ज्येष्ठ नागरिकप्रति परिवार र समाजको व्यवहार
भदौ १८, २०८२, बुधबार | विहान १०:०२ बजे | 135
भूमिका
मानिसको जीवनचक्र शैशव, किशोर, युवा हुँदै वृद्धावस्थामा प्रवेश गर्छ । यस अन्तिम चरणमा मानिसको शारीरिक क्षमता, मानसिक ऊर्जा र सामाजिक सहभागिता घट्दै जान्छ । उमेर बढ्दै गएपछि सोच्ने तरिका, भावनात्मक संवेदनशीलता, व्यवहारजन्य प्रतिक्रिया र रुचिहरूमा समेत परिवर्तन आउँछ । वृद्धहरूमा सामाजिक र भावनात्मक अपेक्षाहरू विशिष्ट प्रकारका हुन्छन् । उनीहरूले आफूप्रतिको व्यवहार पनि तिनै अपेक्षाअनुसार पाउन चाहन्छन् ।
वृद्धवृद्धाहरू धेरैजसो घरभित्रै सीमित जीवन बिताउन थाल्छन् । उनीहरूलाई सक्रिय, सम्मानित र सन्तुष्ट जीवनयापन गर्नका लागि परिवार, छरछिमेक र समाजको भूमिकाको कुनै विकल्प छैन । यस निबन्धमा वृद्धहरूको रुचि, सोच, व्यवहार र उनीहरूले अरूबाट आफूप्रति चाहेका व्यवहारबारे चर्चा गरिनेछ । विशेषतः नातिनातिना, छोराछोरी, बुहारी, ज्वाइँ तथा छरछिमेकीले उनीहरूप्रति कस्तो व्यवहार गर्नुपर्छ भन्नेबारे बुँदागत रूपमा व्याख्या हुनेछ।
१.वृद्धवृद्धाको रुचि, चाहना र जीवनशैलीमा परिवर्तन
उमेर बढ्दै जाँदा वृद्धहरूका रुचि, चाहना र प्राथमिकताहरू फरक बन्छन् । उनीहरू भौतिकभन्दा भावनात्मक सन्तुष्टिमा केन्द्रित हुन थाल्छन् । शारीरिक रूपमा सक्रियता घट्ने भए पनि मानसिक र भावनात्मक तुष्टि अझ बढ्दो हुन्छ । एक्लोपन, उपेक्षा, असहयोग वा असम्मानजनक व्यवहारले उनीहरूमा अवसाद, निराशा र आत्मग्लानि उत्पन्न हुन सक्छ ।
वृद्धहरू जीवनको उत्तरार्ध शान्त र सन्तोषपूर्ण बनाउने चाहना राख्छन् । उनीहरू धार्मिक क्रियाकलाप, पारिवारिक मेलमिलाप, आत्मीय सल्लाह, पुराना सम्झनाहरूको पुनरावलोकन, बालबालिकाको साथ, घरको वात्सल्यपूर्ण वातावरण आदि कुरामा विशेष रुचि राख्छन् । भौतिक चिजभन्दा भावनात्मक सन्तुलन र आत्मसम्मान उनीहरूको प्राथमिकता बन्छ ।
२. छोराछोरीको भूमिका र व्यवहार
छोराछोरी वृद्धवृद्धाका जीवनका आधारस्तम्भ हुन् । उनीहरूलाई पालनपोषण, शिक्षादीक्षा, विवाह, सम्पत्ति व्यवस्थापन आदि सबै पक्षमा सघाएका वृद्धहरू बुढेसकालमा छोराछोरीमा नै आश्रित हुने अपेक्षा राख्छन् । छोराछोरीले वृद्ध आमाबुबालाई केवल कर्तव्यपालनका रूपमा होइन, श्रद्धाको दृष्टिकोणले हेर्नुपर्छ । उनीहरूको विचार सुन्ने, सल्लाह माग्ने, महत्त्वपूर्ण निर्णयहरूमा सहभागी गराउने, नियमित स्वास्थ्यपरीक्षण गराइदिने, घरभित्रको वातावारण उनीहरूका लागि उपयुक्त बनाउनेजस्ता व्यवहारले वृद्धहरूलाई जीवन्त बनाइराख्न मद्दत पुर्याउँछ । व्यस्त जीवनशैलीका बिच पनि केही समय छुट्याएर आमाबुबासँग संवाद गर्ने, तिनीहरूलाई बेवास्ता नगर्ने र आवश्यक सहयोग गर्न सधैँ तयार रहनाले वृद्धहरू आत्मगौरवसाथ जीवनयापनमा सहजता प्राप्त गर्दछन् ।