राजा नरेन्द्र मल्ल र तिलमाधव नारायणको कथा
भदौ ८, २०८२, आइतबार | राति ०९:०० बजे | 330
महाराज नरेश मल्ललाई नरेन्द्र मल्ल भनेर पनि चिनिन्छ । यी मल्लराजाको चर्चन विभिन्न विषयसंग जोडेर ख्वप नगरका बासिन्दाहरु सम्झने गर्दछन्। नेपाल सम्वत ७५३ देखि ने स ७६३ सम्म गरी जम्मा दस वर्ष मात्रै ख्वपको राजगद्दीमा बसेका नरेन्द्र मल्ल, काठमाडौंमा खंखार राजकुमार सदाशिव मल्ललाई द्वाफा स्वं चोकमा कैद गर्ने, आफ्नो दरबारको चोक बनाउदा झ्याल, ढोका र बरन्डामा आदिमा भविष्यमा हुने भनेर चित्रका चित्रहरुका कारण र फेरि एकपल्ट किराँतीहरूलाई पराजित गर्ने युध्दका कारण पनि उनलाई अहिले पनि सम्झने गरिन्छ।
भक्तपुरको दरबार क्षेत्र भित्र रहेको चोकमा अबस्थित त्यो "भ्यागुतोले हात्तीलाई खाइरहेको चित्र" अहिले पनि जोकोहीलाई चाहे सर्वसाधारण होस् वा चाहे कलाकारहरू किन नहोस् अहिले पनि अचम्म मानेर हेर्ने र सोच्ने गर्छन्। मल्लहरूले किराँतीहरूलाई हराएको सबैले पढेको र थाहा भएको विषय हो। तर यही नरेन्द्र मल्लको पालामा अघि भागी सकेका किराँतीहरू फेरि भादगाउँमा लडाइँ गर्न आउने भए। ख्वपबासीहरू सबै आतंकित भए। भक्तपुरका हरेक चोक चोकमा गोप्य बैठकहरू हुन थाले। युवाहरू फेरि शास्त्र बिद्या सिक्न थाले। किसानहरू छिटो छिटो नगरबाहिरका खेत खलियानबाट सूर्य नडुब्दै नगर छिर्ने ठुल्ठुला ध्वाकाहरूबाट घर फर्कन थाले।महिलाहरू महिना दिनलाई पुग्ने गरि अन्नपातको जोहो गर्न लागे। सेनापति भिमदत्त मल्लले नियमित रूपमा ख्वप प्रबेश गर्ने सम्पूर्ण प्रबेश द्वार ध्वाखाहरू, गुप्त द्वारहरू तथा ख्वप घेरिएको पर्खालहरू निरिक्षण गर्न तथा आबश्यक परे मर्मत गर्न कडा आदेश दिए।
ख्वप दें छिर्ने हरेक मान्छेको एकिन लगत राख्न नरेन्द्र मल्लले राजआदेश जारी गरे। महाराज नरेन्द्र मल्लको अध्यक्षतामा, राजपुरोहित, राजजोतिषी, सेनापति भिमदत्त, अन्य मन्त्री गण तथा ख्वप देंका गन्यमान्यहरूको बैठक बस्यो। अबको युध्द वर्तमानको लागि मात्रै नभइ भविष्यको लागि पनि उत्तिकै महत्त्वपूर्ण भएकोले साम,दाम, दण्ड,भेड तथा सम्पूर्ण बल र बुध्दि लगाएर प्रतिकार गर्ने तथा प्रजा र राजा संयुक्तरुपमा युध्दमा सहभागी हुने निर्णय गरियो । यस्तैमा राजज्योतिषी धरणीधरले महाराज नरेन्द्र मल्ललाई प्रचीन श्री तिलमाधब नारायणको भक्तीपूर्बक यज्ञ गरे युध्दमा विजय प्राप्त हुने सुझाब दिए। त्यसपछि राजा र प्रजा सबैमिलि भक्तिपूर्वक ठूलो यज्ञ गरे। बाजा गाजा सहित सम्पूर्ण नगर परिक्रमा गरि टौमढीको दक्षिणतर्फ रहेको चोक भित्रको तिलमाधब नारायणको आफ्नो क्षमता अनुसार पूजा गरे र श्रध्दा प्रकट गरे। वशंवली अनुसार राजाको भक्तिभावदेखि प्रसन्न भएर सन्तोष भई राजा र प्रजा सहित ख्वप देंलाई शत्रुबाट बचाउन उक्त तिल