यो पटक मध्यपुरको जिव्रो छेड्ने व्यक्ति भक्तपुर आउने 


भदौ १८, २०८२, बुधबार | राति ०९:१२ बजे | 275


यो पटक मध्यपुरको जिव्रो छेड्ने व्यक्ति भक्तपुर आउने 

तस्वीर यो वर्ष जिव्रो छेड्ने व्यक्तिको हो । 
केके मानन्धर
यो वर्ष आउँदो भदौ २२ गते आइतबार विरेन्द्रभक्त गजू श्रेष्ठले चौंथो पटक जिब्रो छेडने भएका छन् । मध्यपुर थिमि वडा नं. ४ (क्वलाखु) बालकुमारी निवासी श्रेष्ठ ‘येँयाः पुन्हिया लसताय् म्येप्वाः खानेगु जात्रा’मा जिब्रो छेडाउन तयार भएका हुन् । प्राविधिक कारणले बन्द भएको संस्कृतिलाई दसकौं पश्चात् पुनर्जिवित गराउँदै उहाँले पहिलो पटक २०७४ सालमा जिब्रो छेडाएका थिए । त्यसपछि २०७९ र २०८१ मा पनि जिब्रो छेडाउनुभयो । 
यो वर्ष थिमिको दिगुटोलस्थित प्रचण्ड भैरव अघिल्तिरको डबलीमा उहाँले जिब्रो छेडाउने मिति र तत् पश्चात् परिक्रमा गरिने रुट समेत सार्वजनिक भएको छ । यो वर्ष जिब्रो छेडाएर भ्ये बोकेर खाली खुट्टा हिंडेरै भक्तपुर नगरको नवदुर्गा र दत्तात्रय दर्शन गर्न जाने निश्चित भएको छ । थिमि नगरदेखि करिव १० किलोमिटरको दूरीलाई दिगुटोलबाट सुरु गरेर बालकुमारी मन्दिर पुगेर सम्पन्न गराउने ढंगले तयारी थालेको बताइएको छ । जिब्रो छेड्ने श्रेष्ठसँगै सयौं दर्शनार्थी हिंड्ने रुट तपसिल रहेको छ । १. दिगुटोल २. बालकुमारी मन्दिर ३. तछुटोल (गांतले) ४. बिष्णुबिर मन्दिर ५. यमाटोल ६. मरुटोल ७. शंखधर चोक थिमि ८. दक्षिण बाराही मन्दिर (क्वाछेँ) सोही रुट भएर शंखधर चोक थिमि ९. ताकुबा हुँदै राधेराधे १०. सल्लाघारी ११. चोङा गणेश १२. सिद्ध पोखरी १३. नःपुखू १४. दरबार स्क्वायर १५. न्यातापौ देगः (तःमारी) १६. सुकुलढोका १७. दत्तात्रय मन्दिर (तचपाः) १८. क्वाठण्डौं १९. नवदुर्गा मन्दिर (द्यःछेँ) २०. साःक्वलान हुँदै न्यातापौ देगः (तःमारी) फिर्ता २१. बंशगोपाल २२. सिद्ध पोखरी २३. चोङा गणेश २४. निकोसेरा २५. नगरपालिका चोक २६. पाटी बिहार २७. गुङ्गः चिवाः २८. भिमसेन चोक २९. गणेश स्कूल हुँदै नगदेश ३०. सिद्दी गणेश मन्दिर ३१. गार्चा चोक ३२. सिद्धिकाली चोक ३३. सिद्धिकाली मन्दिर ३४. भुलांख्यः ३५. चोदे टोल ३६. निगूपुखू ३७. (क्वलाखु) बालकुमारी मन्दिर । 