अझ नेपाली समाजमा बाबुआमाका लागि सन्तान अहिलेका लागि मात्र होइन, परलोक सुधार्नसमेत सहयोगीसिद्ध हुने दृढ धारणा रहेको पाइन्छ । यसै विश्वासमा वृद्धाहरू अडिग रहेर सन्तानबाट अपेक्षा गरिरहेका हुन्छन् ।
३. नातिनातिनासँगको सम्बन्ध र व्यवहार
वृद्धवृद्धाहरूका लागि नातिनातिना खुसीका प्रमुख स्रोत हुन् । नेपाली उखान साँवाको भन्दा ब्याजको माया भनेझैँ नातिनातिनासित उनीहरू हुरुक्क हुन्छन् । उनीहरू नातिनातिनामा आफूलाई पुनः देख्छन् र आफ्नो जीवनको निरन्तरता महसुस गर्छन् । नातिनातिनासँग खेल्न, उनीहरूलाई कथा सुनाउन, उनीहरूको पढाइ वा संस्कारमा सहभागी हुन पाउनु वृद्धहरूको ठुलो चाहना हुन्छ ।
नातिनातिनाले वृद्धहरूप्रति आदरभाव राख्नुप र्छ। उनीहरूका कुरा ध्यानपूर्वक सुन्ने, फुर्सदमा सँगै बस्ने, मोबाइल वा यस्तै अन्य प्रविधिमा मात्र नभई जीवनको साँचो अनुभूति बुझ्ने वातावरण बनाउने प्रयास गर्नु आवश्यक छ । वृद्धहरूका स्वास्थ्य अवस्थालाई बुझेर सहजतापूर्वक कुरा गर्ने, सहानुभूति देखाउने, व्यवहारमा नम्रता अपनाउने, उनीहरूको अनुशासनलाई नकारात्मक रूपमा नलिनेजस्ता व्यवहार वृद्धहरूका लागि सन्तोषको गहिरा स्रोत बन्न सक्छन् । हाम्रो संस्कारमा नातिनातिनाको भूमिका र महत्त्व हजुरबाहजुरआमाका लागि अति नै गहकिलो मानिन्छ । उनीहरू नातिनातिनाबाट सौहार्दपूर्ण व्यवहारको अपेक्षा राख्छन् साथै त्यस्तो व्यवहार प्राप्ति उनीहरूका लागि अलौकिक उपलब्धि मानिन्छ ।
४. बुहारी तथा ज्वाइँको व्यवहार र जिम्मेवारी
परिवारका कुनै पुरुष सदस्यसित बिहे गरेर भित्रिएकी नारी बुहारी हुन् । उनी फरक संस्कार र वातावरणमा हुर्किएर नयाँ परिवारमा समायोजित हुन आएकी हुन्छिन् । उनको व्यवहार सुसंस्कृत भयो भने सासूससुरा तथा बुढा ससुरा तथा बुढी सासूका लागि पनि आनन्दित जीवन व्यतीत गर्नका लागि सहायकसिद्ध हुन्छ । वृद्धवृद्धाहरूका लागि बुहारी तथा ज्वाइँ पनि सन्तानसरहकै आश्रयदाता पात्र हुन् । विशेषतः घरको वातावरण बनाउने, हेरचाह गर्ने, मन बुझाउने जिम्मेवारीमा बुहारीको भूमिका अतुलनीय हुन्छ । बुहारीले सासू–ससुरासितको साहचर्यलाई द्वन्द्व नभई खुसी र हाँसोको सम्बन्धमा