नारायणको शिलाबो बाहु फुती असंख्य भमराहरू निस्केका थिए। ती भमराहरूको टोकाइबाट बीस लागेर धेरै किराँतीहरू मरे र बाँकी भएका किराँतीहरू ज्यान बचाउने भागेर गएका थिए। किराँतीहरूले छोडेर गएका लडाइँका सामानहरू भाला,धनुष, फलामे टोपी र भोटे लुगाहरू टौमढी टोलको श्री तिलमाधव नारायणको सत्तलमा राखियो, जुन अझै पनि केही बाँकी छन्। यी नै प्रख्यात तिलमाधव नारायणको उत्पतिबारे पुरानो कथा पनि रहेको छ। -
धेरै पहिला न्यातापोल मन्दिर बन्नुभन्दा पनि करिब ५०० वर्ष अघि कान्तिपुरका एक प्रख्यात धर्मदत्त नामका ब्यापारी थिए। त्यसबखत उसँग पसल थापी व्यापार गर्ने धन सम्पत्ति नहुँदा डुल्दै घुम्दै दु:खकस्त उठाई आफ्नो जीविका चलाउँदथ्यो। यी व्यापारी धर्मदत्त विष्णुभक्त थिए, बोली वचन मीठो र ठूलो इमानदार र सन्तोषी थिए। एक दिन तिल बिक्री गर्न आधा भारी तिल धोक्रोमा बोकेर गाउँ गाउँ घुम्दै थिए। उसले सबै तिल बिक्री गर्न सकेनन। ३/४ दिन घुम्दा पनि बिक्री नभए पछि निराश भएर पाटीमा बसेका थिए। कसैले ख्वप नगरमा गई बिक्री गर्न सुझाब दिए । त्यो मकर संक्रान्तिको अघिल्लो दिन थियो। भोलि पल्ट सखारै धर्मदत्त हनुमन्ते खोलाको दोभानमा स्नान गरि भादगाउँ शहर छिरे। उसले सातवटा छुट्टाछुट्टै बाटोबाट प्रबेश गर्न मिल्ने ठूलो चोक (हालको टौमढी टोल) मा गएर आफ्नो सबै तिल भुइँमा खन्यायो। तिल ज्यादै सस्तो भएकोले धेरै नगरबासी जम्मा भए। व्यापारी धर्मदत्तको मिठो बोली बचनले झन् सबैलाई आकर्षित ग-यो। तेल बनाउने साना व्यापारी, दैनिक रुपमा खुद्रा व्यापार गर्ने व्यापारी तथा अरू नगरबासीहरूले समेत तिल लिन तछादमछाद गरे। तिल बेच्दा बेच्दै आखिर थुप्रै अशर्फी जम्मा भए तर खन्याएको तिल अलिकति पनि घटेन।बरू झन् झन् तिल बढ्दै गयो। व्यापारी स्वयम् आश्चर्य मानी यो के भएको भनी विष्णु भगवान् लाई स्मरण गर्दै आराधना मनमनै गर्न थाले। उसले तेही पल तिलको थुप्रैबाट चारबाहुधारी शंख,चक्र,गदा र पद्म धारी विष्णु प्रकटभएको देखे। त्यसपछि धर्मदत्तले आफुले व्यापारबाट कमाएको पैसा अशर्फीले तेही स्थानमा भगवान् नारायणक मुर्ति स्थापना गरे। तिलको थुप्रोबाट प्रादूर्भाव भएकोले श्री तिलमाधव नारायण नामाकरण गरे। धेरै पछि सिध्दि वर्मा नामका राजाले देवल बनाई नित्य कर्म गर्न गुठी स्थापना गरेका थिए। त्यस्तै ने सं २८३ जेष्ठमा आनन्द मल्लले नारायण मन्दिर अगाडि ठूलो ढुंगाको खम्पा (स्तम्भ) माथि बसेको गरुड चढाएका थिए। त्यस्तै नरेन्द्र मल्लले ठूलो यज्ञ गरेको स्थानलाई ढुंगाले छोपेर राखेको आजसम्म पनि देख्न सकिन्छ। आजको समयमा पनि देशमा ठूलो संकट वा उपद्रोव हुने वा अशुभ हुने भय भयो भने त्यस तिलमाधव नारायणको विधिपूर्वक पूजा वा यज्ञ ग-यो भने संकट मोचन हुन्छ भने जनविश्वास रहेको छ।