नेपाल संवत् तिथि बमोजिम ञंलाथ्व पुन्हि अर्थात् इन्द्रजात्राको भोलिपल्ट हजारौंको संख्यामा उपस्थित भीडभाडकाबीचमा कर्मी नाइकेले करिव १० इन्च लामो सुइरोले विरेन्द्रभक्त गजू श्रेष्ठको जिब्रो छेडाउने छन् । काठमाडौं उपत्यका तथा छेउछाउका जिल्लाहरुमा येँयाः अर्थात् इन्द्रजात्रालाई आआफ्नै ढंगले मनाउने प्रचलन रहेको पाइन्छ । राजधानी काठमाडौंमा जिवित देवी कुमारी, गणेश र भैरवको रथ जात्रा भइरहँदा भक्तपुर जिल्लाको मध्यपुर थिमि वडा नं. ४ र ५ मा जिब्रो छेड्ने जात्रा हुन्छ । इन्द्रजात्राको उपलक्ष्यमा हुने जिब्रो छेड्ने जात्राको लागि आवश्यक तयारी सुरु भइसकेको छ । भदौ २२ गते हुने जात्राको लागि करिव एक महिना अघिदेखि सुइरो बनाउने कौनायः (नकर्मीका नाइके)को घरमा जिब्रो छेड्ने सुइरो तयार गर्नको लागि निश्चित गर्नजाने परम्परा तथा एक हप्ता अघि द्यःदुसालेगु (देवता आह्वान गर्ने) परम्परा समेत सकिएको छ ।

जात्राको साँझ नगरभित्रका विभिन्न ठाउँमा दीप प्रज्वलन गरेर करिव ८ बजे दिगुटोल पुगेका उहाँलाई दुई जना सहायकमार्फत भैरव मन्दिर फर्काएर डबलीमा चढाइन्छ । त्यसपछि शुद्ध तोरीको तेलमा डुबाइ राखिएको फलामको सुइरोले जिब्रो छेडिन्छ ।

नायः पःमां (तत्कालिन थिमि दरबारका प्रमुख प्रशासक)को उपस्थितिमा श्रेष्ठले जिब्रो छेडाएसँगै भ्ये (महादीप)लाई काँघमा बोकेर उहाँ यो वर्ष हिँडेरै भक्तपुर नगरमा अवस्थित नगदुर्गा तथा दत्तात्रय दर्शन गर्नजाने भएका छन् । सो ठाउँमा स्थानिय साःक्वालन टोलका मानन्धर समुदायले श्रेष्ठलाई स्वागत गर्दै तेल थपिदिने विषय पनि टुङिगएको छ । उहाँसँगै सयौंको संख्यामा संस्कृतिप्रेमीहरु भक्तपुर पुग्नेछन् । खाली खुट्टा सेतो जामा लगाएर नगर परिक्रमा गर्ने उहाँसँगै ‘ताकुं भ्येः ख्वाःमस्यूसें भ्वय् नये’ भन्दै स्थानिय युवाहरु पनि सहभागी हुनेछन् । कतिपयले धिमे बाजाको तालमा भुस्याः बजाएर नगर परिक्रमा गर्नेछन् । जिब्रो छेड्ने व्यक्तिको इच्छाअनुसार यसअघि बोदे, नगदेश, टिगनी, नीलबाराही, भक्तपुरको चाँगुनारायण तथा काठमाडौंको पशुपतिनाथसम्म पनि परिक्रमा गरेको इतिहास छ । 

ऐतिहासिक पक्षः

काठमाडौंमा कुमारी, भैरव र गणेशको रथ तानेर इन्द्रजात्रा मनाइ रहँदा थिमिमा भने जिब्रो छेडाएर जात्रा मनाइन्छ । प्रत्येक वर्ष इन्द्रजात्राको भोलिपल्ट थिमिमा जिब्रो छेड्ने परम्परा भएपनि विगत केहि दशक यता आर्थिक तथा प्राविधिक कारणले यो जात्रा बन्द हुने र पुनः सन्चालनमा आउने क्रम जोडिएको छ । विरेन्द्रभक्त गजू श्रेष्ठले जिब्रो छेडाउनु अघि २०५०, २०५७ र २०६३ मा जिब्रो छेडाएको थियो । २०५० देखि ०६३ सम्म तीन पटक कृष्ण नानिचा श्रेष्ठले संस्कृति संरक्षणमा योगदान दिएको देखिन्छ । त्यसपश्चात् अर्थात् २०७४ यता चोदे टोलका बालकराम नानिचा श्रेष्ठले पनि दुई पटक जिब्रो छेडाएका छन् । 

