विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत
भदौ १४, २०८२, शनिबार | राति १०:०१ बजे | 325
विनायकमा स्वागत तथा बधाई कार्यक्रम
मध्यपुर ठिमी, भक्तपुर शिक्षा ,सभ्यता र संस्कृतिको त्रिवेणीको रुपमा रहेको विनायक शिक्षा निकेतन इङ्लिस स्कुल मध्यपुर ठिमी ,भक्तपुरमा यही २०८१ भाद्र १४ गते स्वागत तथा बधाई कार्यक्रमको आयोजना गरियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशराम लाछीको सभापतित्वमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गरिएको र कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई बधाई ज्ञापन तथा विदाई गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि भक्तपुर क्षेत्र नम्बर २ का संघीय सांसद दुर्लभ थापा रहनुभएको थियो। विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले शब्दका माला पहिर्याई स्वागत गरिएको उक्त कार्यक्रममा अतिथिहरू मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष ज्ञानदास प्रजापति , मध्यपुर ठिमी नगरपालिकाका शिक्षा शाखा प्रमुख सुरेश अधिकारी, नगरपालिका प्रतिनिधि तथा विद्यालय व्यवस्थापन समितिकी सदस्य धना गिरी, व्यवस्थापन समितिका सदस्यहरू अतिथिको रूपमा रहनुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि लगायत सम्पूर्ण अतिथिहरूले विद्यालयले शिक्षा, संस्कृति र गुणस्तरीय शिक्षाका क्षेत्रमा दिएको अतुलनीय योगदानको चर्चा गर्नुभएको थियो। विद्यालयको दर्पण प्रस्तुत गर्दै विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले विद्यालय को ३७ वर्षे शैक्षिक इतिहासको चर्चा गरेर उत्कृष्ट र गुणस्तरीय एवं युगानुकूल शिक्षा प्रदान गर्न विद्यालय कटिबद्ध रहेको कुरा बताउनुभयो। विद्यालयका प्लस टु संयोजक तुलसीहरी प्रजापतिले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमको अन्त्यमा विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए। साथै सो कार्यक्रममा शैक्षिक सत्र २०८० /८१ र ०८१/८२ मा उत्कृष्ट हुन सफल दुईजना विद्यार्थीहरू क्रमश रिना श्रेष्ठ र बिना श्रेष्ठलाई नगद पुरस्कारसहित तुइकाजी तुइल माया शिक्षा पुरस्कार प्रदान गरिएको थियो।
