत आचरणमा रहँदै सम्भाव्य दुर्घटनाबाट बचेर काम गर्न सक्षम हुनु पर्छ । समय सुहाउँदा नयाँ शिक्षण विधि, अनुशासन संहिता, विद्यार्थी सहभागिता, विद्यालय–अभिभावक–शिक्षक सहकार्य र विद्यार्थीको सर्वतोमुखी वा सर्र्वा»्गीण विकास गर्ने उद्देश्य राखी काम गर्नु पर्छ । यस्तो अवस्थामा विद्यार्थीलाई संस्कार, आचार र मर्यादाको दायरामा राखी बालमैत्री वातावरणमै हुर्काउनु आजको आवश्यकता हो । विद्यार्थीका रुचि अनुरुपका परियोजना, समूह कार्य, समस्या समाधान, विधान्तरण र प्रस्तुतीकरण विधिको अत्यधिक प्रयोग गरेर कुक्षालाई रुचिकर बनाउन सकिन्छ । घरमा एक दुई जना बालबालिकालाई नियन्त्रणमा राख्न नसकेका अभिभावक सबै विद्यार्थीलाई आफूले सोचे अनुसारको अनुशासनमा शिक्षकले राखोस् भन्ने चाहन्छन् । यसका लागि शिक्षकसँग कुनै त्यस्तो रामवाण नहुने भएकाले यथार्थपरक अपेक्षा राख्नु आवश्यक छ । शिक्षण पवित्र पेसा भएकाले पेसालाई आर्थिक, नैतिक र सामाजिक रुपमा समेत सम्मानित बनाउनु पर्छ । कृत्रिम बौद्धिकता र दिनानुदिन विकसित हुँदै गएका सूचना प्रविधिका कारण आगामी दिनमा शिक्षकको भूमिका कस्तो हुने भन्नेबारे चिन्ता व्यक्त गर्न थालिएको छ । यस अवस्थामा शिक्षक समयानुकूल अद्यावधिक हुन नसक्दा र बालबालिकामा पठन संस्कृति र सिकारु प्रवृत्ति पनि खस्कँदै जाँदा यो पेसा दिनानुदिन चुनौतीपूर्ण बन्दै गएको छ । 

Comments