‘यो जात्राको आधिकारिक अभिलेख भेटिएको छैन । तर पनि बालकुमारी मन्दिरमा अवस्थित सुइरोको संख्यालाई हेरेर आंकलन गर्दा करिव साढे तीन सय वर्ष अघिदेखि शुरु भएको अनुमान लगाउन सकिन्छ ।’ स्थानिय पूजा गुठीका प्रदीप जामनः श्रेष्ठले बताए । जिब्रो छेडाउने व्यक्तिलाई नगर परिक्रमा गराए पश्चात् सोही मन्दिरभित्रको थाममा सुइरो चढाउनुपर्ने हुन्छ । अहिले पनि थाममा कम्तीमा ३५५ वटा सुइरोलाई टाँगिएका छन् । कतिपय अवस्थामा एकै वर्ष सात जनाले पनि जिब्रो छेडेको र धेरैवर्ष बन्द हुने क्रमसँगै थिमिमा जिब्रो छेड्ने जात्राको ऐतिहासिक पक्षको यकिन आंकलन भने गर्न सकिएको छैन ।

जबकी यो जात्रासँग किंवदन्ती भने जोडिएको छ । जनश्रुती अनुसार नगरभित्रका भूतप्रेत तथा ख्याकलाई भगाउन शाहसीक व्यक्ति छनोट गरी जिब्रो छेड्ने चलन शुरुआत गरिएको थियो । जिब्रो छेड्ने व्यक्तिसँग यांमता (लामो बाँसमा कपडाले बेरेर तोरीको तेल राखेर बाल्ने आकास दीप) सहभागी गराउने कथन पनि करिव उस्तै छ । नगरस्थित घरको छानो, अँध्यारो ठाउँ तथा कुनाकाप्चामा लुकेर बसेका ख्याकलाई आगोले पोलेर भगाउनको लागि यांमता प्रयोग हुने बताइन्छ ।

तर वैज्ञानिक तर्क भने अलिक फरक हुनसक्छ । तत्कालिन अवस्थामा बिजुली बत्ती विकास भएको थिएन । जात्रालुलाई बाटो देखाउन यांमता सहभागी गराइएको तर्क तुलनात्मक बढी सहि होला ।

जात्रामा श्रेष्ठ समुदायको नायः पःमां, कःमि नायः तथा अन्य पदवीले थिमिको जिब्रो छेड्ने जात्रा मल्लकालीन परम्परासँग सम्बन्धित भएको दर्शाउँछ । जबकि यसको आधिकारीक अभिलेखले यसलाई थप पुष्टि गर्दै जाला अथवा भनौं यसको विषयमा विस्तृत अध्ययन जरुरी छ ।

पूजाविधिः

जिब्रो छेड्ने जात्राको लागि श्रेष्ठ समुदायभित्रको जामनः थरकाले पूजाविधि चलाउनुपर्ने प्रावधान छ । आठ दिन अघि ‘द्यः दुसालेगु’ भन्दै बालकुमारी पीठमा एघार वटा किसली (माटोको प्यालामा चामल, सुपारी र सिक्का राखिएको)सँग बलिपूजा गरी साधना गर्नुपर्ने हुन्छ । त्यस्तै इन्द्रजात्राको दिन पनि सोही पीठमा छ्वय्ला ब्वः गरी भोज आयोजना गर्नुपर्ने हुन्छ ।

भाद्र शुक्ल पूर्णिमाको दिन जामा लगाएर बालकुमारीमा पूजा जानुपर्ने चलन छ । त्यसदिन जिब्रो छेड्ने व्यक्ति मौन ब्रत बसेको हुन्छ । जिब्रो छेड्ने दिन साँझ बालकुमारीदेखि प्रचण्ड भैरवसम्मका फरक पीठ र मन्दिरमा पुगेर दीप प्रज्वलन गरेको हुन्छ ।

पूर्णिमाको राती जिब्रो छेड्ने व्यक्तिले नगर परिक्रमा गरेपछि अन्तमा बालकुमारी मन्दिरमा पुगेर कःमि नायःले सुइरो निकाले पश्चात् नित्यनाथ परिसरको माटो जिब्रोमा लगाइदिएको हुन्छ । त्यसलगतै सगुन लिएर भोज खुवाउने चलन छ भने भोलिपल्ट बिहान बालकुमारीमा नातु पूजा भनी देवता पु¥याउन जाने अर्थात विसर्जन पूूजा गर्नुपर्ने प्रावधान छ ।