परिणत गर्न सक्छिन् । त्यसै गरी छोरी वा नातिनीका पति ज्वाइँ हुन् । उनी फरक परिवारका व्यक्ति भए पनि त्यस घरमा अटुट सम्बन्ध गाँसेर जोडिएका हुन्छन् । समय समयमा ससुरालीमा आउने, फोन आदि माध्यमबाट सम्पर्कमा रहिरहने, वृद्धजनका बारेमा सोधखोज गरिरहने, कहिलेकाहीँ विशेष पर्व (जस्तो मातातीर्थ औँसी, बाबुको मुख हेर्ने) मा आएर केही उपहार प्रदान गर्ने गर्नाले उनीहरूका मनमा मेरा/हाम्रा पनि मान्छे छन्, उनीहरूले विशेष ख्याल राख्छन् भन्ने आशावादी भावना जागृत हुन्छ, जसले तिनका जीवनलाई रसमय बनाउन सहयोग पुर्याउँछ ।
सकारात्मक व्यवहार, सम्मानजनक बोली, समय समयमा सेवा गर्ने भावना, ससाना कुरामा ध्यान दिने व्यवहार र धार्मिक वा पारिवारिक कार्यक्रममा उनीहरूलाई प्रमुखता दिने कामले वृद्धहरूमा अपनत्व र आत्मीयता बढाउँछ । ज्वाइँले सासूससुराको स्वास्थ्य र भावना बुझ्ने, तिनीहरूको सम्मान गर्ने र सन्तुलन कायम राख्ने व्यवहार गर्नुपर्छ । यी व्यवहारले परिवारमा सहकार्य, विश्वास र आपसी समर्पणको भाव पैदा गर्छ ।
५. छरछिमेकी र समाजको व्यवहार
वृद्धहरू घरभित्र मात्र होइन, समाजबाट पनि आत्मीय सम्बन्ध चाहन्छन् । छरछिमेकीले नमस्कार गर्ने, नियमित हालखबर लिने, साथ दिइरहने व्यवहारले वृद्धहरूमा सामाजिक सुरक्षा र सम्मानको अनुभूति गराउँछ । विशेष गरेर एक्लो जीवन बिताइरहेका वृद्धहरूका लागि छरछिमेकीको सहानुभूति अमूल्य हुन्छ ।
समाजले वृद्धहरूको सिप, अनुभव र ज्ञानलाई प्रयोगमा ल्याउनुपर्ने आवश्यकता महसुस गर्नुपर्दछ । समुदायस्तरमा वृद्धमैत्री कार्यक्रम सञ्चालन गर्ने, भेटघाट कार्यक्रम राख्ने, सामूहिक स्वास्थ्य परीक्षण, ध्यान र योग शिविरहरू, धार्मिक भ्रमण वा सामूहिक गीत तथा भजनका गतिविधिहरू वृद्धहरूको सामाजिक सहभागिता बढाउने उपाय हुन् । यस्ता व्यवहारले उनीहरूको जीवनमा पुनः आत्मगौरव र जीवन्तता ल्याउँछ ।
६. निष्कर्ष
वृद्धवृद्धाहरूको जीवनलाई अर्थपूर्ण, सम्मानजनक र सुखद बनाउन परिवार र समाजले मिलेर काम गर्नुपर्छ । नातिनातिना, छोराछोरी, बुहारी, ज्वाइँ, छरछिमेकी तथा सामाजिक संस्था सबैले वृद्धवृद्धासितको व्यवहारमा आत्मीयता, सम्मान, सहानुभूति देखाई उनीहरूलाई त्यस्ता कार्यक्रममा सक्रिय सहभागिता गराउन आवश्यक छ । वृद्धहरू जीवनको अन्तिम चरणमा प्रेम, आदर र साथको आकाङ्क्षी हुन्छन् । यदि हामीले तिनीहरूको चाहनाअनुसार व्यवहार गर्न सक्यौँ भने हाम्रो समाज साँच्चै मानवता र सद्भावले भरिएको हुनेछ ।
२०८२ भदौ ५