जिब्रो छेड्ने जात्रासँग बसन्तपुर दरबारको सम्बन्धः

यो जात्राको सम्बन्ध प्रत्यक्ष रुपमा काठमाडौंको बसन्तपुर दरबार र इन्द्रजात्रासँग जोडिएको छ । पूर्णिमाको चार दिन अघि नायः पःमांको नेतृत्वमा बाजागाजासहित हनुमानढोका दरबारबाट राजखड्गलाई थिमि नगरमा भित्र्र्याइन्छ । राजकीय सम्मान दिएर दरबारको राजखड्गलाई थिमि नगरमा प्रवेश गराइनुले थिमिको जिब्रो छेड्ने जात्रा र बसन्तपुर दरबारसँगको सम्बन्धलाई दर्शाउँछ । पूर्णिमाको चार दिन अघि नगर प्रवेश गराइने राजखड्गलाई जिब्रो छेड्ने समयमा दिगुटोलको डबलीमा सहभागी गराइन्छ ।

ऐतिहासिक र समावेशी संस्कृतिः

ऐतिहासिक र समावेशी संस्कृतिको पहिचान बनाएको मध्यपुर थिमिको जिब्रो छेड्ने परम्परालाई जगेर्ना गर्न २०७४ सालमा चन्द्रकृष्ण श्रेष्ठको अध्यक्षतामा व्यवस्थापन समिति बनाइएको छ । त्यस्तै चोदे टोलले पनि जात्रा आयोजना गरेको सन्दर्भमा श्यामहरि धनके श्रेष्ठको संयोजनमा ‘येँयाः पुन्हिया लसताय् म्येप्वाः खानेगु जात्रा व्यवस्थापन समिति’ बनाइएको छ । १५ सदस्यीय समितिले जात्राको लागि आवश्यक पूजा सामग्रीको जोहो गर्नेदेखि आर्थिक प्रबन्ध मिलाउने, स्वयंसेवी परिचालन र जात्रामा सहभागी हुने फरक समुदायसँग समन्वय गर्ने जिम्मेवारी पाएको छ ।

जात्राको लागि आवश्यक पूजाविधि गर्ने र जिब्रो छेड्ने व्यक्ति भने श्रेष्ठ समुदायबाट छनोट गर्नुपर्ने प्रावधान छ । त्यस्तै जात्रामा यांमतालाई सहभागि गराउनेमा मानन्धर समुदायले जिम्मेवारी पाएको हुन्छ । चोदे टोलको (थातु साः) मानन्धर युवा समूह र सिवा टोलको (क्वथुसाः) सिवा साय्मि खलःबाट जात्रामा दुई वटा यांमतालाई सहभागी गराइन्छ । थातुसाःको टोलीले लामो बाँसमा कपडाले बेरेर त्रिशूल आकारमा बनाइएको यांमतालाई जिब्रो छेड्ने व्यक्तिको अघिअघि सहभागी गराउँदा क्वथुसाःको टोली जात्रालुको पछिल्तिर सहभागी हुन्छन् ।त्यस्तै, पूर्णिमाको चार दिन अघि बसन्तपुर दरबारबाट राज खड्गलाई नगर प्रवेश गराउँदा कपाली समुदायले म्वाय्लि बाजा बजाउनु पर्ने प्रावधान छ । सुइरो बनाउने जिम्मेवारी भने नकर्मी समुदायको हुन्छ । जिब्रो छेड्ने व्यक्तिले बोकेको भ्ये (महादीप)लाई कुटु (प्रजापति) समुदायले लानुपर्ने बताइन्छ ।

जात्रामा नेवारभित्रका श्रेष्ठ, मानन्धर, नकर्मी, कपाली, कुटु, भासिमां (प्रजापति)हरुको सहभागिता, जिम्मेवारी र भूमिकाले थिमिको जिब्रो छेड्ने जात्रा समावेशी चरित्रको रहेको पुष्टयाउँछ । संस्कृतिले समुदायबीचको एकतालाई प्रदर्शन गर्ने भएर पनि यस्ता संस्कृति संरक्षण गर्नु आवश्यक छ । यस्ताखाले संस्कृतिले एक त सांस्कृतिक पहिचान दर्शाउँछ भने अर्कोतर्फ राजनीतिक, आर्थिक तथा अन्य तबरले फरक क्षेत्रका व्यक्तिलाई एकै थलोमा ल्याएर सहकार्य गर्ने÷गराउने अवसर दिलाउँछ ।

Comments